• २० असार २०८१, बिहिबार

भारतीय सीमा नजिक रहेकाे मीरगन्ज पुल पुनः सञ्चालन

blog

भारतीय सीमा नजिक रहेकाे मीरगन्ज पुल

गोकुल पराजुली

विराटनगर, मङ्सिर २१ गते । जोगबनी हुँदै विराटनगरसँग जोडिएको नाकामा रहेको सय वर्षअघि निर्माण भएको पुल एक वर्ष बन्द भएर पुनः सञ्चालनमा आएको छ । भारतको बिहारमा रहेको मीरगन्ज पुल हिजो मंगलबारबाट पुनः सञ्चालनमा आएको हो । 

पुल सञ्चालनमा आएपछि मालवाहक सवारी साधनलाई नेपाल पुग्न सहज भएको छ । यसअघि करिब १२० किलोमिटर लामो बाटो तय गर्दै सुनसरीको भाण्टाबारीबाट नेपाल आउनुपर्ने बाध्यता थियो । 

तेस्रो देशबाट भारतका कोलकत्ता, विशाखापट्नम, मुम्बई, अमहदावाद जस्ता बन्दरगाह आइपुग्ने औद्योगिक कच्चा पदार्थदेखि खाद्यान्नसम्मका वस्तुहरू भारत बिहारको जोगबनी हुँदै विराटनगर भित्रने गर्थे । 

‘करिब १२ महिनापछि मीर गन्ज पुल सञ्चालन गर्न दिन भारतीय पक्ष राजी भएको छ’, मोरङ व्यापार सङ्घका निर्देशक कृष्ण रेग्मीले भन्नुभयो ‘मंगलबार साँझदेखि मालवाहक साधनहरू नेपाल प्रवेश गर्न थालेका छन् । अब आयात व्यापारमा सहजता आउने निश्चित छ ।’ 

नेपाली र भारतीय पक्षका सरोकारवालाबीचको सहमतिमा भारतीय पक्ष पुल खुलाउन सहमत भएको हो । 

मंगलबार भएको छलफलमा भारतका तर्फबाट आइसीपी प्रबन्धक रत्नकर यादव, एसडीएम एस कुमार, एनएच आई उमेश यादव र भाजपा नेता दिलीप झा सहभागी हुनुहुन्थ्यो । 

नेपालका तर्फबाट मोरङ व्यापार सङ्घका विनित सिंहानिया, मनिष मारु, सुशील सुरानालगायतका पदाधिकारीहरू सहभागी भएको निर्देशक रेग्मीले जानकारी दिनुभयो । 

विराटनगरका उद्योगी व्यवसायीले सात वर्षयता मीरगन्ज पुलको समस्या खेप्दै आइरहेका छन् । 

अङ्ग्रेजकै पालामा बनेको झण्डै सय वर्ष पुरानो फलामे पुल भासिने समस्या रहेको छ ।