• १३ साउन २०८१, आइतबार

पटुकीका पैसाले वृद्धाको लियो ज्यान

blog

काठमाडौँ, पुस ३ गते । काठमाडौँको तारकेश्वर नगरपालिका–६, पुसलकी ९० वर्षीया डिल्ली पुतुवारको हत्या गरेको आरोपमा प्रहरीले एक जना पुरुषलाई पक्राउ गरेको छ । तारकेश्वर–६ का ३९ वर्षीय नरेन्द्र शिवभक्ति पक्राउ परेका हुन् । उनलाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको टोलीले पक्राउ गरेको हो । गत मङ्सिर २० गते वृद्ध महिला हराएपछि परिवारका सदस्यले प्रहरी वृत्त बालाजुमा निवेदन दिएपछि खोजी भइरहेको थियो । एक छोरा र चार छोरीकी आमा एक्लै बस्दै आउनुभएको थियो ।

महिलाको शव प्रहरीले मङ्सिर २२ गते तारकेश्वर नगरपालिका–३, पारिवन पाखा सामुदायिक वनको खोल्सामा फेला पारेको थियो । घरबाट अन्दाजी पाँच सय मिटर टाढा रहेको जङ्गलमा फेला परेको शवको टाउको, मुखमा चोट देखिएपछि प्रहरीले हत्याको आशङ्कामा अनुसन्धान अघि बढाएको थियो । 

महाराजगञ्जस्थित टिचिङ अस्पतालमा गरिएको शवको पोस्टमार्टमबाट समेत टाउकोमा प्रहार गरी हत्या भएको खुलेको थियो । घटनास्थलमा घिसारिएको ठाउँसमेत फेला परेपछि प्रहरीले हत्या भएको भन्दै अनुसन्धान गरेको थियो । 

अपराध अनुसन्धान कार्यालयका प्रवक्ता कृष्ण कोइरालाका अनुसार महिलाको हत्या गरेपछि नरेन्द्र शिवभक्ति, उनकी श्रीमती र छोरासहित ससुराली घर स्याङ्जा पुगेका थिए । काठमाडौँ फर्केलगत्तै प्रहरीले शिवभक्तलाई बिहीबार पक्राउ गरेको थियो । प्रवक्ता कोइरालाले आरोपीले हत्या गरेको स्वीकारी बयानसमेत दिएको जानकारी दिनुभयो । प्रहरीसँगको बयानमा शिवभक्तले मृतक वृद्धाले चिसापानी चप्पल कारखानामा राहत लिन जान आफूसँग सहयोग मागेको र बाटोमा जाँदै गर्दा लुटपाट गर्ने उद्देश्यले हत्या गरेको स्वीकार गरेका छन्  ।

मृतक वृद्धा आँखासमेत देख्न नसक्ने र साथमा एक लाख रुपियाँभन्दा बढी बोकेर हिँडने गरेको जानकारी पाएपछि उनले हत्या गर्ने योजना बनाएको बयानका क्रममा बताएका छन् ।

वृद्धा महिलालाई जङ्गलमा पुगेपछि शिवभक्तले ढुङ्गाले टाउको र घाँटीमा प्रहार गरी हत्या गरेका थिए । हत्यापछि शवलाई खोलामा फ्याँकेर वृद्धाको पटुकीमा भएको अन्दाजी ४५–५० हजार रुपियाँ लिएर शिवभक्त घर आई परिवारसहित ससुराली पुगेका थिए । मृतकका परिवारले हत्यापछि एक डेढ लाख रुपियाँ लुटेको दाबी गरेको प्रहरीले जनाएको छ ।