• १३ मंसिर २०८१, बिहिबार

मानव अधिकार हनन् हुन नदिन सचेत हुनुपर्छ : अध्यक्ष मगर

blog

राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष तपबहादुर मगर । फाइल तस्बिर

काठमाडौं, मङ्सिर २७ गते। राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष तपबहादुर मगरले व्यवसायीलाई मानव अधिकार हनन् हुन नदिन सचेत रहन आग्रह गर्नु भएको छ। व्यावसायिक घरानाबाट पनि मानव अधिकार हनन्का घटना हुने गरेकाले त्यसो हुन नदिने गरी काम गर्न उनीहरू आफैँ सचेत हुनुपर्ने उहाँको भनाइ थियो। 

मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै अध्यक्ष मगरले मानव अधिकार हनन् हुन नदिने काममा खबरदारी गर्न सम्बन्धित पक्ष बढी सक्रिय हुनुपर्ने समेत स्पष्ट पार्नु भयो। 

उहाँले हरेक क्षेत्रको कानुन बनाएर मानव अधिकार हनन् हुन नदिन सरकार प्रतिबद्ध भएर लाग्नुपर्ने बताउनु भयो । उहाँले भन्नुभयो, ‘कुनै पनि किसिमले मानव अधिकार हनन् नहोस् भनेर व्यवसायीले पनि जिम्मेवार हुनुपर्छ । उनीहरूले पनि मानव अधिकारको सम्मान गर्नु पर्‍यो । कानुन बमोजिम गर्नुपर्‍यो । कानुनभन्दा बाहिर जानु भएन। मानव अधिकार हनन् हुन नदिन मानव अधिकारबादीहरुले पनि खबरदारी गर्नु पर्‍यो ।’

अध्यक्ष मगरले उपभोक्ताको मानव अधिकार हनन् हुन नदिनका लागि सरकारले आवश्यक नीतिगत र कानुनी व्यवस्था गर्न ढिलाइ गर्न नहुने दोहोर्‍याउनु भयो । उहाँले व्यवसायीले मानव अधिकारको सम्मान नगरे कारबाही हुने कानुनी प्रबन्ध रहेको पनि स्मरण गराउनु भयो।