• १६ भदौ २०८१, आइतबार

‘गाउँ–गाउँमा सिंहदरबार’को नारा कार्यान्वयन हुँदै

blog

‘गाउँ–गाउँमा सिंहदरबार’को नारा कार्यान्वयनहुँदै ।

राजकुमार भट्टराई

खोटाङ, पुस ३ गते । खोटाङका दुई स्थानीय तहले वडामै पुगेर योजना तथा कार्यक्रम सम्झौता गरेका छन् । पालिकासम्म आउँदा नागरिकलाई सास्ती भएको भन्दै वडामै पुगेर दिप्रुङ चुईचुम्मा र खोटेहाङ गाउँपालिकाले योजना तथा कार्यक्रम सम्झौता गरेका हुन् ।     

चालु आर्थिक वर्ष २०७९÷०८० का लागि विनियोजन भएका योजना तथा कार्यक्रम सञ्चालनका लागि दिप्रुङ चुईचुम्मा गाउँपालिकाले मङ्सिर २६ गतेबाट वडामा पुगेर सम्झौता गर्न सुरु गरेको थियो ।  पुस २ गतेसम्ममा पालिकाभित्रका ७ वटै वडामा योजना सम्झौता सम्पन्न भएको पालिका अध्यक्ष लोकेन्द्र राईले जानकारी दिनुभयो । 

‘पहिले गाउँ विकास समिति हुँदा गाविसको कार्यालयमा सम्झौता हुन्थ्यो, स्थानीय तह आएपछि पालिकामा पुग्नुपर्दा नागरिकलाई सास्ती भयो । त्यसैले ‘गाउँ–गाउँमा सिंहदरबार’ भन्ने नाराको अनुभूति दिलाउन हामीले वडामै योजना तथा कार्यक्रम सम्झौता गरेका हौँ ।’ अध्यक्ष राईले भन्नुभयो । योजना सम्झौतासँगै वडामै उपभोक्ता समितिलाई प्रशिक्षण पनि दिएको गाउँपालिकाले योजना सम्पन्नपश्चात् फरफारक पनि वडामै गर्ने तयारी गरिएको अध्यक्ष राईले बताउनुभयो । 

यस्तै, ९ वटा वडा रहेको खोटेहाङ गाउँपालिकाले पनि सबै वडामा पुगेर योजना तथा कार्यक्रम सम्झौता गर्न सुरु गरेको छ । हालसम्म ३ वडामा पुगेर सम्झौता गरिसकिएको पालिका अध्यक्ष उदिम राईले बताउनुभयो । 

‘हाम्रो गाउँपालिका भौगोलिकरुपमा विकट भएकाले पालिका केन्द्रसम्म सबै नागरिकलाई आउन समयसँगै रकमको पनि खर्च धेरै हुन्छ । त्यसैले नागरिकको सास्तीलाई मध्यनजर गर्दै वडामै पुगेर योजना सम्झौता, उपभोक्ता समितिलाई प्रशिक्षण लगायतका कार्यक्रमहरु गरिरहेका छौँ ।  अध्यक्ष राईले भन्नुभयो ।