• २२ वैशाख २०८१, शनिबार

एमडीबाट एमबीबीएसमा घटुवा

blog

काठमाडौँ, मङ्सिर २७ गते । विश्वविद्यालय तथा अध्ययन प्रतिष्ठानहरूले मात्रै प्रदान गर्नसक्ने चिकित्साशास्त्रअन्तर्गत डक्टर अफ मेडिसिन (एमडी)को प्रमाणपत्र नेपाली विद्यार्थीले फिलिपिन्सको तालिम केन्द्रबाटै ल्याउने गरेको पाइएको छ। 

त्यस्ता तालिम केन्द्रबाट विगतमा हासिल गरेको प्रमाणपत्रको समकक्षता रद्द गर्ने र अबदेखि समकक्षता नदिने निर्णय त्रिभुवन विश्वविद्यालयले गरेको छ। विदेशमा पढेर आर्जेको प्रमाणपत्रलाई स्वदेशमा त्रिविअन्तर्गत रहेको पाठ्यक्रम विकास केन्द्रले समकक्षता दिँदै आएको छ। केन्द्रका निर्देशक प्राध्यापक डा. पारसनाथ यादवले भन्नुभयो, “विगतमा तालिम केन्द्रबाट प्राप्त प्रमाणपत्रलाई दिइएको समकक्षता पनि रद्द गर्ने निर्णय गरिएको छ।”

ती तालिम केन्द्र सरकारी मान्यताको हो कि होइन भन्ने विषयमा जान्न त्रिविले परराष्ट्र मन्त्रालयमार्फत फिलिपिन्स सरकारलाई पत्राचार गरेको थियो तर दुई पटकसम्म पत्र पठाइएको भए पनि जवाफ नआएपछि समकक्षता रद्द गर्ने निर्णय गरिएको यादवले जानकारी दिनुभयो। 

यादवका अनुसार विगतमा समकक्षता लिएका यस्ता विद्यार्थी कति छन् भन्ने विषयमा यकिन तथ्याङ्क पाठ्यक्रम विकास केन्द्रसँग छैन तर ५० जनाको हाराहारीमा रहेको हुनसक्ने उहाँको अनुमान छ। समकक्ष तालिम सम्बन्धित विद्यार्थीले त्रिविमा पेस गरेको प्रमाणपत्रमा विश्वविद्यालयका उपकुलपति र शिक्षाध्यक्षको हस्ताक्षर नदेखेपछि त्रिविले २०७५ सालमै शङ्का गरेको थियो। 

सोही बेलादेखि नै समकक्षताका लागि निवेदन दिएकाबारे निर्णय नगरी केन्द्रले अध्ययन गरिरहेको थियो। यादवले भन्नुभयो, “अध्ययन गर्दै जाँदा निवेदन दिएकालाई समकक्षता दिनेभन्दा पनि पुरानाको समकक्षता पनि रद्द गर्नुपर्ने अवस्था आयो। समकक्षता रद्द गर्ने निर्णयसँगै हाम्रो रेकर्डमा ती विद्यार्थीको शैक्षिक योग्यता एमबीबीएसमा मात्रै रहेको छ।”

चिकित्साशास्त्रमा एमडी अध्ययनका लागि स्वदेशमा सीमित कोटा हुने भएका कारण नेपाली विद्यार्थी विदेशी शैक्षिक संस्थामा भर्ना हुने गरेका छन्। यस्ता संस्थामा भर्ना भएपछि नेपालको तुलनामा पढ्न पनि सजिलो भएका कारण विद्यार्थी त्यतातिर आकर्षित भएको हुनसक्ने त्रिविको अनुमान छ। 

विदेशी विश्वविद्यालय तथा शैक्षिक संस्थाबाट अध्ययन पूरा गरेका विद्यार्थीले स्वदेश फर्केर त्रिवि तथा अन्य सरकारी कार्यालयमा रोजगारीमा लाग्नुअघि आफ्नो शैक्षिक योग्यतालाई त्रिविबाट समकक्षता लिएर प्रमाणित गर्नुपर्छ तर त्रिविबाट समकक्षता लिए पनि नलिए पनि निजी क्षेत्रको स्वास्थ्य संस्थामा ‘मेडिकल प्राक्टिस’ गर्न भने नरोकिने नेपाल मेडिकल काउन्सिलले जनाएको छ। 

काउन्सिलका रजिस्ट्रार डा. कृष्णप्रसाद अधिकारीले भन्नुभयो, “स्वदेश विदेश जहाँ पढेर आएको भए पनि प्रमाणपत्र देखाएर काउन्सिलको परीक्षामा उत्तीर्ण भएका व्यक्तिलाई काम गर्न रोक लाग्दैन। समकक्षतासँग हाम्रो सरोकार रहँदैन।”

   

Author
सूर्यप्रसाद पाण्डे

उहाँ शिक्षा र समसामयिक विषयमा रिपोर्टिङ गर्नुहुन्छ ।