गोरखापत्र अनलाइन
काठमाडौं, पुस २ गते । नेपाली कांग्रेसका महामन्त्री एवम् झापा निर्वाचन क्षेत्र नम्बर १ बाट नवनिर्वाचित सांसद विश्वप्रकाश शर्माले आफूलाई अहिले नै मन्त्री बन्ने चाहना नरहेको बताउनुभएको छ । शनिवार काठमाडौंमा आयोजित कार्यक्रममा उहाँले सो कुरा बताउनुभएको हो । चुनाव जित्नेहरु मन्त्री बन्ने आकांक्षा राखे पनि आफू त्यो दौडमा नरहेको उहाँले प्रष्ट पार्नुभयो ।
पार्टीमा रहेर गर्नुपर्ने कामहरु धेरै रहेकाले मन्त्री बन्न अरुलाई सहयोग गर्ने उहाँले बताउनुभयो । महामन्त्री शर्माले सरकारमा मन्त्री बन्नेभन्दा पनि दूरदराजमा रहेका आम नागरिकको भावनाअनुसार काम गर्ने बताउनुभयो ।
कुनैबेला एक्लै दुई तिहाई ल्याएको काँग्रेस अहिले मिलेर चुनाव लड्दासमेत ५७ सिटमा सीमित भएको भन्दै चुनाव जित्ने बित्तिकै मन्त्री बन्न खुट्टा उचालिहाल्ने बेला नभएको उहाँको भनाइ छ । आफूले अहिले जिम्मेवार भएर मन्त्रीहरुको आकंक्षा राख्ने नेताहरु उपयुक्त छनोट गर्ने कुरामा ध्यान दिने बताउनुभयो ।