• १३ असोज २०८१, आइतबार

सचिवालयका कर्मचारीको सेवा सुविधा बढाउने अवस्था छैन : अध्यक्ष तिमिल्सिना

blog

राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना । फाइल तस्बिर

काठमाडौं, मङ्सिर २७ गते । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले संसद् सचिवालयका कर्मचारीहरूको सेवा सुविधा बढाउने अवस्था नरहेको स्पष्ट पार्नु भएको छ ।

संसद् सचिवालयका कर्मचारीहरूले आफ्नो सेवा सुविधा वृद्धि गर्न माग गरिरहेका बेला अध्यक्ष तिमिल्सिनाको यस्तो भनाइ बाहिर आएको हो ।

संसद् सेवा दिवसको अवसर पारेर मङ्गलबार काठमाडौंमा आयोजित एक कार्यक्रममा आफ्नो धारणा राख्नुहुँदै उहाँले मुलुकको आर्थिक अवस्थामा सुधार नआई संसद् सचिवालयका लागि बजेट बढाउन नमिल्ने स्पष्ट पार्नुभयो ।

अध्यक्ष तिमिल्सिनाले जनताको आर्थिक अवस्था कमजोर भएको बेला कर्मचारीहरूले आफ्नो सुविधा थप गर्न माग गर्न नहुनेतर्फ पनि सचेत गराउनुभयो । देशको आर्थिक अवस्थामा सुधार आएपछि ती विषयहरूलाई सम्बोधन गर्न जोड दिने उहाँले आश्वासन थियो ।

अध्यक्ष तिमिल्सिनाले सांसदहरूको सुविधा बढाउनुपर्ने विषय पनि उठान हुने गरेको उल्लेख गर्नुहुँदै अहिले त्यस विषयमा ध्यान दिन नसकिने बताउनुभयो ।

‘‘संसद् सचिवालयका कर्मचारीहरूको सेवा, सुविधा बढाउने ठाउँ छैन । अतिरिक्त काम गरेकोमा भत्ता दिऊ, अलिकति बढाऔँ भन्यो भने जनता के भएका छन् भन्ने आइराखेको अवस्था छ । देशको आर्थिक अवस्था सुधार हुँदै जाँदा ती अपेक्षाहरू पनि पूरा हुने हुन ।,’’ उहाँले थप्दै भन्नुभयो,  ‘‘अन्यथा संसदमा गर्नुपर्ने धेरै खर्च व्यवस्थापन गर्नका लागि, यसले राम्रो काम गर्नका लागि धेरै चिज छ । समितिको तर्फबाट बाहिर फिल्डमा जाँदा सांसदहरूलाई सुविधा बढाउनुपर्ने अवस्था छ । यस्तो स्थितिमा हामी अहिले छौँ । त्यसकारण देशको आर्थिक विकास र समृद्धितिर जाँदा मात्रै यी कुराहरूलाई जोड दिन सक्छौँ ।’’

अध्यक्ष तिमिल्सिनाले संसद्को काम कारबाहीबारे वस्तुनिष्ठ समीक्षा गर्दै अघि बढ्नुपर्ने आवश्यकता समेत औँल्याउनु भयो ।

कार्यक्रममा पूर्वसभामुख तारानाथ रानाभाटले संसद् अझै पनि सरकार र कर्मचारीतन्त्रको अपहेलनाबाट मुक्त हुन नसक्दा मुलुकमा प्रजातन्त्र कमजोर हुन पुगेको बताउनुभयो । उहाँले संसद् सचिवालयलाई स्वायत्त निकाय बनाए पनि त्यसले जनताको सार्वभौम निकायको रूपमा काम गर्ने क्षमताको विकास गर्न नसकेको गुनासो गर्नुभयो ।

‘‘संसद् जहिले पनि कार्यकारिणी र कर्मचारीतन्त्रबाट डोमिनेट हुनुपर्ने अवस्थाबाट प्रजातन्त्रले अग्रगामी स्वरूप लिन सक्दैन र आफ्नो उद्देश्य हासिल गर्न सक्दैन भनेर हामीले छलफल सुरु गर्‍यौँ । तितो अनुभवहरू छन् । समितिमा यसलाई स्वायत्त निकाय बनाउनु पर्‍यो भनेर छलफल गर्दा मन्त्रीहरूसँग भएका तिता बहसहरू भएको थियो । त्यसबाट यसलाई स्वायत्त निकायको रूपमा विकास गर्न सकियो ।,’’ पूर्वसभामुख रानाभाटले थप्दै भन्नुभयो, ‘‘यसमा मेरो पनि योगदान भएकाले गौरवको अनुभूति गर्दछु । यदि संसद् कमजोर भइदियो भने मुलुक कमजोर भएर जान्छ । मलाई अन्यथा नलिनुहोला । २०४८ सालदेखि अहिलेसम्मको अनुभव हेर्दा हामी अझै परिपक्व प्रजातन्त्र हुन सकेका छैनौँ । संसद् कमजोर छ ।’’

पूर्वसभामुख रानाभाटले संसदलाई कमजोर हुन नदिए मात्रै मुलुकमा प्रजातान्त्रिक शासन व्यवस्था मजबुत भएर जाने स्मरण गराउनुभयो ।