• १४ वैशाख २०८१, शुक्रबार

जमाना ‘सुपर एप’को

blog

मोबाइल अथवा ट्याब्लेटमा प्रयोग हुने एप्लिकेसन (छोटकरीमा एप)का बारेमा भाइबहिनीलाई थाहै होला । मोबाइल एप एक किसिमको सफ्टवेयर हो । यसमा हामीले खोजेको कन्टेन्ट प्रयोग गर्न सक्छौँ । जस्तो कि हामीलाई गेम खेल्न मन लाग्यो भने गेमिङ एप डाउनलोड गर्छौं । त्यस्तै कुराकानी अथवा भिडियो कल गर्न मन लाग्यो भने च्याटिङ एप राख्छौँ । अनलाइनबाटै खानेकुरा अथवा केही किन्न मन लागे सपिङ एप र कतै जानु परे राइड सेयरिङ एप हाम्रो मोबाइलमा राखेका हुन्छौँ । 

यसरी आफ्नो रुचिअनुसारका एप राख्दै जाँदा हाम्रो मोबाइल धेरै एपले भरिएको हुन्छ । धेरै एप राख्दा मोबाइलको स्टोरेज पनि घटिरहेको हुन्छ । एकै किसिमको कामका लागि फरक–फरक एप प्रयोग गर्नुपर्दा झन्झट पनि हुन्छ  । प्रयोगकर्ताका पछिल्ला यस्तै अनुभवलाई समाधान गर्ने गरी विश्वभर अहिले सुपर एपको प्रयोग बढिरहेको छ र निश्चित छ कि अबको जमाना पक्कै सुपर एपकै हुनेछ । 

के हो सुपर एप ?

धेरै किसिमका एपको सुविधा एउटै एपबाट पाइन्छ भने त्यो नै सुपर एप हो । जस्तो कि कुनै एउटा एप राखेकै भरमा त्यसमै गेम खेल्न मिल्ने, सामान खरिद गर्न सकिने, भुक्तानी दिन मिल्ने, च्याट गर्न सकिनेलगायतका सुविधा । यसरी एउटै एपबाट अनेक सुविधा दिने गरी विश्वभर धेरै एप उदाइरहेका छन् । यसले प्रयोगकर्ताको समय पनि बचत गरिरहेको छ । अनेक एपका लागि फरक पास वर्ड सम्झिनुपर्ने झन्झट कम गरिदिएको छ । मोबाइलको स्टोरेज बचाएको छ । 

सुपर एपको फाइदाकै कारण विश्वका चर्चित एपहरू प्नि विस्तारै यसतर्फ ढल्किँदैछन् । जस्तो कि फेसबुक अहिले केबल सामाजिक सञ्जाल मात्र नभएर सुपर एपको चरणमा प्रवेश गर्दैछ । फेसबुकमै किन्न मिल्ने र भुक्तानीको सुविधा पनि थप भएको छ । इलन मस्कले पनि ट्विटर 

किनेपछि यसलाई सुपर एपमै बदल्ने सोच सार्वजनिक गर्नुभएको छ , जहाँ ट्विटर प्रयोगकर्ताले छोटो भिडियो पनि राख्न सक्नेछन्, गेम खेल्न पाउनेछन् अनि सामान खरिद गरेर ट्विटरबाटै तिर्न सक्नेछन् । 

यी त भए सुपर एपमा जाँदै गरेका एपहरू । विश्वमा अहिले नै स्थापित सुपर एप छन् जसको प्रयोग दिनदिनै बढ्दैछ । चीनको विच्याट त्यसकै उदाहरण हो । च्याटका लागि बनाइएको विच्याट अहिले भुक्तानीका लागि बढी चर्चित छ । विश्वभर १० करोडभन्दा बढी विच्याट प्रयोगकर्ता छन् । स्न्याप च्याट, अलिपे, पेटिएम, सोपी आदि विश्वका चर्चित सुपर एप हुन् । धेरै जसो सामाजिक सञ्जाल सुपर एपकै लक्ष्यमा अघि बढिरहेका देखिन्छन् । 



सुपर एपको लहर

सुपर एपको प्रयोग बढ्दै जाँदा त्यसको सोझो प्रभाव नेपालमा पनि परेको छ । नेपालका केही चर्चित सफ्टवेयर कम्पनीले आफ्नो सेवालाई सुपर एपमार्फत उपलब्ध गराउन थालेका छन् । हाम्रो पात्रो त्यसैको उदाहरण हो । भाइबहिनीले हाम्रो पात्रोका बारेमा सुनेका छौ ? हाम्रो पात्रो धेरै डाउनलोड हुने नेपाली एपमध्येमा पर्छ । प्ले स्टोरमा मात्रै यो एक करोडभन्दा धेरै पटक डाउनलोड भएको हो । सुरुमा तिथिमितिका बारेमा जानकारी दिने उद्देश्यसाथ निर्माण गरिएको यो एपमा अहिले धेरै कुरा गर्न सकिन्छ । आफ्ना रोगका बारेमा डाक्टरसँग सोझै कुराकानी गर्न सकिनेदेखि, च्याट, ज्योतिषी सेवा, रेडियो, पत्रपत्रिका, कुन्डली गेमलगायतका सबै गतिविधि यही एपबाट गर्न सकिन्छ । हाम्रो पात्रोले दिने अनेकौँ सेवाकै कारण यसको प्रयोग बढिरहेको हो । एउटै एप राख्दा दैनिक जीवनका लागि आवश्यक धेरै काम गर्न सकिने भए पनि यसमा धेरैको आकर्षण देखिन्छ । 

हाम्रो पात्रोजस्तै अर्को एप छ नेपाली पात्रो । यो एप पनि आफैँमा सुपर एप हो । तिथिमितिकै लागि निर्माण गरिएको यो एपमा अहिले समाचार, ज्योतिष सेवा, विनिमय दर, ब्लगलगायतका सेवा प्रयोग गर्न सकिन्छ । पछिल्लो समय राइड सेयरिङ एप पठाओले पनि आफूलाई सुपर एप बनाउने प्रयासमा अघि बढिरहेको देखिन्छ । पठाओबाट अब सवारीसाधनलाई आग्रह गर्ने मात्र हैन खाना पनि अर्डर गर्न सकिने भएको छ । 

पछिल्लो समय वालेट कम्पनी र इकमर्स कम्पनीले पनि आफ्नो एपमा निरन्तर नयाँ सुविधा थप गर्दै अगाडि बढिरहेका छन् । भुक्तानीका लागि मात्र हैन अनलाइन ऋणसमेत आवेदन दिन सक्ने गरी वालेट कम्पनीले आफ्नो सेवा विस्तार गरिरहेका छन् । ईसेवा, खल्ती, आईएमई पे, नमस्ते पेजस्ता वालेट कम्पनीले भुक्तानीका करिब सबै सेवा एउटै एपबाट प्रदान गरिरहेका छन् । यसबाहेक कतिपय वालेट कम्पनीले मार्केट प्लेस नाममा सोही एपबाट सामान छनोट गरेर खरिद गर्न सकिने सुविधा पनि थप गर्दैछन् ।