• १३ असोज २०८१, आइतबार

काठमाडौँ उपत्यकाको तापक्रम ६ डिग्री सेल्सियस, चिसो बढ्दो

blog

काठमाडौँ, मङ्सिर २५ गते । आइतबार बिहान काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम ह्वात्तै घटेर ६ डिग्री सेल्सियसमा झर्‍यो । यो साता ११ डिग्रीमा रहेको न्यूनतम तापक्रम ५ डिग्री सेल्सियसले घट्दा अत्यधिक चिसो बढेको छ । आइतबार बिहान जुम्लाको तापक्रम माइनस ४.५ डिग्री सेल्सियस रहेकोसँगै काठमाडौँ उपत्यकासहित देशभर चिसो बढेको छ । 

दिउँसो घाम लागे पनि बिहान र बेलुकाको समयमा अत्यधिक चिसो महसुस हुने गरेको छ । मौसम पूर्वानुमान महाशाखाकाे तथ्याङ्कनुसार तापक्रम घट्दै जाने भएकाले थप चिसो बढ्ने जनाएको छ ।

महाशाखाका अनुसार देशका तराई, पहाड र हिमाली क्षेत्रमा हुस्सु र कुहिरो लाग्न थालेको छ । यो सँगै चिसो पनि बढ्दै जाने भएकाले चिसोबाट जोगिन आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ । 

महाशाखाका अनुसार देशभरको मौसम सामान्यतया सफा छ । आइतबार र सोमबार देशभरको मौसम सफा रहनेछ । मङ्गलवार भने प्रदेश १, मधेस प्रदेश र बागमती प्रदेशमा आंशिक बदली हुने मौसम पूर्वानुमान महाशाखाले जारी गरेको बुलेटिनमा उल्लेख छ ।