• १२ मंसिर २०८१, बुधबार

बजेटबारे जानकारी गराउन परिपत्र

blog

काठमाडौँ, पुस ३ गते  । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले आठवटा स्थानीय तहलाई चालू आर्थिक वर्षको नीति कार्यक्रम र बजेट सभाबाट पास गरी सोको जानकारी गराउन परिपत्र गरेको छ । 

असार १० गतेभित्र सभामा बजेट पेस गरी असार मसान्तभित्र सभाबाट बजेट पारित गर्नुपर्ने कानुनी व्यवस्था भए पनि ती स्थानीय तहले अहिलेसम्म पनि सभाबाट बजेट पास नगरेपछि मन्त्रालयले बिहीबार परिपत्र गरेको हो । 

आव २०७९/८० को बजेट सभाबाट पारित गरी सोको विवरण मन्त्रालयलाई पठाउनुपर्ने भए पनि अहिलेसम्म मन्त्रालयलाई जानकारी नआएकाले मन्त्रालयले सचिवस्तरीय निर्णय गरी उक्त पालिकालाई परिपत्र गरेको हो । 

मन्त्रालयले सिरहाको औरही गाउँपालिका र कर्जन्हा नगरपालिका, धनुषाको नगराइन र कमला नगरपालिका, सर्लाहीको विष्णु गाउँपालिका र बौधीमाई नगरपालिका, रौतहटको यमुनामाई र बाँकेको डडुवा गाउँपालिकालाई परिपत्र गरी अविलम्ब मन्त्रालयलाई जानकारी गराउन आग्रह गरेको हो । 

गाउँ/नगर सभा र बजेटबारे जानकारी नगराएको आधारमा मन्त्रालयले आठ स्थानीय तहलाई सो परिपत्र गरेको हो तर तीमध्ये तीनवटा सिरहाका औरही गाउँपालिका र कर्जन्हा नगरपालिका तथा रौतहटको यमुनामाई गाउँपालिकाले बजेट पारित गरिसकेको जनाएका छन् । ती स्थानीय तहले सभा गरिसके पनि यसको विवरण मन्त्रालयमा पठाइनसकेको जनाएका छन् ।

चालू आर्थिक वर्षको नीति कार्यक्रम र बजेट पास नहुँदा सरकारले स्थानीय तहमार्फत नागरिकलाई प्रदान गरिने सामाजिक सुरक्षा कार्यक्रम, शिक्षा, स्वास्थ्य र सुशासनलगायतका कार्य प्रभावित भएको गुनासो मन्त्रालयलाई आइरहेको छ । साथै मन्त्रालयलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगलगायतका अख्तियारवाला निकायले पटकपटक सोध्दैआएको मन्त्रालयले जारी गरेको सूचनामा उल्लेख गरिएको छ ।