• १३ असोज २०८१, आइतबार

रोनाल्डोका लागि बिर्सनलायक विश्वकप

blog

दोहा, मङ्सिर २७ गते । पोर्चुगलका सुपरस्टार स्ट्राइकर क्रिस्टियानो रोनाल्डोले सोमबार आफ्नो विश्वकप फुटबल प्रतियोगिताको उपाधि जित्ने सपना समाप्त भएको बताउनुभएको छ। ३७ वर्षीय रोनाल्डोले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासबारे भने बोल्नुभएन। विश्वकपको क्वाटरफाइनलमा शनिबार पोर्चुगल अफ्रिकी टिम मोरक्कोसँग १–० ले पराजित भएपछि रोनाल्डोले आँसु झार्दै मैदान छोड्नुभएको थियो। त्यसपछि रोनाल्डोको फुटबल जीवन सकिएको हो ? भन्ने बहस चलिरहेको छ।

यसबीच १९ वर्ष पोर्चुगलको राष्ट्रिय टिमको सेवा गरिसक्नुभएका रोनाल्डोले अहिले पनि पोर्चुगलका लागि आफ्नो समर्पण उस्तै रहेको बताउनुभयो। उहाँ भन्नुहुन्छ, “मेरो सबभन्दा ठूलो सपना  पोर्चुगललाई विश्वकपको सर्वश्रेष्ठ फुटबल टिमका रूपमा हेर्नु हो। मैले १६ वर्षमा पाँच विश्वकप खेलेँ। हरेक पटक मैले आफ्नो शतप्रतिशत दिने प्रयास गरेँ। लडाइँबाट भाग्ने मेरो स्वभाव छैन। मैले विश्वकप जित्ने सपना पूरा गर्न कहिलै हार मानिनँ। मेरो सपना सुन्दर थियो तर हिजो विश्वकप जित्ने मेरो सपना समाप्त भएको छ।” 

उहाँले विश्वकपमा आफ्नो अन्तिम खेलपछि पोर्चुगलका समर्थक र आयोजक कतारलाई पनि धन्यवाद दिनुभयो। म भाग्यमानी छु, पोर्चुगेली जनताबाट सधैँ अपार माया र समर्थन पाएँ, उहाँको भनाइ छ। रोनाल्डो र लियोनेल मेसीबीच सर्वश्रेष्ठ खेलाडीको प्रतिस्पर्धाले विश्व फुटबलको छवि अझ उच्च भएको थियो। यी दुई खेलाडीबीच श्रेष्ठताको बहस भएको एक दशकभन्दा बढी भइसकेको छ तर यस पटकको विश्वकपमा मेसीको चमक कायम रहेको छ भने रोनाल्डो प्रदर्शनको हिसाबमा यस पटक पछि पर्नुभयो। त्यसैले रोनाल्डोका लागि कतार विश्वकप बिर्सनलायक बन्यो।

करिब दुई दशक विश्वकप फुटबलमा राज गरेका रोनाल्डोको फुटबल जीवन अहिले ओरालो लाग्दैछ। विश्वकपकै समयमा म्यान्चेस्टर युनाइटेडले रोनाल्डोसँगको सम्झौता रद्ध ग¥यो। त्यसैले अहिले रोनाल्डो क्लबविहीन छन्। अर्को विश्वकप सन् २०२६ मा अमेरिका, क्यानडा र मेक्सिकोमा संयुक्त रूपमा आयोजना हुनेछ। सो समयमा रोनाल्डो ४१ वर्षको हुनुहुनेछ। त्यसैले रोनाल्डोको मोरक्कोविरुद्धको खेल नै अन्तिम विश्वकप भएको छ। यद्यपि सन् २०२४ मा हुने अर्को प्रमुख प्रतियोगिता युरोपेली च्याम्पियनसिपमा रोनाल्डोले खेल्ने–नखेल्नेबारे अहिले नै भन्न सक्ने स्थिति छैन। 

पोर्चुगलकै पेपेले ३९ वर्षको उमेरमा कतार विश्वकप खेल्नुभयो। त्यसैले रोनाल्डोले अर्को एउटा युरोपेली च्याम्पियनसिप खेलेमा त्यो आश्चर्यको विषय हुने छैन तर यसका लागि रोनाल्डोले आफ्नो पुरानो लयलाई भने फर्काउनुपर्नेछ। रोनाल्डो ११८ गोलसहित विश्वकै सर्वाधिक अन्तर्राष्ट्रिय गोल गर्ने खेलाडी हुनुहुन्छ। यस पटक रोनाल्डो पाँच विश्वकप फुटबल प्रतियोगितामा गोल गर्ने विश्वका पहिलो पुरुष खेलाडी बन्नुभयो। रोनाल्डोले विश्वकपमा कूल आठ गोल गर्नुभको छ। उहाँले पहिलो पटक सन् २००६ मा भएको विश्वकपमा खेल्नुभएको थियो। सो संस्करणमा उहाँले समूह चरणमा इरानविरुद्ध पेनाल्टीमा नै गोल गरेर विश्वकपमा आफ्नो गोलको खाता खोल्नुभएको हो। सन् २०१० मा दक्षिण अफ्रिका र सन् २०१४ मा ब्राजिलमा भएको विश्वकपमा पनि रोनाल्डोबाट एक–एक गोल आएको थियो। चार वर्षअघि रुसमा भएको विश्वकपमा रोनाल्डोले चार गोल गर्नुभएको थियो।

कतार विश्वकपमा पोर्चुगलले पहिलो खेलमा घानालाई ३–२ ले हराएको खेलमा रोनाल्डोले गोल गर्नुभएको थियो। त्यसपछि बाँकीका खेलमा भने रोनाल्डोबाट गोल आएन। नकआउटका दुई खेलमा रोनाल्डो स्थानापन्न्न खेलाडीका रूपमा मात्र मैदान छिर्नुभएको थियो। करिब दुई दशक पोर्चुगलको भाग्य रोनाल्डोमै भर प¥यो तर कतार विश्वकपले रोनाल्डोको खेल जीवन सकिएको सङ्केत गरेको छ। एजेन्सी