• १२ साउन २०८१, शनिबार

फिदिम नगरपालिकमा जग्गा वर्गीकरण

blog

फिदिम नगरपालिका क्षेत्र । तस्विर – नारायण तुम्बापो

नारायण तुम्बापो 

फिदिम, मङ्सिर २६ गते । भूमिको सुरक्षित र दिगो व्यवस्थापन गर्ने राष्ट्रिय लक्ष्यअनुसार पाँचथर फिदिम नगरपालिकाको जग्गा वर्गीकरण गरिएको छ । १४ वडामा विभाजित १९२.५० वर्ग किलोमिटर क्षेत्रफल रहेको फिदिमको कृषि र गैरकृषि क्षेत्र छुट्टाएर भूमि वर्गीकरण गरिएको हो ।  

राष्ट्रिय भूउपयोग नीतिको आधारमा फिदिम नपाले जग्गा वर्गीकरण गरेको जनाएको छ । नगरको भू–बनौट, भूमिको क्षमता तथा उपयुक्तता र मौजुदा उपयोग र आवश्यकताको आधारमा जग्गाको वर्गीकरण गरिएको उपप्रमुख राधाकृष्ण न्यौपानेले बताउनुभयो ।

यहाँको व्यावसायिक, औद्योगिक, वन, खानी / खनिज, सार्वजनिक क्षेत्र बाहेकका भूभागलाई गैरकृषि क्षेत्रको रूपमा तोकिएको छ । त्यसैगरी नदी / खोला / सिमसार, सांस्कृतिक / पुरातात्त्विक, पर्यटकीय गन्तव्य र जोखिम क्षेत्रलाई पनि गैर कृषि क्षेत्र मानेर बाँकी भूमि खेतीयोग्यको रूपमा छुट्टाइएको हो । 

वडागत हिसाबले कृषि र गैर कृषि क्षेत्र छुट्टाइएको हो । उपप्रमुख न्यौपानेको संयोजकत्वमा बनेको जग्गा वर्गीकरण कार्यदलले नगरपालिकाको भू–उपयोगको योजनासमेत तय गर्दै भूमि वर्गीकरण गरेको हो ।

सहजकर्ताको रूपमा मालपोत कार्यालय पाँचथरका निवर्तमान प्रमुख बाबुराम पोख्रेलसमेत सदस्य रहनु भएको कार्यदलले भू–उपयोगको सीमा र सर्तहरूको पनि व्यवस्था गरेको जनाइएको छ । कार्यदलबाट पेस भएर नगर प्रमुख मित्रप्रसाद काफ्ले नेतृत्वको भू–उपयोग परिवदबाट जग्गा वर्गीकरण योजना नीतिगत रूपमा पास भएको उपप्रमुख न्यौपानेले सुनाउनुभयो ।

भूमिको क्षेत्रगत हिसाबले नापी कार्यालयबाट सीमाङ्कन र नक्साङ्कन भएपछि वर्गीकरण प्रक्रियाले प्राविधिक रूपमा पूर्णता पाउने कार्यदल सदस्य बाबुरामले बताउनुभयो ।