बाबुराम शर्मा
दोलखा, पुस २ गते । सरकारी तथा गैरसरकारी १४ वटा कार्यालयमा २७ वर्ष गरिएको कामको खारिएको अनुभवले गरेको टमाटरलगायत खेतीबाट कृषि प्राविधिक देवबहादुर खड्काले राम्रो आम्दानी गर्नुभएको छ ।
लामो समयको नोकरीबाट पनि खासै उपलब्धि नभएपछि गरिएको टमाटर, अकबरे खुर्सानी, तिते करेलालगायतका खेतीबाट एक वर्षमा सात लाखभन्दा बढी आम्दानी भएकोमा खर्च कटाई खुद पाँच लाख रुपियाँ आम्दानी भएको कृषि प्राविधिक खड्काले जानकारी दिनुभयो ।
उहाँका अनुसार भीमेश्वर नगरपालिका–४ जिलुमा १५ रोपनीमा टनेलमा खेती गरिएको छ । पाँच वटा टनेलमा टमाटर, दुई वटा टनेलमा अकबरे खुर्सानी र बाहिर तिते करेला खेती गरिएको छ । टमाटर र अकबरे खुर्सानी वर्षमा तीन पटक उत्पादन हुने गरेको छ ।
टमाटर एक हजार तीन सय किलो उत्पादन हुँदा प्रतिकिलो ६० रुपियाँले बिक्री भएको छ । उहाँले भन्नुभयो, अकबरे खुर्सानी पाँच सय किलो उत्पादन भएकोमा प्रतिकिलो दुई सय रुपियाँमा बिक्री भएको छ । तिते करेला एक पटक मात्र उत्पादन भएको एक हजार चार सय किलोमा प्रतिकिलो ७० रुपियाँमा बिक्री भएको छ ।
यी खेतीलाई सहयोग गर्न तीन हजार लेयर्स कुखुरा र चार वटा गाईपालन गरिएको जानकारी दिँदै उहाँले भन्नुभयो, कुखुरा र गाईबाट पनि आम्दानी त भइहाल्छ । खेतीका लागि आवश्यक प्राङ्गारिक मल पनि तयार हुन्छ । यी सबैले एक अर्कालाई सहयोग पुर्याउँछन् । अरू १५ रोपनी जग्गा भाडामा लिएर अहिले भएको खेतीलाई तेब्बर बनाउने सोच बनेको छ ।
कृषि प्राविधिकले गरेको खेती भएकाले तौरतरिका र सन्तुलन मिलेकाले राम्रै आम्दानी भएको हो । देशमा उत्पादित कृषि प्राविधिकले यसैगरी खेती गर्नुपर्ने र अरू किसानलाई उत्प्रेरित गरी खेतीमा आकर्षण गरिनुपर्ने उहाँको धारणा रहेको छ ।