• १२ पुस २०८१, शुक्रबार

निः सन्तान समस्या महिला र पुरुष दुवैमा हुन्छ : डा. रिजाल

blog

काठमाडौँ, मङ्सिर २५ गते । वरिष्ठ स्त्रीरोग विशेषज्ञ डा.भोला रिजालका अनुसार निः सन्तानको समस्या महिला र पुरुष दुवैमा बराबर हुन्छ । उहाँ भन्नुहुन्छ, “हाम्रो समाजमा महिलाका कारणले बच्चा भएन भनेर विभेद गरेको देख्न सकिन्छ । तर अध्ययनले सन्तान नहुनुमा महिला र पुरुष दुवैमा हुने समस्या बराबर रहेको पुष्टि गरेको छ ।’’ बच्चा नहुने समस्यामा ३३ प्रतिशत महिला, ३३ प्रतिशत पुरुष जिम्मेवार हुन्छन् । उहाँका अनुसार ३४ प्रतिशत अन्य कारणले असर गर्ने अध्ययनले देखाएको छ । डा. रिजालका अनुसार कुनै पनि सम्पत्तिसँगै बसेको एक वर्ष वा सोभन्दा बढी समयसम्म सन्तान नभएमा त्यस्ता दम्पतीलाई निःसन्तान भन्ने गरिन्छ । 

 सन्तान नहुनुका कारण 

डा. रिजालका अनुसार पुरुषमा यौन इच्छाको कमी, यौनशक्तिको कमी, वीर्य स्खलन नहुने, वीर्यमा शुक्राणुको  कमी वा शुक्राणु नहुने समस्याले गर्दा पुरुषको कारणले निःसन्तान हुने गर्छ । महिलामा डिम्बाशय नलीको बन्द हुने, डिम्बा ननिस्कने, नलीमा खराबी हुने, जन्मजात नै पाठेघरमा खराबीले गर्दा सन्तान नहुने उहाँको भनाइ छ ।

पछिल्लो समय जीवनशैली, मानसिक समस्या र धेरै युवा वैदेशिक रोजगारीमा गएकाले यो समस्या बढ्दै गएको डा. रिजाल बताउनुहुन्छ । अन्य देशको तुलनामा नेपालमा यो समस्या धेरै देखिएको उहाँको भनाइ छ । उहाँ भन्नुहुन्छ, ‘‘अन्दाजी ६० लाख युवा वैदेशिक रोजगारीमा गएका छन् । यसले यो समस्या नेपालमा दिन प्रतिदिन  बढ्दै गएको छ ।”

यस्तो समस्या भएका दम्पतीमा समस्या पत्ता लगाएर उपचार सम्भव भएको डा.रिजाल बताउनुहुन्छ । उहाँका अनुसार सय निः सन्तान भएमा दम्पती उपचारमा आएकोमा ८५ जनाको उपचारपछि बच्चा हुन्छ । बाँकी १५ जनामा समस्या देखिन्छ । उनीहरूलाई इन भिट्रो फर्टिलाइजेसन (आईभिएफ) प्रजनन समस्या भएका मानिसलाई बच्चा जन्माउन मद्दत गर्ने प्रविधिमार्फत उपचार सम्भव भएको डा. रिजाल बताउनुहुन्छ । नेपालमा यसको उपचार अन्तर्राष्ट्रिय स्तरको भएकोले विदेशबाट पनि सेवा लिन आउनेको सङ्ख्या बढ्दो भएको डा. रिजालको भनाइ छ । 

निःसन्तानको कारण र समाधान र उपचारमा केन्द्रित भएर गोरखापत्र अनलाइनका लागि सिर्जना खत्री, मनोजरत्न शाही र केशब गुरुङले वरिष्ठ स्त्रीरोग विशेषज्ञ डा. भोला रिजालसँग गर्नुभएको कुराकानीको आधारमा तयार पारिएको भिडियो सामग्री : 



Author
सिर्जना खत्री

उहाँ स्वास्थ्य विषयमा रिपोर्टिङ गर्नुहुन्छ ।