• ६ वैशाख २०८१, बिहिबार

प्रदेश सभाले पारित गरेको राजधानी सार्नुको विकल्प छैन–मन्त्री खड्का

blog

लुम्बिनी प्रदेशका अर्थ तथा सहकारी मन्त्री कृष्णध्वज खड्का बाेल्नुहुँदै ।

छविलाल पाण्डे 

बुटवल, मङ्सिर २० गते । लुम्बिनी प्रदेशका अर्थ तथा सहकारी मन्त्री कृष्णध्वज खड्काले लुम्बिनी प्रदेशको राजधानी दाङ सार्नुको विकल्प नभएको बताउनुभएको छ । रिपोर्टस् क्लब, लुम्बिनी प्रदेशले मंगलबार बुटवलमा आयोजना गरेको साक्षात्कार कार्यक्रममा बोल्दै मन्त्री खड्काले प्रदेश सभाले बहुमतका साथ पारित गरेको राजधानीको विषय कार्यान्वयन गर्नु सरकारको दायित्व भएको स्पष्ट पार्नुभयो । 

मन्त्री खडकाले राप्ती, भेरी र लुम्बिनीको भावनालाई समेटेर लुम्बिनी प्रदेशको नाम र राजधानी तोकिएको बताउँदै राजधानीको विषयलाई अतिरञ्जित ढङ्गले व्याख्या नगर्न सबैसँग आग्रह गर्नुभयो । 

मन्त्री खड्काले दाङ्गको राप्ती उपत्यका देउखुरीमा प्रदेश सभाको भवन निर्माण कार्य अन्तिम चरणमा पुगेको जानकारी दिँदै प्रदेश मातहतका मन्त्रालयहरू दाङ सार्नु नौलो कुरा नभएको बताउनुभयो । 

एक अर्को प्रसङ्गमा मन्त्री खडकाले अन्तर्राष्ट्रिय शक्ति केन्द्रहरूले देशको संविधान, राष्ट्रिय स्वाधीनता र व्यवस्थामाथि दरार पैदा गरेर प्राप्त उपलब्धिहरू गुम्ने खतरा बढेको बताउनु भयो ।

राजनीतिक दलको विकल्प स्वतन्त्र वा कुनै व्यक्ति विशेष नहुने जिकिर गर्दै उहाँले लोकतन्त्र स्थापनाको लागि जेलनेल यातना भोगेका नेताहरूको भावनालाई कुल्चेर कुनै विचार र गन्तव्य नै नभएकाहरूले फैलाएको अफवाहले देशलाई सही मार्गमा लैजान नसक्ने ठोकुवा गर्नुभयो ।  

कार्यक्रममा नेकपा एमालेका नवनिर्वाचित प्रदेश सभा सदस्य भोजप्रसाद श्रेष्ठले रातारात मन्त्रालयका सामानहरू सारिनाले राम्रो सन्देश नजाने बताउनुभयो । 

देशको अर्थतन्त्र नै खलबलिएको अवस्थामा राज्यको करोडौँ रकम खर्चेर मुलुकलाई थप आर्थिक भार दिने गरी प्रदेश सरकार अघि बढ्नाले सुशासनमाथि प्रश्न उठेको समेत उहाँले बताउनुभयो ।