• १ जेठ २०८१, मङ्गलबार

के हो चासोक तङ्नाम ?

blog

पथरी, मङ्सिर २२ गते । लिम्बू समुदायले महान् चाडको रूपमा मनाउँदै आएको चाड हो चासोक तङ्नाम । चासोक तङ्नाम [न्वागी पूजा] अर्थात् उधौली पूजा पनि भन्ने गरिन्छ । उधौली याममा बालीनाली भित्र्याउने बेलामा यो पर्व सम्पन्न गरिन्छ । चासोक तङ्नामलाई न्वागी पर्व पनि भनिन्छ । चासोक भन्नाले उब्जाइएको नयाँ अन्नबाली चढाउने पूजा हो भने तङ्नाम भनेको पर्व हो ।

लिम्बू भाषामा ‘चासोक’ को अर्थ न्वागी र ‘तङ्नाम’ को अर्थ उत्सव वा चाडपर्व हुन्छ । लिम्बूहरूलाई उनीहरूकै भाषामा याक्थुङ्वा भनेर चिनाउने गरेका छन् । किराँत समुदायअनुसार मानिस, जीवजन्तु तथा चराचुरुङ्गी लेकतिरबाट बेँसीतिर बसाइँ सर्ने समय भएको र अन्नबाली भित्र्याइएको खुसीयालीमा यो पर्व मनाउने गरिन्छ ।

लिम्बू जातिको मुन्धुममा उल्लेख भएअनुसार कृषि युग सुरु हुनु अघि लिम्बूका आदिम पुर्खा सावा येत्हाङले कन्दमूल काँचै खाएर जीवनयापन गर्दथे, जसले गर्दा उनीहरू कुपोषण र अनेक रोगव्याधीको सिकार हुन्थे । यी समस्या समाधानको विकल्प खोजीमा सर्वशक्तिमान् तागेरानिङवाभु माङसँग प्रार्थना गर्दथे । यही प्रार्थनाले गर्दा नै उनीहरूले पेनारमाङदःक [कोदो], परामा [कोदोसँग उम्रने फल्ने], ताक्मारु [घैया], तुम्री [जुनेलो] आदि बीउ बिजन तागेरानिवाभु माङले उपलब्ध गराइदिए ।

यसरी धान र अन्नका बीउ बिजन पाएपछि लिम्बू जातिको आदिम पुर्खा सावायेहाङका चेली सिबेरा एःक्थुम्माले काठको खन्ती, अङ्कुसे आदिको प्रयोग गरी भस्मे फाँडेर बीउ बिजन रोपी छरी अन्न फलाइन् । यसरी छरपोख गरी उब्जाएर खानुभन्दा अगाडि माङहरु [देवीदेवता]लाई चढाउने प्रचलन बसाले, यसैलाई चासोक [न्वागी] पूजा भनियो ।

मनुष्यलाई खेतीपाती सिकाउने देवीका रूपमा येत्हाङका चेला सिबेरा एःक्थुक्मा सिबोरा याभुङगेम्मा हुन् भनी लिम्बू जातिले मान्दछन् । यी नै कथनअनुसार माङहरुलाई अन्नबाली पाकेपछि चढाएर मात्र ग्रहण गर्ने परम्परा रहिआएको पाइन्छ । आफूले लगाएको बालीनाली पाकेपछि माङहरुलाई चढाएपछि खाने र रमाउने चाडको रूपमा लिइएको पाइन्छ । सम्पूर्ण देवीदेवता तथा प्रकृतिको पूजा गर्ने क्रममा तीनराते धार्मिक अनुष्ठान [तङसिङ] पनि गर्ने गरिन्छ ।

आफूले उब्जाएको अन्नबाली देवीदेवतालाई नचढाई खाएमा धुताउने, बौलाउने, रगत छदाउने, कुन्जे सापे बनाउने, सोला हान्ने, जिउ सुकेर जाने, गाँड निस्कने, आँखा दुखाउने [अन्धो बनाउने], कान दुखाउने [बहिरा बनाउने] जस्ता भयावह रोगव्याधिले दुःख पाइने लिम्बू जातिमा विश्वास रहिआएको छ ।

यतिबेला लिम्बू समुदाय बसोबास रहेको माथिल्लो पहाडी क्षेत्रको बारी नै भरि पैयुँ फुलेको छ । यसरी पैयुँ फुलेको समयलाई लिम्बूहरूले उधौली याम [दक्षिणायन] सुरु भएको सङ्केतको रूपमा मान्छन् । उधौली सुरु भएपछि माछा, चराचुरुङ्गी दक्षिणतिर लाग्दछ । खास गरेर जाडो छेक्नलाई यसो गरिएको हो भन्ने गरिन्छ ।

यही समयमा हिमाली भागमा हिउँ पर्ने भएकाले उच्च पहाडी भाग तथा हिमाली भेगको खर्कतिर लगिएको गाईगोठ पनि तल बस्तीतिर झारिने गरिन्छ, जसलाई उद्यौली झारिएको भन्ने गरिन्छ । यिनै गाईगोठलाई हिउँद भरी खेतबारीमा मलजल गराई पुनः वैशाख महिनामा उकालो लगिइन्छ, जसलाई उभौली भन्ने गरिन्छ ।

जुन समयमा खेतबारीमा अन्न लगाउने समय भएको हुन्छ । प्रकृति पूजक लिम्बूहरूले यो समयमा पनि आफूले लगाएको अन्नबाली सप्रियोस् भनी देवीदेवतासँग प्रार्थना गर्ने गर्छ । जसलाई यद्वा पूजा [उभौली पूजा] भन्ने गरिन्छ । र यिनै देवीदेवताको आर्सीवादले फलाएको उब्जाएको अन्नबाली चढाउने पूजालाई चासोक भनेर मान्ने गरिन्छ ।

हरेक वर्ष मङ्सिर पूर्णिमाका दिनबाट सुरु हुने चासोक तङ्नाम [न्वागी पूजा] अर्थात् उधौली सुरु भएको छ । चासोक तङ्नामलाई लिम्बूहरूले परिश्रमको फल खाने उपयुक्त समय मानी ‘तागेरा निङ्वा युमालाई’ चढाएर पूजाअर्चना गरी खाने चलन छ । यो पर्व प्रत्येक वर्ष संसारभरी छरिएर रहेका भूमिपुत्र भेला भएर विशेष पूजाअर्चना गरी मनाउने गरेका छन् ।

यस पर्वको अवसरमा नेपाल, भारत, हङकङ, संयुक्त अधिराज्य, दक्षिण कोरिया, संयुक्त राज्य अमेरिकालगायत मुलुकमा रहेका लिम्बू समुदायले जातीय वेशभूषासहित सांस्कृतिक कार्यक्रम गरी चासोक तङनाम मनाउँछन् ।

राजधानी काठमाडौँसहित पूर्वी नेपालको सङ्खुवासभा, तेह्रथुम, धनकुटा, सुनसरी, मोरङ, इलाम, पाँचथर र ताप्लेजुङलगायतका जिल्लामा रहेका लिम्बू बस्तीमा विभिन्न कार्यक्रम गरी चासोक मनाउने गरिन्छ । सोही अवसरमा लेटाङ याक्थुङ चुम्लुङले प्रत्येक वर्ष चासोक तङ्नामको अवसर पारेर शुभकामना आदानप्रदान गर्दै आएको छ ।