• १० मंसिर २०८१, सोमबार

प्रदेशमा अनुसन्धान केन्द्र

blog

विज्ञानप्रविधिको विकास कुनै पनि मुलुकको समृद्धि निर्माणको आधार हो। विज्ञानप्रविधिको व्यापक प्रयोगबिना नवप्रवर्तन सम्भव छैन। पूर्वाधार विकासदेखि लगानी प्रवद्र्धनसम्म विज्ञानप्रविधिको ठूलो भूमिका रहन्छ। देशको समृद्धिका निम्ति विज्ञानप्रविधिसम्बद्ध अध्ययन, अनुसन्धान र विकासका लागि विशिष्टीकृत अनुसन्धान केन्द्र स्थापना निकै महत्वपूर्ण हुन्छन्। यसै तथ्यलाई हृदयङ्गम गर्दै मुलुकका सबै क्षेत्रमा विज्ञानप्रविधि विकासको उद्देश्यले विशिष्टीकृत अनुसन्धान केन्द्र स्थापना गर्ने विषय वास्तवमै खुसीको कुरा हो। अझ भनौँ, विज्ञानप्रविधिको क्षेत्रमा महत्वपूर्ण कदमसमेत हो। 

सात वर्षअघिको संविधानले नेपाल सङ्घीय लोकतान्त्रिक प्रणालीमा गएको छ। सङ्घीय संरचनागत हिसाबले मुलुक सात प्रदेशमा रहेर नेपाली जनताको विकासको आकाङ्क्षालाई सम्बोधन गरिरहेको छ। यस प्रसङ्गमा नयाँ खुसी प्राप्त भएको छ। देशका सातै प्रदेशमा अनुसन्धान केन्द्र स्थापना हुने भएका छन्। यस कदमबाट वैज्ञानिक अनुसन्धान प्रदेशस्तरसम्म पुग्ने भएको छ। यस अतिरिक्त मुलुकका सबै सातै प्रदेशमा समानुपातिक रूपमा वैज्ञानिक नवप्रवर्तन कार्यले स्थान पाउने भएको छ। प्रदेशमा विशिष्टीकृत अनुसन्धान केन्द्र स्थापना कार्य नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट)बाट शुभारम्भ भइसकेको छ। यसअन्तर्गत चितवनको रामपुरस्थित कृषि तथा वन विश्वविद्यालय परिसरमा गत साउन १६ गते सहरी विकास र वातावरण विशिष्टीकृत अनुसन्धान केन्द्र स्थापना भइसकेको छ। यसैगरी मङ्सिर १६ गते गण्डकी प्रदेशमा पर्वतीय अर्थतन्त्र विशिष्टीकृत अनुसन्धान केन्द्र स्थापित गरिसकेको अवस्था छ। 

प्रत्येक प्रदेशमा एक/एकवटा विशिष्टीकृत अनुसन्धान केन्द्र स्थापना गर्ने क्रममा प्रदेश १ मा खाद्य र कृषि, मधेश प्रदेशमा चुरे संरक्षण र विकास, लुम्बिनी प्रदेशमा परम्परागत प्रविधि, कर्णाली प्रदेशमा सूचना र सञ्चार, सुदूरपश्चिम प्रदेशमा जडीबुटीसम्बन्धी अध्ययन अनुसन्धान केन्द्र स्थापनाका निम्ति कार्य अगाडि बढेको छ। अनुसन्धान केन्द्रको संरचनागत विकासको यो चरणले नयाँ उत्साह थपेको छ। प्रदेशगत हिसाबमा प्रदेशको सम्भावना तथा विज्ञतालाई आधार मानेर यस प्रकारका विशिष्टीकृत अनुसन्धान केन्द्र स्थापना हुनुले निश्चित रूपमा नयाँ कार्य हुनेछ। स्थानीय विज्ञता एवं सम्भावनाका पक्षलाई अझै विस्तार गरेर नवप्रवर्तनको क्षेत्रमा अवसर सिर्जना भएका छन्। विशिष्टीकृत अनुसन्धान केन्द्रद्वारा स्थापना भएको प्रदेशको निश्चित विषयवस्तुमा विशेष प्रकारको अध्ययन, अनुसन्धान तथा विकास कार्य गर्ने गरी उद्देश्य निर्धारण गरिनेछ। सो अध्ययन अनुसन्धानको क्षेत्रले निश्चित रूपमा विविधीकरण हुनेछ। यसबाट समाजको उर्लंदो चाहना र आवश्यकता परिपूर्तिका निम्ति धेरै काम गर्न सक्ने आयाम खोल्न सक्नेछ। यस्ता केन्द्रको विशेष ध्यान तोकिएको क्षेत्रमा मात्र हुने भएकाले पनि आफ्नो क्षेत्रमा उत्कृष्ट अध्ययन अनुसन्धान गर्नेतर्फ अग्रसर हुनेमा आशावादी हुन सकिन्छ। एक प्रकारले भन्नुपर्दा भविष्यमा यी केन्द्र आफ्ना क्षेत्रमा उत्कृष्ट अनुसन्धान केन्द्र बन्न सक्नेछन्।  

मुलुकको राजधानी काठमाडाँै र उपत्यकामा मात्र धेरै संरचनागत विकास भएको छ। विगत लामो समयको केन्द्रीकृत शासन प्रणालीले त्यसो हुन गएको हो। अब सङ्घीय संरचनासँगै विधागत रूपमा समेत संस्थाको विस्तार जरुरी छ। अनुसन्धान केन्द्रको विस्तार यस प्रसङ्गमा अब्बल कार्य हो। संरचनागत विकाससँगै ती अनुसन्धान केन्द्रले अब्बल कार्य गर्नुपर्छ। स्थापनाको औचित्य पुष्टि गर्नुपर्नेछ। त्यसनिम्ति प्रदेश सरकारको सहयोगसमेत आवश्यक छ। स्थानीय शैक्षिक संस्था, स्थानीय सरकार र वैज्ञानिक संस्थासँग ती केन्द्रको सहकार्य तथा समन्वय भए अझ प्रभावकारी हुन्छ। प्रदेशस्तरमै केन्द्रको अनुगमन तथा दिशानिर्देश गर्न व्यवस्थापन समिति बनाइने भएकाले अध्ययन अनुसन्धान क्षेत्रमा नयाँ आयाम थपिएको विश्वास गर्न सकिन्छ। 

हाम्रो मुलुकमा उत्कृष्ट नीति, नियम तथा कार्यक्रम तर्जुमा हुने तर तिनीहरूका कार्यान्वयन निकै फितलो हुने कतिपय तीता अनुभवसमेत छन्। स्थापनाकालमा उत्साह भए पनि बिस्तारै उद्देश्यतर्फ अग्रसरतामा भने उदासीन हुने प्रवृत्तिसमेत देखिन्छ। विज्ञानप्रविधिसम्बन्धी विशिष्टीकृत अनुसन्धान केन्द्रले त्यस्ता तीता अनुभव दोहो¥याउनु नपरोस् भन्न सम्बद्ध सबै संवेदनशील हुनुपर्छ। त्यस क्रममा अनुसन्धान केन्द्रको विकास र कार्य प्रभावकारितामा तीन तहकै सरकारको सहयोग अपेक्षित छ।