गाेरखापत्र अनलाइन
ललितपुर, पुस २ गते । प्रधानमन्त्री शेरबहादुर देउवाले स्थानीय तहको काम कारबाही जनमुखी, पारदर्शी र नागरिकप्रति जबाफदेही हुनुपर्ने बताउनुभएको छ । ललितपुर महानगरपालिकाको १०४ औँ स्थापना दिवसको अवसर पारेर शनिबार यहाँस्थित आयोजित एक कार्यक्रममा बोल्दै उहाँले नेपालको संविधानले स्थानीय तहलाई विकास, निर्माण र जनसेवाको आधार स्तम्भको रूपमा महत्त्वपूर्ण अधिकार र जिम्मेवारी प्रदान गरेकाले सोही अनुसारको काम हुनुपर्ने उल्लेख गर्नुभयो ।
प्रधानमन्त्री देउवाले नागरिक नजिकको सरकार भएकाले पनि स्थानीय तहको कामकारबाही नागरिकप्रतिनै जबाफदेही हुनुपर्ने प्रष्टयाउनुभयाे । प्रधानमन्त्री देउवाले ललितपुर महानगरपालिकाले जनताको अपेक्षा अनुसार विश्वका अन्य मुलुकमा पनि नेपाल र नेपाली जनताको पहिचान हुने गरी आफ्नो कामलाई अघि बढाएको भन्दै प्रशंसा समेत गर्नुभयो ।
उहाँले ललितपुर महानगरपालिकालाई सांस्कृतिक स्मार्ट सहरको रूपमा विकास हुने गरी काम गर्नुपर्नेमा पनि जोड दिनुभयो । प्रधानमन्त्री देउवाले ललितपुर महानगरपालिकाले नमुना महानगरपालिकाको रूपमा आफूलाई अघि बढाएको बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘उपत्यकाको पुरानो र मौलिकता बोकेको यो सहर व्यवस्थित र नागरिकको जीवनलाई सहज र गुणस्तरीय बनाउने विविध योजनाहरूसहित अघि बढेको जानकारी पाउँदा मलाई खुसी लागेको छ । मौलिक कला, संस्कृति र साहित्य महानगरपालिकाका अमूल्य सम्पदा हुन् । यस महानगरपालिका भित्र राष्ट्रिय गौरवका प्राचीन सम्पदाहरू नेपाललाई विश्वमा चिनाउने महत्त्वपूर्ण धरोहर र वैभव हुन । यस महत्त्वपूर्ण निधि र सम्पदाको संरक्षण गर्दै यस महानगरपालिकालाई मुलुककै सम्पदा र संस्कृतिको केन्द्रको रूपमा विकास गर्न जनप्रतिनिधि र महानगरवासीले एकआपसमा हातेमालो गर्दै अघि बढ्न आवश्यक छ ।’
प्रधानमन्त्री देउवाले भन्नुभयो, ‘प्राचीन सभ्यता र संस्कृतिलाई यथावत् संरक्षण गर्दै नयाँ आधुनिक पूर्वाधार निर्माणले यस महानगरपालिकालाई उपत्यकाकै प्राचीन र आधुनिक सहरको रूपमा विकास गराउनु सबैका लागि अनुकरणीय रहेकोमा दुईमत छैन । भौतिक पूर्वाधारको विकासले वातावरणीय पक्षको आन्तरिकीकरण तथा नागरिक केन्द्रित विकासमा महानगरपालिकाले खेलेको भूमिका अनुकरणीय छ । यहाँ भएको कामले राष्ट्रिय मात्र नभई अन्तराष्ट्रियस्तरमा पनि नेपाल र नेपालीको परिचय गराउनुभएको छ ।’
त्यस अवसरमा प्रधानमन्त्री देउवाले नागरिकलाई खुसी बनाउने गरी ललितपुर महानगरपालिकाको सम्पदाहरूको संरक्षणको काम भइरहेको भन्दै त्यसलाई निरन्तरता दिएर अघि बढ्न थप क्रियाशील हुन आग्रह गर्नुभयो । भौतिक पूर्वाधारहरूको विकास गर्दा नागरिकको जीवनलाई सहज हुने गरी अघि बढाउन पनि स्थानीय तहका जनप्रतिनिधिहरूले मिलेर काम गर्नुपर्ने उहाँको भनाइ थियो ।