• १० मंसिर २०८१, सोमबार

मनमायाले भोगेको युग

blog

आजकल ‘दुई सन्तान ईश्वरका बरदान’ भन्ने परिवार नियोजनको लोकप्रचलित नारा फेरिन लागेको छ । धेरैले एउटै सन्तानमा चित्त बुझाउन थालिसकेका छन् । भनौँ, यो नारा बुबापुस्तामा बन्यो । हजुरबुबा पुस्तामा त ‘सन्तानले डाँडाकाँडा ढाकून्’ भन्ने नै चलिआएथ्यो । यो आशीषमा धेरै छोराछोरी भएर डाँडाकाँडा ढाकून् भनिएको भए पनि नातिपुस्तामा आएर भने उद्यम–पराक्रमले देश–विदेशमा फैलिऊन् भन्ने भइसकेको छ । 

बाबुबाजेको नाम चम्काउन एउटै सन्तान पनि प्रशस्त हुन्छ, यदि त्यो सन्तान क्षमतावान् भयो भने । यद्यपि, मनमाया सिटौलाद्वारा लिखित पुस्तक ‘मैले बिताएको युग’मा भने सन्तानका सङ्ख्याले र क्षमताले पनि डाँडाकाँडा एवं देश–देशावर ढाक्न सफल भएको देखिन्छ । १९८८ साल मङ्सिर ३ गते बुबा पुण्यप्रसाद मैनाली र आमा हिमादेवीको कोखबाट जन्मनुभएकी मनमाया सिटौलाले आफूले भोगेर नौ दशक पार गरेको समयको पारिवारिक उतारचढाव, तत्कालीन जीवनशैली, महिलाको अवस्था, सामाजिक रूपान्तरण, शिक्षा र स्वास्थ्यको अवस्थालगायत यावत् कुरालाई प्रस्तुत पुस्तक ‘मैले बिताएको युग’ मा प्रकाश पार्नुभएको छ । 

यस पुस्तकमा एउटा परिवारको कुरा मात्र नभएर पूर्वी पहाडी जिल्ला ताप्लेजुङ, तेह्रथुम, पाँचथर, झापा, इलाम हुँदै काठमाडौँ र विदेश यात्राका सन्दर्भहरू पनि समेटिएका छन् । त्यसबेलाका हाङपाङ, चुहानडाँडा, अर्खौले, आडराईलगायत क्षेत्रका खानदानी परिवारका रूपमा नाम चलेका मैनाली, सिटौला, प्रसार्इं, थपलिया एवं नाता सम्बन्धमा जोडिन आएका अन्य परिवारको समेत इतिहास यस पुस्तकमा पढ्न पाइन्छ । सबैभन्दा महìवपूर्ण कुरा त लेखिका सिटौला स्वयंमा साक्षरसम्म पनि हुनुहुन्न । उहाँको भोगाइ, उहाँको दृष्टिकोण, उहाँको अनुभवलाई पारिवारिक सहयोगीद्वारा तयार पारिएको र उहाँकै छोरी राधिका दाहालको सम्पादनमा पुस्तकाकार रूपमा आएको हो । 

मनमाया सिटौलाका सन्तानले डाँडाकाँडा मात्र नभएर विदेशसमेत ढाकिसकेका छन् । उहाँ स्वयंले पनि अमेरिकालगायत देशको भ्रमण गरिसक्नुभएको छ । यस कृतिमा उहाँका सुपुत्र साहित्यकार मोहन सिटौलाले भूमिकामा लेख्नुभएअनुसार परिवारको सङ्ख्या र गुणस्तरीयतामा वृद्धि हुँदै गएपछि जापान, अमेरिका, बेलायत, अस्ट्रेलियालगायत अन्यान्य देशमा भाइबहिनी, छोराछोरी, भतिजाभतिजी, भाञ्जाभाञ्जी र नातिनातिना फैलिन थाले । यो श्रीवृद्धिलाई आठराई चुहानडाँडाको पुण्य माटो, पावन पुर्खा, झापाको आफ्नै स्कुलको शैक्षिक र अनुशासनीय तालिम तथा सबैको सहयोगी भूमिका र आ–आफ्ना क्षमता, भाग्य र कार्यले मिलेको सफलता हो भन्नुभएको छ । यसैगरी, अर्का भूमिकाकार साहित्यकार नरेन्द्रराज प्रसाईंले लेख्नुभएको एउटा प्रसङ्ग यस्तो छ– ‘त्यसबखत मेरी हजुरआमाले घ्याम्पामा पैसा राख्ने गर्थिन् र पाथीमा पैसा भरेर घ्याम्पामा खन्याउने काम मेरी आमा भागीरथा प्रसाईंकै हुन्थ्यो । त्यसबखत त्यस भेगमा हामीभन्दा धनी कोही पनि थिएनन् ।’ यसरी धन सम्पत्ति, विद्या, मान–सम्मान र संस्कारयुक्त परिवारको लगभग दुई सय वर्षको इतिहास यस पुस्तकमा समेटिएको छ । 

