विष्णुप्रसाद पोखरेल
दमक, पुस ३ गते । पाठेघरको मुखको क्यान्सर र स्तन क्यान्सरको सुरुवाती उपचार दमकका दुई अस्पतालमा निःशुल्क हुने भएको छ । दमक नगरपालिकाको पहलमा दमकस्थित सामुदायिक आम्दा अस्पताल र सरकारी दमक अस्पतालमा यसको उपचार निशुल्क हुने भएको हो ।
दमक नगरपालिका उपप्रमुख रेगिना भट्टराईका अनुसार नगरपालिकाले यी दुई अस्पताललाई निःशुल्क रुपमा क्रायोथेरापीका लागि प्रयोग गरिने मोबायल थर्मोकोबिलेटर मेसिन उपलब्ध गराएको हो । केही समयअघि स्वास्थ्य मन्त्रालय अन्तर्गतको स्वास्थ्य व्यवस्थापन महाशाखाले यो नगरपालिकालाई उपलब्ध गराएको थियो ।
विषेशज्ञका अनुसार प्रारम्भिक चरणको क्यान्सर पत्ता लागिसकेपछि लिक्विड नाइट्रोजन, कार्बन डाइअक्साइड स्नो वा डाइमेथिलेथर प्रोपेन जस्ता ग्यासको प्रयोगद्वारा माइनस एक सय १० सेल्सियससम्म चिसो बनाइन्छ । बिरामीलाई त्यसमा बढीमा तीन मिनेट राखिन्छ । जसले गर्दा छालाको माथिल्लो सतह केही समयका लागि जम्न सक्छ ।
रक्तबाहिनी फुलेर धेरै अक्सिजन लिन थाल्छ । संवेदनशील कोशिका स्पाइनल कर्डलाई संवेदनशील बनाउन थाल्छ । जसले गर्दा जोर्नी, मांसपेशी तथा स्नायु तन्त्रका रिसेप्टर्समा बदलाव हुन थाल्छ । यसले मस्तिष्क ज्यादा क्रियाशील भएर शरीरलाई चिसो हुनबाट बचाउन ऊर्जा दिने वा दुःखाइ कम गर्ने रसायन एंडोफिर्न निर्माण गर्न थाल्छ, जसले गर्दा शरीरमा रक्तप्रवाह बढेर तनाव तथा दुःखाइमा कमी आउन थाल्छ ।
यसले क्यान्सर बढाउने टिस्युलाई नै नष्ट गरिदिन्छ । जसले गर्दा यो क्यान्सर फैलिने सम्भावना न्युन हुने गर्छ । यो उपचार पद्धति शल्यक्रिया भन्दा कम पीडादायक हुन्छ । भिज्युअल इन्सपेक्सन विथ एसिटिक एसिड (भी.आई.ए) विधिबाट पाठेघरको क्यान्सर पत्ता लगाउन सकिन्छ ।
भी.आई. ए. पाठेघरको मुखको क्यान्सर निरीक्षण गर्ने विधि हो । यो क्यान्सर रोग पत्ता लगाउने प्रभावकारी विधि हो । यसबाट कम खर्च, कम समय तथा सजिलो तरिकाद्वारा तरल पदार्थको प्रयोगले पाठेघरको मुखको क्यान्सर निरीक्षण गर्न सकिन्छ । यसलाई प्याप स्मेयर विधिको वैकल्पिक विधिका रूपमा लिइन्छ ।
दमक नगरपालिकाका जनस्वास्थ्य निरीक्षक बद्री बरालका अनुसार स्वास्थ्य केन्द्र तथा अस्पतालहरुमा पाठेघरको क्यान्सर सहजै रुपमा पत्ता लगाउन सकिने भएकाले क्यान्सरको लक्षण देखापरेकाहरुलाई भिआइए परीक्षणपछि क्रायोथेरापी गर्न सकिन्छ । उहाँका अनुसार क्रायोथेरापी गरेपछि पाठेघरको मुखको क्यान्सबाट बच्न सकिन्छ ।
सरकारी दमक अस्पताल