• १२ मंसिर २०८१, बुधबार

डुडुवामा पुस ४ गते गाउँसभा गर्ने सहमति

blog

गाउँसभा गर्ने सहमति गरेको डुडुवाको कार्यपालिका बैठक । तस्विर – सिराज खान । नेपालगञ्ज

सिराज खान 

नेपालगञ्ज, मङ्सिर, २८ गते । पाँच महिनादेखि अवरुद्ध डुडुवा गाउँपालिकाको सेवासुविधा अब सुचारु हुने भएको छ । आगामी पुस ४ गते सोमबार दिउँसो २ बजे गाउँसभा बस्ने सहमति दलहरुबीच भएपछि बजेट र योजना पारित हुने आशा बढेको हो । 

कार्यपालिकाको मङ्गलबार बसेको बैठकमा पुस ४ गते गाउँसभा बस्ने निर्णय भएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद पौडेलले बताउनुभयो । उहाँका अनुसार गाउँसभामा नयाँ आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट ल्याइनेछ, त्यसका लागि स्रोत अनुमान तथा बजेट अनुमान समिति, राजस्व परामर्श समिति र विषयगत समितिको बैठक बसिसकेको छ । अब बजेटको तयारी गरिनेछ । 

वडा समितिले पुस १ गतेसम्म वडागत योजनाहरु कार्यपालिकाको बैठकमा पेश गरेपछि यसैको आधारमा योजना तर्जुमा गरिने प्रमुख प्रशासकीय अधिकृत पौडेलले बताउनुभयो । 

मङ्गलबार बसेको कार्यपालिकाको बैठकमा विपक्षी दलले सहमति जनाएपछि सभाको टुङ्गो लागेको गाउँपालिका अध्यक्ष नरेन्द्रकुमार चौधरीले बताउनुभयो । उहाँले स्थानीय सरकार सञ्चालन ऐन २०७४ अनुसार विधि र प्रक्रिया बमोजिम स्थानीय तहका कार्यहरु गर्ने कानूनमा स्पष्ट व्यवस्था भएको र सोही बमोजिम गर्न खोज्दा विपक्षीको अवरोधले पालिकाको सेवा प्रभावित हुनु दुःखको कुरा भएको बताउनुभयो । 

उहाँका अनुसार ४ गते सभा सम्पन्न नहुँदासम्म आन्दोलनका कार्यक्रम स्थगित गरी ताला खोलिएको छ । नयाँ आर्थिक वर्ष २०७९÷०८० को गाउँसभा नबस्दा बजेटसमेत पास नभएर सेवाग्राहीका सबै सुविधा ठप्प भएका थिए ।