• १० मंसिर २०८१, सोमबार

गाईको आहार व्यवस्थापनका लागि सहयोग

blog

रमेश विश्वकर्मा 

गुल्मी, मङ्सिर २६ गते । रेसुङ्गा गौशालामा रहेका गाईको आहार व्यवस्थापनका लागि घाँससहितका विभिन्न सामग्री सहयोग गरिएको छ । गुल्मी जिल्लाको ऐतिहासिक, धार्मिक, पौराणिक, सिद्धभूमि तथा अमृतभूमिको रूपमा परिचित रेसुङ्गा गौशालाको लागि अर्घाखाँचीका दाताले घाँस, नुन, तेलसहित आर्थिक सहयोग गरेको रेसुङ्गा संरक्षण समितिका अध्यक्ष सुरेशचन्द्र भुसालले जानकारी दिनुभयो । 

अध्यक्ष भुसालका अनुसार अर्घाखाँचीको छत्रदेव गाउँपालिका–७, डाँडाखर्ककी खेता पाण्डेले २२ हजार ५०० रुपियाँ बराबरको घाँस, आटा, नुन, तेललगायतका आवश्यक सामग्री सहयोग गर्नुभयो । 

यस्तै, छत्रदेव गाउँपालिका–७ काउले सागबारीका गोविन्दप्रसाद पाण्डेले १७ हजार रुपियाँ बराबरको एक ट्याक्टर घाँस सहयोग गर्नुभयो । उहाँले गतवर्ष पनि घाँस उपलब्ध गराई सहयोग गर्नुभएको थियो । 

मालारानी गाउँपालिका–२ डाँडाकटेरी निवासी गिरीप्रसाद भुसालको परिवारले नगद तीन हजार ३१० रुपियाँसहित घाँस, पिठो, नुन, तेल गौशालाको संरक्षण समितिलाई हस्तान्तरण गर्नुभयो । 

त्यस अवसरमा रेसुङ्गा संरक्षण समितिका अध्यक्ष सुरेशचन्द्र भुसालले आर्थिक तथा गाईका लागि आहार व्यवस्थापन गर्न सहयोग गरेको भन्दै धन्यवाद ज्ञापन गर्नुभयो । 

“सकेसम्म सबैले घर–घरमा गाई पालौँ । सकिँदैन भने दैनिक गाईका लागि मुष्ठिदान गरेर खाने बानी बसालौँ ।” उहाँले भन्नुभयो,–“यसबाट सुख, शान्ति र समृद्धि प्राप्त हुनुका साथै मनोकाङ्क्षा पूरा हुन्छ भन्ने मान्यता छ ।” 

अध्यक्ष भुसालले रेसुङ्गा गौशालामा अहिले १५० भन्दा बढी गाईको संरक्षण गरिएको बताउनुभयो ।