• १२ साउन २०८१, शनिबार

१० लाख बढी मतदातामा ६०.६९ खस्यो, ४.१० प्रतिशत मत बदर

कर्णाली प्रदेश सभा निर्वाचन नतिजा प्रदेश प्रमुख समक्ष पेस

blog

कर्णाली प्रदेश सभा निर्वाचन परिणाम प्रतिवेदन प्रदेश प्रमुख तिलक परिवार समक्ष पेश गर्नुहुँदै निर्वाचन आयोगका सह–सचिव यज्ञप्रसाद भट्टराई। तस्बिर : नवीन शिशिर

नवीन सुवेदी

सुर्खेत, पुस २ गते। कर्णाली प्रदेश सभा तर्फको नतिजासहितको प्रतिवेदन प्रदेश प्रमुख समक्ष पेस गरिएको छ। प्रदेश सभाको हकमा प्रदेश प्रमुख समक्ष पठाउनुपर्ने प्रावधानबमोजिम आयोगबाट परिणामसहितको प्रतिवेदन प्रदेश प्रमुख तिलक परियार समक्ष प्रस्तुत गरिएको हो। निर्वाचित प्रदेश सभा सदस्यको नामावली नेपाल राजपत्रमा प्रकाशित गरिनेछ। आयोगले तयार गरेको निर्वाचन परिणाम प्रतिवेदन अनुसार कर्णाली प्रदेश सभातर्फ ४० जना निर्वाचित भएका छन्।

जसमा पुरुष २५ जना ६२ दशमलव ५ प्रतिशत र महिला १५ जना ३७ दशमलव ५ प्रतिशत निर्वाचित भएका हुन्। कर्णाली प्रदेश सभा सदस्य निर्वाचनमा पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीतर्फ १५ र समानुपातिक निर्वाचन प्रणालीतर्फ २८ राजनीतिक दल निर्वाचनमा सहभागी भएका थिए। 

प्रतिवेदन अनुसार प्रदेश सभाको पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीतर्फ पुरुष ११३ र महिला ३ गरेर कूल ११६ जनाको अन्तिम उम्मेदवारी कायम भएको थियो। समानुपातिक निर्वाचन प्रणालीमा दुई सय जना उम्मेदवारको अन्तिम बन्द सुची कायम गरिएको थियो। प्रदेश सभा सदस्य निर्वाचन, २०७९ का लागि महिला ४ लाख ९७ हजार ९२८०, पुरुष ५ लाख १० हजार ४२० र अन्य गरेर कुल १० लाख आठ हजार ४०३ मतदाता कायम रहेको आयोगले जनाएको छ। 

कर्णालीमा १० लाख भन्दा बढी मतदाता सङ्ख्या थियो। तर निर्वाचनमा पहिलो हुने निर्वाचित हुने निर्वाचनमा ६ लाख १४ हजार ७१७ मत खसेको थियो। यो ६० दशमलव ९६ प्रतिशत मत हो। जसमध्ये ५ लाख ८९ हजार ४८४ अर्थात् ९५ दशमलव ९ प्रतिशत मत सदर भएको छ। कर्णाली प्रदेशमा २५ हजार २३३ अर्थात् ४ दशमलव १० प्रतिशत मत बदर भएको छ। 

यस्तै प्रदेश सभाका लागि गरिएको समानुपातिक निर्वाचनमा ६ लाख १३ हजार ५०९ अर्थात् ६० दशमलव ८४ प्रतिशत मतदान भएको थियो। जसमध्ये ५ लाख ७७ हजार ८२९ ९४ दशमलव १८ प्रतिशत मत सदर भएको थियो। ३५ हजार ६८० अर्थात् ५ दशमलव ८२ प्रतिशत मत बदर भएको आयोगका सह–सचिव यज्ञप्रसाद भट्टराईले जानकारी दिनुभयो। 

२२ राजनीतिक दलको धरौटी जफत

प्रदेश सभा सदस्यको लागि निर्वाचनमा भाग लिएका २२ वटा राजनीतिक दलहरूको धरौटी जफत गरिएको निर्वाचन आयोगले जनाएको छ। प्रदेश सभा सदस्य निर्वाचन ऐन, २०७४ अनुसार समानुपातिक निर्वाचन प्रणाली अन्तर्गतको निर्वाचनमा कुनै राजनीतिक दलले कम्तीमा एक सिट प्राप्त नगरेमा त्यस्तो दलले राखेको धरौटी जफत हुने व्यवस्थाबमोजिम प्रदेश सभातर्फ बन्दसुची पेस गर्ने दलमध्ये कर्णाली प्रदेशमा २२ वटा राजनीतिक दलको धरौटी जफत गरिएको हो। 

प्रदेश सभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ६० मा प्रदेश सभामा समानुपातिक निर्वाचन प्रणालीतर्फको कुल सदर मतको १ दशमलव ५ प्रतिशत वा सोभन्दा बढी मत प्राप्त गर्ने दलको तर्फबाट मात्र उम्मेदवार निर्वाचित हुने व्यवस्था छ। सो व्यवस्थाअनुसार कर्णाली प्रदेशमा पाँच वटा राजनीतिक दलको समानुपातिक निर्वाचन प्रणालीतर्फ प्रदेश सभामा प्रतिनिधित्व भएको छ। प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनमा ३७ वटा राष्ट्रिय संस्थाका ७ हजार ५५३ र २ वटा अन्तर्राष्ट्रिय संस्थाबाट १२ जना पर्यवेक्षकबाट निर्वाचन पर्यवेक्षण भएको थियो।