• १३ असोज २०८१, आइतबार

हवाई उडान आंशिक खुला

blog

गोरखापत्र समाचारदाता

काठमाडौँ, असोज १३ गते । प्रतिकूल मौसमका कारण शुक्रबारदेखि प्रभावित रहेको हवाई उडान शनिबार दिउँसोदेखि आंशिक सञ्चालनमा आएको छ । अविरल वर्षापछि आएको बाढीका कारण रामेछापको मन्थली विमानस्थल डुबानमा परेको छ । तामाकोशी नदीमा आएको बाढी विमानस्थलको धावनमार्गसम्मै पुगेपछि विमानस्थल जलमग्न भएको छ । विमानस्थलमा तारा एयर, समिट एयर र सीता एयरका एक/एक वटा जहाज पार्किङमा रहेका थिए । नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार शुक्रबार बेलुकादेखि रोक लगाइएको आन्तरिकतर्फको उडान शनिबार दिउँसो १ बजेदेखि आठ वटा विमानस्थलमा सुरु भएको हो ।

प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलले भन्नुभयो, “मौसमको प्रतिकूलता, गन्तव्यमा खराब मौसम, इनरुट समस्या, जहाज बिचबाटै फर्काउनुपर्ने अवस्थाका कारण शुक्रबार बेलुकादेखि आन्तरिकतर्फका सबै उडानमा रोक लगाइएको थियो । शनिबार दिउँसोबाट आठ वटा विमानस्थलमा प्रविधिमा आधारित रहेर हुने उडान सुरु भएको छ भने अन्य विमानस्थलमा लगाइएको रोक यथावत् रहेको छ ।” शनिबार दिउँसो १ बजेदेखि सिमरा, जनकपुर, चन्द्रगढी, विराटनगर, नेपालगन्ज, धनगढी, भैरहवा र पोखरा विमानस्थलमा उडान सञ्चालनमा आएको उहाँले जानकारी दिनुभयो । अन्तर्राष्ट्रियतर्फको उडान भने नियमित रहेको उहाँको भनाइ छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयका अनुसार शुक्रबार आन्तरिकतर्फ कुल १५० उडानमध्ये ३९ वटा मात्र उडान भएका थिए ।