• ११ मंसिर २०८१, मङ्गलबार

सुदूरपश्चिम प्रदेश सभा सदस्यको मतपरिणामको प्रतिवेदन प्रदेश प्रमुखलाई बुझाइयो

blog

सुदूरपश्चिम प्रदेशका प्रमुख देवराज जोशीलाई प्रदेश सभा सदस्य निर्वाचन परिणामसहितको प्रतिवेदन पेश गर्दै निर्वाचन आयोग नेपालका आयुक्त डा. जानकीकुमारी तुलाधर। तस्बिर : प्रकाशविक्रम शाह

प्रकाशविक्रम शाह

धनगढी, पुस २ गते । निर्वाचन आयोग नेपालले सुदूरपश्चिम प्रदेशका प्रमुख देवराज जोशीलाई प्रदेश सभा सदस्य निर्वाचन परिणामसहितको प्रतिवेदन पेस गरेको छ। आयोगका आयुक्त डा. जानकीकुमारी तुलाधरले शनिबार दिउँसो प्रदेश प्रमुखको कार्यालयमा गएर सो प्रतिवेदन बुझाउनुभएको हो। 

डा. तुलाधरले शनिबार सातै प्रदेशमा प्रतिवेदन बुझाउने कार्यक्रम अनुसार सुदूरपश्चिम प्रदेशमा समेत प्रतिवेदन बुझाइएको बताउनुभयो। सो अवसरमा सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्ट लगायतको उपस्थिति थियो। 

प्रतिवेदन बुझाएपछि आयोजित पत्रकार सम्मेलनमा बोल्दै आयुक्त तुलाधरले ५२ सदस्यीय सुदूरपश्चिम प्रदेश सभामा ३५ पुरुष र १८ महिला निर्वाचित भएको बताउनुभयो। प्रदेश सभामा प्रतिशतका हिसाबले पुरुष ६६.३ र महिला ३३. ९७ रहेको उहाँले बताउनुभयो। २०७४ को प्रदेश सभामा १७ जना महिलाको प्रतिनिधित्व भएकोमा यसपटक एक जना बढेर १८ जना पुगेको छ। 

सुदूरपश्चिम प्रदेशमा समानुपातिकतर्फ नेकपा (एमाले) र नेपाली कांग्रेसले समान ७/७ सिट, नेकपा (माओवादी केन्द्र) ले तीन, नागरिक उन्मुक्ति पार्टीले दुई, नेकपा (एकीकृत समाजवादी) र राप्रपाले १/१ सिट पाएका छन्। 

समानुपातिकमा नेकपा (एमाले) ले ३२.२३, नेपाली कांग्रेस ३१.३६,  नेकपा (माओवादी केन्द्र) ले १४.२५, नागरिक उन्मुक्ति पार्टीले ११.५६, नेकपा (एकीकृत समाजवादी) ५.१५ र राप्रपाले ५.१९ प्रतिशत मत पाएको सो प्रेस सामग्रीमा उल्लेख छ। 

समानुपातिक सिटको बाँडफाँडसँगै प्रदेश सभामा नेपाली कांग्रेस १९,  नेकपा (माओवादी केन्द्र) ले ११, नेकपा (एमाले ) १०, नागरिक उन्मुक्ति पार्टीले सात, नेकपा (एकीकृत समाजवादी) चार, राप्रपा र स्वतन्त्रको १/१ जना प्रदेश सभा सदस्यको प्रतिनिधित्व भएको छ। 

आयुक्त डा. तुलाधरका अनुसार सुदूरपश्चिममा १६ लाख ५८ हजार चार मतदाता रहेकोमा पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीतर्फ नौ लाख ५८ हजार ८४५ (५७.८३ प्रतिशतले) ले मतदान गरेकोमा नौ लाख १३ हजार ८७८ अर्थात् ९५.३१ प्रतिशत मत सदर भएको थियो। त्यसमध्ये ४४ हजार ९६७ अर्थात् ४.६९ प्रतिशत मत बदर भएको थियो। 

यस्तै समानुपातिकतर्फ नौ लाख ५७ हजार २६९ (५७.७४ प्रतिशत) ले मतदान गरेकोमा आठ लाख ९६ हजार ३५९ (९३.६४ प्रतिशत) मत सदर भएको थियो। समानुपातिकमा ६० हजार ८७४ अर्थात् ६.३६ प्रतिशत मत बदर भएको थियो।