त्यसबेलाको समयमा छोरीलाई विवाह गरेर अन्माइसकेपछि जसरी पनि घर गरेर खानु, घर गरेर खान नसके बरु मरिजानु तर दुक्ख पाएँ भनेर माइतीमा फर्केर नआउनु भन्ने कडा चेतावनीसहित मैतालु पठाउने गरेको सन्दर्भले जस्तै दुःख पनि सहेर घर गर्नु भन्ने निर्देशन बुझाउँछ । त्यसबेलाको समाजको कट्टरपनलाई यसले उजागर गरेको छ र यस्ता अनुशासनका थुप्रै प्रसङ्ग पुस्तकमा पढ्न पाइन्छ । पशुधनका कुरा, घरमा गाई मर्दा गरिएको संस्कार, खेती किसानीका कुरा, मेलापर्म, बालीप्रथा, धारोपानी, पुरुषको हैकम, महिलाको बुहार्तन, ठूलो परिवारको रमाइलो, चाडपर्वको रौनक, बसाइँसराइ, तीर्थयात्रालगायत सन्दर्भहरू अहिलेको पुस्तालाई कथाझैँ लाग्ने थुप्रै प्रसङ्ग छन् । 

हरिचरण सिटौलाकी छेठी श्रीमतीका तर्फबाट सन्तान नभएपछि कान्छी श्रीमतीको रूपमा १९९७ साल वैशाख २८ गते भित्र्याइनुभएकी आठ वर्षीया मनमायाका स्मृतिमा सल्बलाएका अनेक भाव पुस्तकमा क्रमबद्ध आएका छन् । मनमायाबाट जन्मिएका सन्तानले यतिबेला डाँडाकाँडा मात्र नभई विदेश पनि ढाकेका छन् । उहाँ अमेरिका गएर केही समय बसेर फर्किनुभएको हो । पुस्तकमा अमेरिका यात्राका संस्मरण पनि समेटिएका छन् । अमेरिकामै नातिनीको विवाहमा सरिक हुनुभएको छ । उहाँले अमेरिकी पुगीसरी चलनको एउटा प्रसङ्ग यसरी उल्लेख गर्नुभएको छ– ‘अमेरिकामा सबैलाई पुगीसरी आएको हुन्छ । एउटा सामान मन नपरे, अर्को सामान किन्न मन लागेपछि कस्ताकस्ता भर्खर किनेका सामान पनि सडकमा ल्याएर मिल्काउँछन् । कसैलाई त्यो सामान चाहिएको रहेछ भने लान्छन् पनि । एक पटक बाटोमा हिँड्दै थिएँ, एउटा अमेरिकीले नयाँ राम्रो ऐना ल्याएर सामान उठाउने ठाउँमा राख्यो । अर्कोले नयाँ सोफा ल्याएर फाल्यो, अर्कोले दराज फाल्यो, सबैलाई गुड मर्निङ भन्यो, हात हल्लायो र हिँड्यो । ...मैले अमेरिकामा हेर्नुपर्ने र घुम्ने ठाउँ कतै पनि बाँकी रहेन ।’ यसरी नै उहाँले चारधामलगायत तीर्थयात्रा पनि गर्नुभएको संस्मरण पुस्तकमा उतार्नुभएको छ । 

उहाँमा गायकी कला भएको सन्दर्भ पनि आएको छ । लोकगायक धर्मराज थापासँग रेडियो नेपालमा गीत गाएको रोचक सन्दर्भ, सँगिनी, रत्यौली, भजन, असारे गीत गाउने तथा नाच्न पनि उत्तिकै निपुण भएको लेखिकाले उल्लेख गर्नुभएकीले पाठकका लागि उहाँ प्रेरणाको स्रोत हुनुहुनेछ । पुस्तकको अन्त्यमा पारिवारिक तथा घुमफिरका थुप्रै रङ्गीन तस्बिरहरू राखेर पुस्तकलाई थप ओजिलो बनाइएको छ । एउटी नौ दशक पार गरेकी अनपढ नारीको जीवनवृत्त यसरी पुस्तकाकार रूपमा ल्याएर उहाँका गुणी सन्तानले पुण्यकर्म गरेको स्पष्ट हुन्छ । वास्तवमा यो पुस्तक एक युगकै दस्ताबेज होभन्दा फरक पर्दैन । राधिका दाहालले सम्पादन गर्नुभएको यस पुस्तकको प्रकाशक नई प्रकाशन रहेको छ । मूल्य भने ५००/– रुपियाँ तोकिएको छ ।