• १३ साउन २०८१, आइतबार

लक्ष्मीनारायण मठका महन्थ पक्राउ

कीर्ते गरी बैंकबाट ६६ लाख रूपियाँ निकासा

blog

तस्विर – मटिहानी मठको ।

नगेन्द्रकुमार कर्ण

महोत्तरी, पुस ३ गते । महोत्तरी जिल्लाको मटिहानीमा रहेको प्रसिद्ध लक्ष्मीनारायण मठका महन्थलाई प्रहरीले कीर्ते गरेको आरोपमा पक्राउ गरेका छन् । नेपालको सबैभन्दा ठूलो मठको रुपमा चिनिएको लक्ष्मीनारायण मठका महन्थ जगन्नाथदास शास्त्रीलाई महोत्तरी प्रहरीको सहयोगमा रुपन्देही प्रहरीले पक्राउ गरेको जनाइएको छ । 

रुपन्देहीमा रहेको मठको जग्गालाई विक्री गरी उहाँले जिल्ला प्रशासन कार्यालयको कीर्ते चिठ्ठी तथा जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारीको हस्ताक्षर कीर्ते गरी रुपन्देहीको बैंकबाट ६६ लाखभन्दा बढी रकम झिकेको आरोप लगाउँदै पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ । आइतबार बिहानै महन्थ दासलाई मठबाटै पक्राउ गरिएको छ । 

मटिहानी नगरपालिकाका नगरप्रमुख हरिप्रसाद मण्डलले आफूलाई पनि महन्थ दासलाई कीर्ते अभियोगमा पक्राउ गरेको जानकारी प्राप्त भएको बताउनुहुँदै थप अनुसन्धानका लागि उहाँलाई रुपन्देही लगिएको जानकारी दिनुभयो । प्रादेशिक अस्पताल जलेश्वरमा मेडिकलपश्चात् थप अनुसन्धानका लागि रुपन्देही लगिएको हो । 

रुपन्देहीमा रहेको मठको जग्गा विक्री वितरण तथा बैंकबाट कीर्ते हस्ताक्षर गरी रकम निकालेको अभियोग महन्थमाथि लगाइएको उहाँले जानकारी दिनुभयो । 

त्रेताकालीन इतिहास बोकेको मटिहानीमा रहेको मठका महन्थलाई महन्थहरुको पनि महन्थ अर्थात् मानमहन्थको रुपमा चिनिने गरिन्छ । परम्परादेखि नै नेपालमा मानमहन्थको उपाधि लक्ष्मीनारायण मठका मठाधीशलाई दिने चलन छ ।

वि.सं.२०७६ सालमा रुपन्देहीको भैरहवास्थित ३ कठ्ठाभन्दा बढी जग्गा विक्री वितरण तथा दुरुपयोग गरेको आरोपमा महन्थ पदबाट दासलाई गुठी संस्थानले निलम्बन गरेको थियो ।

महन्थको नाममा रहेको जग्गा बेच्न नपाउने कानुनी प्रावधान रहे पनि रुपन्देहीको सिद्धार्थनगर नगरपालिका गल्लामन्डीस्थित रामजानकी मन्दिरले भोगचलन गर्दै आएको कित्ता नम्बर १६५ को ३ कट्ठा ५ धुर जग्गा महन्थ दासले बेचेको आरोप छ । सिद्धार्थनगरको रामजानकी मन्दिर, लक्ष्मीनारायण मठ मटिहानीको शाखा हो ।