• ११ मंसिर २०८१, मङ्गलबार

बाँकेमा ५३८ जना एचआइभी सङ्क्रमितले नियमित उपचार गराउँदै

blog

पश्चिम नेपालका एचआइभी एड्सका विरामीको उपचार गर्ने भेरी अस्पताल । तस्विर - सिराज खान । नेपालगञ्ज

सिराज खान 

नेपालगञ्ज, मङ्सिर २९ गते । एचआइभी एड्सबाट सङ्क्रमित भएका बाँकेका ५३८ जनाले नेपालगन्जस्थित भेरी अस्पतालमा नियमित उपचार गराइरहेका छन् । 

स्वास्थ्य कार्यालय, बाँकेका फोकल पर्सन मानबहादुर नेपालीका अनुसार जिल्लामा ५३८ जना सङ्क्रमितहरूले एआरटी उपचार गराइरहेका छन् । भेरी अस्पतालबाट उनीहरूले सो सेवा लिइरहेको उहाँले बताउनुभयो । 

सुरुवातदेखि भेरी अस्पतालमा एआरटी उपचार लिनेहरू एक हजार ५१६ जना रहेकोमा ती मध्ये बाँकेका मात्रै ५३८ जना रहेको फोकल पर्सन नेपालीले बताउनुभयो । 

आर्थिक वर्ष २०७६/०७७ मा कुल छ हजार २०० जनाको परीक्षण गर्दा ११६ जना, २०७७/०७८ मा नौ हजार ५७६ जनाको परीक्षण गर्दा ११७ जना, २०७८/०७९ मा ११ हजार ७५४ जनाको परीक्षण गर्दा १५७ जनामा एचआइभी पोजेटिभ पाइएको स्वास्थ्य कार्यालय, बाँकेले जनाएको छ । 

स्वास्थ्य कार्यालयको तथ्याङ्क अनुसार बाँकेमा हालसम्म एचआइभी एड्सबाट १७० जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा केही उपचारका क्रममा रहेका अन्य जिल्लाका सङ्क्रमित रहेका छन् ।

सरकारले २०३० सम्ममा एचआइभी/एड्सको महामारीलाई अन्त्य गर्ने अर्थात् शून्य नयाँ एचआइभी सङ्क्रमण, शून्य एड्स सम्बन्धित मृत्यु र शून्य एचआइभी सम्बन्धित भेदभावको लक्ष्य लिएको छ ।