• १४ वैशाख २०८१, शुक्रबार

स्ववियु निर्वाचन

विश्वविद्यालय र विद्यार्थी सङ्गठन जुटे तयारीमा

blog

काठमाडौँ, मङ्सिर २३ गते । त्रिभुवन विश्वविद्यालय (त्रिवि) आगामी फागुनमा हुने स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनको तयारीमा जुटेको छ ।

२०६५ देखि नियमित हुन नसकेको स्ववियु निर्वाचन यस पटक निर्धारित मिति आगामी फागुन १४ गते गर्ने तयारीमा त्रिवि रहेको छ । त्रिवि विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयका निर्देशक पशुपति अधिकारीले सबै निर्वाचन सकिएकाले अब त्रिवि स्ववियु निर्वाचनको तयारीमा लाग्ने बताउनुभयो । उहाँले भन्नुभयो, “सबै निर्वाचन सकिए, अब हामी पनि नियमित हुन नसकेको स्ववियु निर्वाचन गर्ने तयारीमा लाग्छौँ । सबै विद्यार्थी सङ्गठनसँग छलफल गरेर फागुनमा निर्वाचन गर्ने तयारीमा हामी जुट्छाैँ ।”

त्रिवि क्याम्पसमा विगत लामो समयदेखि स्ववियु निर्वाचन हुन सकेको छैन । प्रत्येक दुई/दुई वर्षमा हुने निर्वाचन २०६५ सालयता नियमित हुन सकेको छैन ।

त्रिविले शैक्षिक क्यालेन्डरमै हरेक दुई वर्षमा फागुन १४ गते स्ववियु निर्वाचनको कार्यतालिका राखेर निर्वाचन गराउँदै आएको थियो । २०६५ सम्म नियमित हुँदै आएको निर्वाचन अहिले भने रोेकिएको छ । २०६५ चैत ६ पछि एकै पटक आठ वर्षमा २०७३ चैत १५ गते भएको थियो । त्यति बेला देशभरि त्रिविका ६२ आङ्गिक क्याम्पसमध्ये रत्नराज्य क्याम्पस (आरआर), जनप्रशासन क्याम्पससहित उपत्यकामा नौवटा आङ्गिक र उपत्यकाबाहिर १७ क्याम्पसमा मात्र स्ववियु निर्वाचन भएको थियो ।

यस्तै उपत्यकाका १३ क्याम्पस र उपत्यकाबाहिरका २३ आङ्गिक क्याम्पसमा निर्वाचन हुन सकेको थिएन । त्रिविमा ६२ आङ्गिक र एक हजार ४० सम्बन्धन प्राप्त क्याम्पस छन् । 

खेलकुद निर्देशनालयका निर्देशक अधिकारीले मुलुकमा नयाँ सरकार गठनलगत्तै सरकारको सहयोगमै स्ववियु निर्वाचन गरिने बताउनुभयो । उहाँले भन्नुभयो, “स्ववियु निर्वाचन निर्धारित मितिमा हुनुपर्छ भन्नेमा त्रिवि र सबै विद्यार्थी सङ्गठन रहेका छन् । निर्वाचन गर्नका लागि विद्यार्थी सङ्गठनबीच समेत हामीले छलफल जारी राखेका छाँै ।”

२८ वर्ष उमेरहद र मिश्रित निर्वाचन प्रणाली लागू भएपछि त्रिविका क्याम्पसमा नियमित स्ववियु निर्वाचन भएको छैन । पछिल्लो पटक उमेरहद र मिश्रित निर्वाचन प्रणाली लागू भएपछि पहिलो पटक २०७३ मा आंशिक रूपमा केही क्याम्पसमा मात्र निर्वाचन भएको थियो । त्रिविले स्ववियु निर्वाचन गर्न पटक–पटक पहल गरे पनि हुन सकेको छैन । 

नेपाल विद्यार्थी सङ्घका अध्यक्ष दुजाङ शेर्पाले स्ववियु निर्वाचनको तयारीमा आफूहरू रहेको बताउनुभयो । “हामी फागुनमै स्ववियु निर्वाचन गर्ने तयारीमा छौँ । हाम्रो सङ्गठन र पार्टीका नेता पनि सकारात्मक हुनुहुन्छ,” उहाँले भन्नुभयो, “सबै सङ्गठनको बैठक राखेर स्ववियु निर्वाचन गर्न त्रिविलाई आग्रह गर्छौं ।” उहाँले आफ्नो सङ्गठनको बैठक राखेर स्ववियु निर्वाचनमा जाने निर्णय गर्ने बताउनुभयो । 

अध्यक्ष शेर्पाले आफूहरू त्रिविले तोकेको स्ववियु निर्वाचनको मापदण्ड उमेरहद र निर्वाचन प्रणाली मानेर निर्वाचनमा जान तयार रहेको बताउनुभयो । त्रिविले स्ववियु निर्वाचनका लागि २८ वर्षे उमेरहद र सभापति, सचिव तथा कोषाध्यक्ष प्रत्यक्ष निर्वाचन तथा उपसभापति र सहसचिव समानुपातिक एवं ५० प्रतिशत सदस्य समानुपातिकबाट चयन हुन्छन् । स्ववियु निर्वाचन नहुँदा अहिले त्रिवि सभामा पनि विद्यार्थीको उपस्थिति रहेको छैन । 

अनेरास्ववियु (क्रान्तिकारी)का अध्यक्ष पञ्चा सिंहले प्रमुख विद्यार्थी सङ्गठनका पदाधिकारीसँग स्ववियु निर्वाचन निर्धारित समयमा गर्नका लागि छलफल गरेको बताउनुभयो । उहाँले भन्नुभयो, “विद्यार्थी सङ्गठनका पदाधिकारीसँग छलफल भएको छ, निर्वाचन  गर्न सबै सङ्गठन तयार छन् । यो वर्ष स्ववियु निर्वाचन गर्न सम्भव हुन्छ ।”

अनेरास्ववियुका महासचिव समिक बडालले सबै निर्वाचन सकिएको अवस्थामा अब विद्यार्थी सङ्गठन स्ववियु निर्वाचनमा लाग्ने बताउनुभयो । उहाँले स्ववियु निर्वाचन नहुँदा त्रिविको शैक्षिक क्यालेन्डर अस्तव्यस्त र विद्यार्थीले आफ्नो हकअधिकार प्रयोग गर्न नपाएको बताउनुभयो । उहाँले चाँडै नै सबै विद्यार्थी सङ्गठनसँग छलफल गरेर निर्धारित समयमै स्ववियु निर्वाचन हुनुपर्ने धारणा सार्वजनिक गर्ने बताउनुभयो ।