• १३ मंसिर २०८१, बिहिबार

सङ्घीयताले नेपाली संस्कृतिको प्रतिनिधित्व गर्नुपर्छ : मन्त्री पौडेल

blog

गोरखापत्र अनलाइन

काठमाडौं, मंसिर २८ गते । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले सङ्घीयताले नेपालको संस्कृतिको प्रतिनिधित्व गर्नुपर्ने बताउनुभएको छ । बुधवार आदिवासी जनजाति आयोगले ललितपुरमा आयोजना गरेको आदिवासी जनजाति ज्ञान सम्मेलनमा मन्त्री पौडेलले सो कुरा बताउनुभएको हो ।

नेपाली प्रकृतिको विशेषता, भूगोल र नेपाली संस्कृतिको प्रतिनिधित्व हुने सङ्घीयता आफूहरूले खोजेको उहाँको भनाइ छ । देशलाई सङ्घीय संरचनामा लग्ने बेलामा आफूहरूले समुदायको पहिचान झल्किने गरी नाम राखेर जान खोजेको भए पनि त्यस्तो गर्न नसकिएको उहाँले बताउनुभयो । 

समुदायको आधारमा नाम राख्दा जात विशेषको हुन खोजेको प्रचार भए पनि सो आधारमा नामाकरण गर्न नसकिएको उहाँले स्पष्ट पार्नुभयो । मन्त्री पौडेलले समुदायको आधारमा सङ्घीय संरचनाको नामाकरण गर्दा राम्रो हुने धारणा व्यक्त गर्नुभयो । राज्यका सबै निकायहरूमा समावेशी, समानुपातिक पहुँच र प्रतिनिधित्व सुनिश्चित हुनु नै सङ्घीयताको खास अर्थ भएको उहाँले चर्चा गर्नुभयो ।

सङ्घीयता केवल प्रशासनिक विभाजनका लागि मात्रै भएको उहाँको भनाई छ । उहाँले भन्नुभयो, “हामी सङ्घीय मोडलमा जाँदाखेरी हाम्रो बहस के भयो भने समुदायको नाममा राख्दा त्यो समुदायको मात्रै हुन्छ भन्नेतिर हाम्रो बहस गयो जुन कुरा म अहिले तपाईँहरूलाई बहसकै रूपमा राख्न खोजेको हुँ ।”

“मगर भनेको समुदाय हो । मगरात भनेको आञ्चलिकता हो । नदीको नाममा, अरू कतिपयको नाममा पहिला पनि अञ्चलहरू थिए । तर त्यो समुदाय भन्ने बित्तिकै जात विशेषले जान्छ कि भन्ने हिसाबले हामीले हाम्रो सङ्घीयतामा त्यो जोड्न सकेनौँ” मन्त्री पौडेलले भन्नुभयो । 

“लोकतन्त्र र सङ्घीयता त अरू देशमा पनि छ । तर हामीले समावेशी, समानुपातिक पहुँचको सुनिश्चितता भएको लोकतन्त्र खोजेका हौँ” उहाँले भन्नुभयो । नेपालमा भएका सबै समुदाय, भाषा र संस्कृतिको जगेर्ना गर्नुपर्ने बताउनुभयो । सबै भाषा र संस्कृतिको जगेर्ना गर्नु आपसमा विभेद सिर्जना गर्नु नभएको उहाँले प्रष्ट पार्नुभयो । 

मन्त्री पौडेलले आपसी सद्भावलाई कायम राख्दै समुदाय विशेषको परम्परा र प्रचलनलाई अगाडि बढाउनुपर्ने उहाँले बताउनुभयो । आदिवासी जनजाति ज्ञान सम्मेलन भोलि बिहीबारसम्म चल्नेछ ।