• १२ मंसिर २०८१, बुधबार

मर्मत नहुँदा ३ वर्षदेखि बन्द लिफ्ट सिँचाइ

blog

कपिलवस्तुको बुद्धभूमि नगरपालिका ९ मा रहेको गुडरुङ लिफ्ट सिँचाई । तस्बिर –जानु पाण्डे

जानु पाण्डे 

कपिलवस्तु, मङसिर २६ गते । निर्माण सम्पन्न भएपछि रेखदेख नहुँदा कपिलवस्तुको बुद्धभूमि नगरपालिका वडा नम्बर ९ गुडरुङ खोला लिफ्ट सिँचाइ योजना ३ वर्ष देखि बन्द भएको छ । बुद्धभूमि नगरपालिका तथा लुम्बिनी प्रदेश सरकारले चासो नदिँदा निर्माण सम्पन्न भएको योजनामा क्षति पुगेको छ ।

नगरपालिकाको वडा नम्बर ८ र ९ का करिव ५०० बिघा खेतीयोग्य जमिनलाई सिँचाइ गर्न पुग्ने योजनामा क्षति हुँदा कृषकला महँगो इन्धन खर्च गरी पम्पसेटबाट सिँचाइ गर्नुपर्ने बाध्यता भएको छ ।

सो योजनामा लुम्बिनी प्रदेश सभा सदस्य नवराज लामिछाने (भुपाल)ले अवलोकन गर्दै रेखदेख नहुँदा केही उपकरणमा क्षति पुगेको बताउनुभयो । उहाँले लिफ्ट सिँचाइ योजनामा मर्मत गरी पुनः सुचारु गर्न सकिने भएकाले सञ्चालनका लागि पहल गर्नेमा जोड दिने स्पष्ट पार्नुभएको छ । सिँचाइ योजनामा विद्युतीय सप्लाईका उपकरणमा क्षति पुगेको, विद्युतको पोल ढलेको अवस्थामा रहेको बताउनुभयो । 

करोडौँको लागतमा लिफ्ट सिँचाइ योजना निर्माण हुँदा पनि जिम्मेवार निकायले अपनत्व नलिँदा कृषकहरुले सास्ती खानुपरेको वीरप्रकाश यादवले बताउनुभयो । सो सिँचाई योजना २०७३ सालमा निर्माण सम्पन्न भएको थियो । आयोजना सञ्चालन नहुँदा विद्युतको रकम समेत तिर्न बाँकी रहेको स्रोतले बताएको छ । ३ वर्षसम्म करोड बढीको योजना अलपत्र हुँदा सरोकारवाला निकाय मौन छ ।