• १२ मंसिर २०८१, बुधबार

बर्दिबास उद्योग वाणिज्य सङ्घ चुनावमा एघार लाखसम्मकाे अक्षयकोष घोषणा

blog

कृष्णप्रसाद गौतम र विष्णुबहादुर खड्का ।

रवीन्द्र उप्रेती 

बर्दिबास, मङ्सिर २८ गते । बर्दिबास उद्योग वाणिज्य सङ्घको पुस ५ गते हुने कार्यसमिति चुनावका कारण अहिले बर्दिबास तातेको छ । १३ सदस्यीय समितिका लागि हुन लागेको चुनावमा कृष्णप्रसाद गौतम र विष्णुबहादुर खड्का प्यानलबीच कडा प्रतिस्पर्धा हुन लागेको हो । 

दुवै प्यानलको प्रचारप्रसार र चुनावी गतिविधिले हालै सम्पन्न प्रतिनिधि र प्रदेश सभा निर्वाचनलाई समेत माथ गरेको छ । दुवै प्यानलले छुट्टाछुट्टै सम्पर्क कार्यालय खोलेर चुनावी गतिविधिलाई तीव्र गति दिएका छन् । व्यापारीहरु आ–आफ्ना प्यानलको प्रचार प्रसारमा जुटेका छन् । 

मङ्सिर २५ गते मनोनयन दर्तापछि दुवै पक्ष अहिले घरदैलोमा व्यस्त छन् । दुवै पक्षले पत्रकार सम्मेलन गरी घोषणा पत्र सार्वजनिक गरेका छन् ।

खड्का प्यानलले ९ बुँदे ‘प्रतिबद्धता पत्र’ सार्वजनिक गरेको थियो । लगत्तै गौतम पक्षले पनि पत्रकार सम्मेलन गरी १० बुँदे ‘सङ्कल्प पत्र’ सार्वजनिक गरेको छ । 

दुवैका ‘पत्र’ मा दलीय घोषणापत्रभन्दा पनि आकर्षक र लोभलाग्दा सेवा, सुविधा तथा आश्वासनको घोषणा गरिएको छ । 

खण्डका प्यानलको ‘प्रतिबद्धता पत्र’मा प्रकोप पीडित व्यापारीको सहयोगका लागि अध्यक्ष पदका प्रत्याशी विष्णुबहादुर खड्काले आफ्नो निजी खर्चबाट ५ लाख ५१ हजारको अक्षयकोष स्थापनाको घोषणा गर्नुभएको छ । 

यसलाई उछिन्दै गौतम पक्षले ‘सङ्कल्प पत्र’मा प्राकृतिक विपदमा परेका व्यापारीको आकस्मिक सेवाका लागि अध्यक्ष पदका उम्मेदवार कृष्णप्रसाद गौतमले आफ्नो तर्फबाट ११ लाख ११ हजार १११ रुपियाँको अक्षयकोष स्थापना गर्ने घोषणा गर्नुभयो । 

सञ्चारकर्मीको प्रश्नको जवाफ दिँदै अध्यक्ष पदका प्रत्याशी खड्काले गौतम नेतृत्वको कार्यसमितिले ९ वर्षे कार्यकालमा साधारणसभा पनि नगराउँदा निष्क्रिय, गतिहीन र एकलौटी पार्दै लगेको बर्दिबास उद्योग वाणिज्य सङ्घलाई लयमा फर्काउन उम्मेदवारी दिएको बताउनुभयो ।

अर्को पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै निवर्तमान अध्यक्षसमेत रहनुभएका कृष्णप्रसाद गौतमले आरोप निराधार र दुराशयपूर्ण रहेको प्रतिक्रिया दिनुभयो । 

मटिहानीमा उपशाखा रहेको बर्दिबास उद्योग वाणिज्य सङ्घलाई महासङ्घमा दर्ता गरी स्वायत्त बनाएको, टीके प्रथा अन्त्य गरी चुनावी प्रणालीमा लगेको, बर्दिबासमा नापी, मालपोत, इलाका प्रशासन, यातायात व्यवस्था जस्ता सेवा प्रदायक कार्यालय स्थापनामा मुख्य भूमिका निर्वाह गरेको उदाहरण प्रस्तुत गर्नुभयो । 

अध्यक्ष पदका अर्का प्रतिस्पर्धी जागेन्द्र श्रेष्ठको अहिलेसम्म चुनावी गतिविधि बाहिर देखिएको छैन ।