• १२ साउन २०८१, शनिबार

करोडभन्दा बढीको लगानीमा आधुनिक कुखुरापालन

blog

आधुनिक लेयर्स कुखुरापालन गर्दै कृषक ।

जानु पाण्डे

कपिलवस्तु, मङ्सिर २६ गते । कपिलवस्तु शिवराज नगरपालिका ४ वसन्तपुरका युवराज अधिकारी लेयर्स कुखुरा पालन गरेर मनग्य आम्दानी लिन सफल हुनुभएको छ । एक दशक अघिदेखि कुखुरा पालन गर्दै आएका अधिकारीले वैदेशिक रोजगार त्यागेर कृषि पेसा अँगाल्नुभएको थियो ।

वैदेशिक रोजगारीबाट फर्किएका साथीहरुको सल्लाह लिएर कुखुरापालन गर्न आग्रह गरेपछि विदेश जाने तयारी त्यागेर कुखुरा पाल्न सुरु गर्नुभएको थियो । 

‘विदेशको कमाइले बचत नहुने देखिएपछि स्वदेशमा केही गरौँ भनेर लेयर्स पालनतर्फ लागेको थिएँ । म ३० वर्ष हुँदा व्यवसाय सुरु गरेको थिएँ । सुरुमा प्राविधिक सहयोग नपाउँदा युट्युबको भिडियो हेर्दै तीन सय कुखुरा पालेर व्यवसायको सुरुवात गरेको थिएँ ।

सुरुमा २ लाख रकम लगानी गरी कुखुरा पालेको’ अधिकारीले बताउनुभयो । आधुनिक प्रविधि प्रयोग गर्ने उद्देश्यपछि भारत पुगेर खोर निर्माण विज्ञको सहयोग लिई प्रविधिको प्रयोग गरिएको बताउनुभयो । 

फर्ममा उत्पादन भएका अण्डा स्थानीय बजार र नजिकका जिल्लामा खपत हुने बताइएको छ । सुरुमा लगानी बढी भए पनि त्यसबाट मुनाफा धेरै हुने उहाँको भनाइ छ । लेयर्स कुखुरालाई आवश्यक पर्ने दानासमेत उहाँले आफैँ उत्पादन गर्दै आउनुभएको छ । सप्लार्यससँग खरिद गरेको दाना महँगो पर्ने भएकाले उत्पादन लागत बढी हुने अधिकारीको भनाइ छ । 

पहिलो ६ महिना चल्ला हुर्किने र बाँकी डेढ वर्षसम्म अण्डा उत्पादन गर्न सकिन्छ । कुखुराको मल माछाको दाना र खेतबारीमा मलको रुपमा प्रयोग हुने हुँदा सहजै बिक्री हुने गरेको छ । अण्डा दिन छाडेपछि मासुको रुपमा बिक्री हुने हुँदा अन्य कुखुरा पालनभन्दा मुनाफा धेरै हुने बताइएको छ ।

हाल ५ हजार कुखुरा आधुनिक खोरमा पालिएको छ । दाना पानी दिने अण्डा संकलन गर्ने सबै काम अटोमेटिक हुने बताइएको छ । हालसम्म अधिकारीले डेढ करोडभन्दा बढीको लगानी गर्नुभएको छ ।