• ८ पुस २०८१, सोमबार

फुटपाथ र नालामा राखिएका सामग्री हटाउँदै वीरगञ्ज महानगर

blog

गोरखापत्र समाचारदाता

वीरगञ्ज, पुस २ गते । वीरगञ्ज महानगरपालिकाले नगरले फुटपाथ र नालामाथि राखिएका  सामग्री हटाउने कामलाई तीव्रता दिएको छ । जथाभाबी निर्माण सामग्री तथा ठेला राखेर व्यवसाय गर्दा पैदल हिँड्न अप्ठ्यारो र सवारी दुर्घटनासमेत हुन सक्ने देखिएकाले महानगरले त्यसलाई हटाउन थालेको हो ।  

महानगरले शनिबार बिहान वडा नम्बर ४ बिर्ता क्षेत्रमा जथाभाबी राखिएका निर्माण सामग्री हटाउनुका साथै लामो समयदेखि सडक छेउमा बेवारिसे अवस्थामा पार्किङ गरेर राखिएको एउटा एम्बुलेन्स पनि हटाएको छ । 

एडभान्स हस्पिटलले लामो समयदेखि पार्किङ गरेर राखेको एम्बुलेन्स महानगरको डोजरले तानेर हटाएको वीरगञ्ज महानगरका फोहोर व्यवस्थापन तथा हरियाली संयोजक जयप्रकाश खेतानले जानकारी दिनुभयो । 

‘हस्पिटलले वर्षौँदेखि सडक छेउमा बेवारिसे अवस्थामा एम्बुलेन्स पार्किङ गरेर राख्दा आउजाउमा असहज भएको थियो,’ उहाँले भन्नुभयो, ‘महानगरले सुरु गरेको अभियान अन्तर्गत आज हामीले जथाभाबी पार्किङ गर्ने, फुटपाथ र नाला मिचेर राखिएका निर्माण सामग्री र ठेला हटाउने अभियान अन्तर्गत यो क्षेत्र सफा गरेका छौँ, अब सहज हुने अपेक्षा छ ।’

अहिले महानगर र सरोकारवालाहरूको सक्रियतामा घण्टाघरदेखि नारायणी अस्पतालसम्म, मकालु होटल हुँदै घडिअर्वासम्मको सडकमा चारपाङ्ग्रे सवारी पार्किङ गर्न निषेध गरिएकाले ती क्षेत्रमा पार्किङ गरिएका सवारीलाई कारबाही गर्न थालिएको वडा प्रहरी कार्यालय बिर्ताका प्रमुख प्रहरी निरीक्षक विशाल मल्लले बताउनुभयो । 

तीन पाङ्ग्रे र चारपाङ्ग्रे सवारी निषेध गरिएका स्थानमा जानकारीका लागि ठाउठाउँमा बोर्ड राखिएको भन्दै उहाँले त्यसलाई अटेर गर्दै ती क्षेत्रमा पार्किङ गर्ने त्यस्ता सवारीलाई ५ हजारसम्म जरिवाना गरिने पनि उहाँले बताउनुभयो । 

महानगरले सवारी पार्किङका लागि निश्चित स्थान तोकेकाले तोकिएको स्थानमा मात्रै पार्किङ गर्न पनि सबैलाई अनुरोध गरेको छ । 

शनिबार अतिक्रमण नियन्त्रण र पार्किङ कार्यान्वयनका लागि खटिएको अभियानमा वीरगञ्ज महानगरपालिकाका सरसफाइ तथा वृक्षारोपण संयोजक जयप्रकाश खेतान, वडा प्रहरी कार्यालय बिर्ताका प्रमुख प्रहरी निरीक्षक मल्ल, वडा नम्बर ४ का वडाध्यक्ष जगत् साह कानु, महानगरका सरसफाइ प्रमुख सरफुद्धीन मियाँ, नगर प्रहरी प्रमुख हरि भुसाललगायत विभिन्न सङ्घसंस्थाका प्रतिनिधिलगायतको सहभागिता रहेको थियो ।