• १९ असार २०८१, बुधबार

कपिलवस्तु र रुपन्देहीका २४ हजार गाईभैँसीको नस्ल सुधार गरिँदै

blog

कृत्रिम गर्भाधान गरी उन्नत जातको नश्ल सुधार अभिमुखीकरण समाराेह । तस्बिर –जानु पाण्डे

जानु पाण्डे

कपिलवस्तु, मङ्सिर २१ गते । साना दूध उत्पादक किसानको उत्पादन वृद्धि गर्न कपिलवस्तु र रुपन्देहीका २४ हजार गाईभैँसीको नश्ल सुधार गरिने भएको छ । कपिलवस्तुको बाणगंगा र बुद्धभूमि नगरपालिका र रुपन्देहीको सैनामैना नगरपालिका र कञ्चन गाउँपालिकामा कृत्रिम गर्भाधान गरी उन्नत जातको नश्ल सुधार गरिने भएको हो । 

तीन वर्ष भित्र हरेक पालिकाका छ हजार गाईभैँसीमा कृत्रिम गर्भाधान गरिने बताइएको छ । स्थानीय जातबाट प्रति दिन तीन लिटर दूध उत्पादन हुने भएको र क्रसविड गर्दा दैनिक १० लिटर उत्पादन हुने भएकाले नश्ल सुधारको कार्यक्रमलाई प्राथमिकता दिएको परियोजनाका कार्यक्रम संयोजक शरद अधिकारीले बताउनुभयो । 

यस अन्तर्गत तीन हजार स्थानीय गाईमा जर्सीको वीर्य प्रयोग गरी कृत्रिम गर्भाधान गराइने बताइएको छ । यसैगरी तीन हजार स्थानीय जातको भैँसीमा मुर्राको वीर्य प्रयोग गरी नश्ल सुधार गरिने आईआरडिसीका कार्यकारी निर्देशक प्रदिप शाहले बताउनुभयो । 

नेपालमा वार्षिक २४ लाख लिटर दूधको आवश्यकता भएको र हाल १९ लाख लिटर मात्र उत्पादन भएकाले नश्ल सुधारमार्फत कृषकको आम्दानी बढाउने बुद्धभूमि नगरपालिकाका नगर प्रमुख केशव कुमार श्रेष्ठले बताउनुभयो । परियोजनाको लागि जर्सी ओभरसिज एड, आड्रा नेपाल, फरवार्ड  र आईआरडिसी नेपालको संयुक्त लगानी रहेको छ ।