गोरखापत्र समाचारदाता
काठमाडौँ, जेठ २२ गते । प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले बुधबार ‘राष्ट्रिय ललितकला प्रदर्शनी २०८२’ को अवलोकन गर्नुभएको छ । उहाँले प्रदर्शनीमा राखिएका कलाकृतिले नेपालको ललितकलाको इतिहास मात्र नदेखाई भविष्यमा कसरी जान सकिन्छ भन्ने कुरालाई पनि कलात्मक ढङ्गबाट देखाएको बताउनुभयो । सातै वटा प्रदेशबाट प्रदर्शनीमा छानिएर आएका कलाले सम्पूर्ण नेपाललाई प्रतिविम्बित गरेको उहाँले बताउनुभयो ।
सो क्रममा उहाँले कर्णाली प्रदेशका लोपोन्मुख राउटे समुदायका कलाकारसँग पनि साक्षात्कार गर्नुभयो । नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानको आयोजनामा जेठ १५ गतेदेखि भइरहेको प्रदर्शनीमा ‘प्रादेशिक ललितकला प्रदर्शनी २०८१’ मार्फत छानिएका प्रतियोगी, अप्रतियोगी र आमन्त्रित कलाकृति गरी ६५ जिल्लाका विविध विधाका ६०५ कलाकारका ६५० भन्दा बढी कलाकृति समावेश छन् । जेठ ३० गतेसम्म चल्ने प्रदर्शनीमा ललितकलाका विविध विधाका साथै मुख्यतः थारू, अवधी, मिथिला, नेवार, पर्वते, भोजपुरी, तामाङ, राउटे, डोम, राई, किराँतका कलाको विशेष सहभागिता रहेको छ ।