• १४ मंसिर २०८१, शुक्रबार

६० सिटको कमान्ड माओवादीले गर्नेछ: अध्यक्ष प्रचण्ड

blog

प्रेस सेन्टर, नेपालको केन्द्रीय पदाधिकारी बैठकलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्ड

गोरखापत्र अनलाइन

काठमाडौं, मङ्सिर २५ गते । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सत्ता गठबन्धनले निरन्तरता पाउने बत्ताउनुभएको छ । आइतबार प्रेस सेन्टर, नेपालको केन्द्रीय पदाधिकारी बैठकलाई सम्बोधन गर्दै उहाँले प्रतिक्रियावादीहरूको षड्यन्त्र असफल पार्न सत्ता गठबन्धन सक्षम भएको बताउनुहुँदै सो कुरा बताउनुभएको हो ।

प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनले जनयुद्ध र जनआन्दोलनको उपलब्धिलाई रक्षा गर्दै संविधानलाई संस्थागत भएकाले पाँच वर्षसम्म सत्ता गठबन्धनले निरन्तरता पाउने कुरामा आफू विश्वस्त रहेको बत्ताउनुभयो । 

‘‘अब पाँच वर्षसम्म यो गठबन्धनलाई कसैले पनि टुटाउन सक्दैन, यो संविधान  क्रियान्वयन हुँदै जनताको आकाङ्क्षा पूरा गर्ने दिशातर्फ, विकास र समृद्धिको साथै सम्पूर्ण जनताको अधिकारलाई प्रत्याभूत गर्न सक्नेछौँ ।’’ 

नेपालको राष्ट्रिय राजनीतिको चाबी माओवादी केन्द्रसँग भएको बताउनुहुँदै उहाँले खुलासा गर्नुभयो, ‘‘सरकारमा आलोपालो हुने भन्ने कुरा स्पष्ट नै छ, विभिन्न राजनीतिक पार्टीहरूको ६० सिटको कमान्ड गर्ने स्थिति माओवादीसँग छ । हामी जहाँ उभिएका छौँ, सरकार त्यहीँ बन्छ, ’’ उहाँले जोड दिएर भन्नुभयो,  ‘‘दुई ठूला दलको सरकार बन्ने  विषयमा सार्वजनिक भएका छन्, त्यसरी बन्यो भने पनि माओवादीलाई सडक र सदनको माध्यमबाट जनतासँग एकाकार हुन सजिलो हुन्छ ।’’ 

अध्यक्ष प्रचण्डले विभिन्न षड्यन्त्रहरू भएकाले आशा गरे अनुरूप गठबन्धन र आफ्नो पार्टीको विजय नभएको दाबी गर्नुभयो ।

उहाँले माओवादी पहिचानको सङ्कट चुलिँदै गएकाले जीवनशैली, व्यवहारलाई परिवर्तन गरी विगतको क्रान्तिकारी चरित्रलाई पुनः सुधार्न जरुरी रहेको बताउनुभयो ।

लोकतन्त्र, राष्ट्रियता, सङ्घीयता, समानुपातिकता र समावेशिताको मुद्दालाई नयाँ शिराबाट उठाउन पर्नेमा जोड दिनुहुँदै उहाँले अहिलेको सूचना युगको विश्वमा पत्रकारहरू पनि सोही ढङ्गले लाग्नु निर्देशन दिनुभयो ।

उहाँले सामाजिक सञ्जाललाई नयाँ मिडियाको रूपमा परिभाषित गर्नुहुँदै ‘डिजिटल आर्मी’को रूपमा पत्रकारहरूले जनपक्षीय पत्रकारिता अङ्गीकार गर्न आवश्यक रहेको बताउनुभयो । 

उहाँले अन्तर्राष्ट्रिय गतिविधिको राम्रोसँग विश्लेषण गरी अहिलेको जनमतलाई सही ढङ्गले बुझ्न र मुलुकलाई नयाँ शिराबाट लैजान महत्त्वपूर्ण भूमिका खेल्नुपर्नेमा जोड दिनुभयो ।     

बैठकमा प्रेस सेन्टर, नेपालका संस्थापक अध्यक्ष महेश्वर दाहालले प्रविधिको जति विकास भए पनि सही सामग्री उत्पादन प्रधान भएको बताउनुभयो । 

प्रेस सेन्टरका संस्थापक सदस्य तथा गोरखापत्र दैनिकका पूर्व कार्यकारी अध्यक्ष ओम शर्माले पत्रकारहरूले जनता र देशको पक्षमा सधैँ लाग्नुपर्नेमा जोड दिनुभयो । 

केन्द्रीय अध्यक्ष विष्णुप्रसाद सापकोटाको अध्यक्षतामा सम्पन्न सो बैठकमा सबै प्रदेशका संयोजकहरूले प्रेस सेन्टर, नेपालका विविध विषयमा समीक्षात्मक टिप्पणी पेस गर्नुभएको थियो ।