• ७ असार २०८१, शुक्रबार

सरकारले निजी क्षेत्रलाई छुट्टै बुझ्छ भन्ने सोचबाट मुक्त हुनुस् : अर्थमन्त्री

blog

नेपाल आर्थिक पत्रकार सङ्घ (नाफिज) को १३ औँ वार्षिक साधारण सभालाई सम्बोधन गर्नुहुँदै अर्थमन्त्री जनार्दन शर्मा । तस्बिर : न्यूज एजेन्सी नेपाल

काठमाडौं, मङ्सिर २८ गते । अर्थमन्त्री जनार्दन शर्माले निजी क्षेत्रहरूले सरकारले आफूलाई छुट्टै बुझ्छ भन्ने सोचबाट मुक्त हुनुपर्ने बताउनुभएको छ ।

बुधबार नेपाल आर्थिक पत्रकार सङ्घ (नाफिज) को १३ औँ वार्षिक साधारण सभालाई सम्बोधन गर्नुहुँदै अर्थमन्त्री शर्माले यस्तो बताउनुभएको हो । उहाँले सरकार र निजी क्षेत्र एकअर्काका परिपूरक भएकाले सरकारले निजी क्षेत्रलाई छुट्टै बुझ्ने नगरेको स्पष्ट पार्नुभयो ।

उहाँले निजी क्षेत्रलाई सरकारले आर्थिक विकासको महत्त्वपूर्ण पाटोको रूपमा सोचेको बताउनु भयो । अर्थमन्त्री शर्माले नीतिमा नै सरकार र निजी क्षेत्रबीचको सम्बन्धका बारेमा उल्लेख गरिएको भन्दै तत्काल परेका समस्याहरूमा समाधानका लागि छलफल गर्न सरकार तयार रहेको जानकारी दिनुभयो । उहाँले समयानुसारको नीतिहरूको निर्माण गर्दै जान र नीतिहरू निर्माणमा लचकता अपनाउन सरकार तयार रहेको बताउनुभयो ।

‘‘सरकारले निजी क्षेत्रले हामीलाई छुट्टै बुझ्छन् भन्ने सोच्नुभएको छ, त्यो होइन । त्यो बुझाइबाट अन्त्य हुन म आग्रह गर्छु । त्यो बुझाइ बिल्कुल छैन । हामीलाई अलग्गै हेर्नुपर्छ भन्न खोजेको हो भने छुट्टै कुरा हो । नत्र निजी क्षेत्रलाई सरकारले आर्थिक विकासको महत्त्वपूर्ण पाटो भन्ने सोचेको छ ।,’’ अर्थमन्त्री शर्माले थप्दै भन्नुभयो, ‘‘नीतिमा पनि यो स्पष्ट व्यवस्था छ । हामीले फरक बुझेकै छैन । तत्काल परेका समस्याहरू खुला छौँ, छलफल गर्छौँ, सुधार गर्नुपर्ने कुरामा सुधार गर्न तयार छौँ । समयानुसारको नीतिहरूको निर्माण गर्दै जानुपर्छ । नीतिहरू निर्माणमा लचकता हुनुपर्छ, सरकार लचकता अपनाउने कुरामा दृढ छ ।’’


अर्थमन्त्री शर्माले तीव्र आर्थिक विकासको जन चाहना आवश्यकता रहेको बताउनुभयो । उहाँले अर्थतन्त्रलाई गुणात्मक रूपले विकास गर्नु चलायमान बनाउने चुनौती रहेपनि सरकार त्यसमा लागिपरेको धारणा औँल्याउनुभयो । अर्थतन्त्रमा आउने समस्या र चुनौती आन्तरिक मात्र नभएको बताउनुहुँदै उहाँले अन्तर्राष्ट्रिय प्रभावका कारण पनि अर्थतन्त्रमा सङ्कुचन भएको बताउनुभयो ।

यसैगरी, उत्पादनलाई अझ बढी विस्तार गरी निर्यातमुखी अर्थतन्त्रमा देशलाई लैजानुपर्ने उहाँको भनाइ छ । अर्थमन्त्री शर्माले निर्यात गर्ने सबै वस्तुको उत्पादनमा प्राथमिकता दिन जरुरी रहेको पनि बताउनुभयो । नीति निर्माण राम्रा भए पनि नीतिहरूलाई परिणाममा लैजान कार्यान्वयन क्षमता नै आजको मुख्य आवश्यकता हो । नेपालको आर्थिक अवस्थालाई हेरेर उत्पादनमुखी अर्थतन्त्रमा जोड दिइरहेको उहाँको धनाइ छ ।

अर्थमन्त्री शर्माले भन्नुभयो, ‘‘आज तीव्र आर्थिक विकासको जन चाहना र संवैधानिक आवश्यकता छ । कार्यान्वयन क्षमताबीचमा अन्तर्विरोध रहेको छ । त्यसलाई समाधान गर्ने अर्थतन्त्रलाई गुणात्मक रूपले विकास गर्नु चलायमान बनाउनु हो । राष्ट्रिय रूपमा उत्पादनको आज जो आवश्यकता छ, उत्पादनको आवश्यकता र आयात प्रतिस्थापनबीचको योजनाको महत्त्व बोध गर्ने र गराउने कुरा आजको आवश्यकता हो । यो कुरालाई स्थापित गर्नुपर्छ । आयात भइरहेको छ तर, उत्पादनमुखी अर्थतन्त्रको आवश्यकताको बोध अझै भइरहेको छैन । जसका कारण हाम्रा धेरै श्रोत, साधनहरू प्रयोगविहीन अवस्थामा छन् ।’’

उहाँले थप्दै भन्नुभयो, ‘‘त्यसको पूर्ण सञ्चालन हुन सकिरहेको छैन । नीति निर्माण राम्रा भए पनि त्यस नीतिहरू परिणाममा फेर्नका लागि कार्यान्वयन क्षमता नै आजको मुख्य आवश्यकता हो । त्यतातिर छलफल र बहस कम भएको छ । उत्पादनमुखी अर्थतन्त्रको नीतिगत रूपमा समस्या छैन, हामीले पछिल्लो परिस्थितिको नेपालको आर्थिक अवस्थालाई हेरेर उत्पादनमुखी अर्थतन्त्रमा जोड दिइरहेका छौँ । निर्यात गर्नसक्ने वस्तुहरूको प्रमाणीकरण गरेर अघि बढ्न जरुरी छ ।’’

मन्त्री शर्माले निर्यात गर्नसक्ने वस्तुहरूको प्राथमिकीकरण गरेर अघि बढ्न जरुरी रहेको बताउनु भयो । सरकारी संरचनालाई गतिशील, पारदर्शी र क्षमतायुक्त बनाउन आवश्यक रहेको उहाँको भनाइ छ ।