• १४ मंसिर २०८१, शुक्रबार

मध्यपुर थिमि नगरपालिका क्षेत्रको जग्गा वर्गीकरण

blog

काठमाडौँ, मङ्सिर २५ गते । मध्यपुर थिमि नगरपालिकाले नगर क्षेत्रको जग्गालाई आवासीय र व्यावसायिक गरी दुई प्रकारमा वर्गीकरण गर्ने भएको छ। भू–उपयोग नीति र भू–उपयोग ऐनअनुसार नगरपालिकाले जग्गाको वर्गीकरण गरेको हो। नगरपालिकाको भू–उपयोग परिषद्को बिहीबार सम्पन्न बैठकले यस्तो निर्णय गरेको हो। 

बैठकपछि नगरपालिकाले प्रेस विज्ञप्ति जारी गर्दै भू–उपभोग नीति र ऐनअनुसार जग्गाको वर्गीकरण गर्ने जनाएको छ। भू–उपयोग नियमावलीमा उल्लेख गरिएको मापदण्डअनुसार नगरपालिकाले जग्गाको वर्गीकरण गर्न लागेको हो। नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत विजयराज सुवेदीले भू–उपयोग नियमावलीमा व्यावसायिक र आवासीय जग्गाको मापदण्डअनुसार नै जग्गाको वर्गीकरण गरिएको बताउनुभयो। उक्त भू–उपयोग नियमावलीमा कृषि क्षेत्रको रेखदेख, भण्डारण तथा प्रशोधन, पशुपालन तथा उद्योग कलकारखाना सञ्चालनको प्रयोजनबाहेक नागरिक आवासका रूपमा प्रयोग भएको भवन, घरटहरा वा सो भएको जग्गालाई आवासीय क्षेत्रका रूपमा वर्गीकरण गरिएको छ। 

त्यस्तै व्यक्तिगत घर र सोसँग जोडिएको बगैँचा, ग्यारेज आँगनलाई प्रयोग हुने व्यक्तिगत बाटो, आँगन रहेको जग्गा, एकभन्दा धेरै व्यक्ति बसोबास गर्ने अपार्टमेन्ट, बहुतले भवन वा आवासीय फ्ल्याट रहेको जग्गा आवासीय जग्गाका रूपमा उल्लेख गरिएको छ। ग्रामीण क्षेत्रमा बनेको घरआँगन चोक, घरसँगै रहेको करेसाबारी, गोठ, शौचालय,  बगैँचालगायतले चर्चेको जग्गा, बसोबासका लागि आवश्यक आधारभूत पूर्वाधार सडक, विद्युत्, खानेपानी, ढल निकासलगायतको व्यवस्था भएको क्षेत्र एक हजार वर्गमिटरभन्दा सानो कित्तामा रहेको जग्गालाई अवासीय क्षेत्रका रूपमा वर्गीकरण गरिएको छ। 

उक्त नियमावलीमै व्यावसायिक क्षेत्रअन्तर्गत सामूहिक रूपमा वस्तु तथा सेवाको खरिद तथा बिक्री हुने स्थल रहेको घरजग्गा तथा सो प्रयोजनका लागि छुट्याइएको जग्गा, विभिन्न किसिमको व्यापारिक तथा व्यावसायिक मनोरञ्जन स्थल रहेको क्षेत्र, सो प्रयोजनका लागि उपभोग भएको घर रहेको जग्गा व्यावसायिक क्षेत्र भनी उल्लेख गरिएको छ।

त्यस्तै निजी क्षेत्रबाट सञ्चालन गरिएको शिक्षा, स्वास्थ्य, सञ्चार तथा सेवा उपलब्ध गराउने स्थल, कुनै वस्तु तथा यन्त्र, उपकरण मर्मतसम्भार तथा सरसफाइ गरिने स्थल वा भण्डारण गरिएको वा सो प्रयोजनका लागि प्रयोग भएको घरलाई व्यावसायिक क्षेत्र भनेर वर्गीकरण गरिएको छ।