• १७ माघ २०७९, मङ्गलबार
blog

कर्णाली प्रदेश ब्युरो

सुर्खेत, मङ्सिर २० गते । कर्णाली प्रदेशमा स्याउ उत्पादन धेरै हुने भए पनि बजारको अभाव, यातायातको असुविधा, महँगो हवाई ढुवानी र चिस्यान केन्द्रको अभावले बजार पाइरहेको छैन ।

कृषि तथा पशुपन्छी विकास मन्त्रालयको तथ्याङ्कअनुसार आव २०७७/७८ मा मुलुकभर १३ हजार ४६३ हेक्टर क्षेत्रफलमा ४८ हजार ६११ मेट्रिक टन स्याउ उत्पादन भएको थियो । स्याउ उत्पादन सबैभन्दा धेरै कर्णाली प्रदेशमा हुन्छ । सो आर्थिक वर्ष कर्णाली प्रदेशको डोल्पा, जुम्ला, मुगु, हुम्ला, कालीकोट, रुकुमपश्चिम, सल्यान, जाजरकोट, दैलेख जिल्लामा नौ हजार ३७७ हेक्टर क्षेत्रफलमा ३१ हजार १०२ मेट्रिक टन स्याउ उत्पादन भएको थियो । अन्य प्रदेशमा पनि स्याउ थोरै उत्पादन हुने भए पनि मधेश प्रदेशमा हुँदैन  । 

सम्भाव्यता छ तर समस्या धेरै

स्याउ खेतीको राम्रो सम्भाव्यता रहेको र सरकारी तथा गैरसरकारी क्षेत्रको प्रवद्र्धनका कारण कर्णालीका किसान स्याउ खेतीतर्फ अग्रसर भएकाले खेतीको क्षेत्रफल र उत्पादन बढिरहेको छ तर बजार पहुँच नभएकाले किसानले अपेक्षित लाभ लिन सकेका छैनन् ।

जिल्ला कृषि विकास कार्यालय, डोल्पाका कार्यालयका प्रमुख शरद लामाले डोल्पामा उत्पादन भएको स्याउ ७५ प्रतिशत बजार र चिस्यान केन्द्रको अभावमा खेर जाने गरेको बताउनुभयो । सडक पुगे पनि यातायात सुविधा नभएको डोल्पामा फलेको अर्गानिक स्याउ यतिखेर व्यापारीको पर्खाइमा छ । 

डोल्पामा विशेष गरी ठूलीभेरी नगरपालिकाअन्तर्गत जुफाल, डाँगीबाडा, लोचा, तिप्ला, थाला र त्रिपुरासुन्दरी नगरपालिकाको रङ, सुउँ र जिउ गाउँमा स्याउको व्यावसायिक खेती गरिँदै आएको छ ।

कर्णाली प्रदेशको डोल्पा, जुुम्ला, मुुगुु, हुुम्ला, कालीकोट, रुकुमपश्चिम, सल्यान, जाजरकोट, दैलेख जिल्लामा नौ हजार ३७७ हेक्टर क्षेत्रफलमा ३१ हजार १०२ मेट्रिक टन स्याउ उत्पादन भएको थियो । 

विगतको तुलनामा यो वर्ष धेरै स्याउ फले पनि बजार अभाव र चिस्यान केन्द्रको अभावमा केही घरमै त केही बगैँचामै कुहिएको त्रिपुरासुन्दरी नगरपालिका–४, रङगाउँका कृषक श्रीदल बुढाले दुखेसो पोख्नुभयो । 

छैन चिस्यान केन्द्र, खाडलमा भण्डारण

बजार टाढा रहेको र यातायातको सुविधा नभएका कारण समयमा स्याउ बेच्न समस्या हुने गरेको छ । चिस्यान केन्द्रको अभावले पनि तत्काल बेच्न नसक्दा स्याउ कुहिने गरेको छ । चिस्यान केन्द्र नहुँदा सस्तोमै बेच्नुपर्ने बाध्यता किसानमा हुन्छ । स्याउ भण्डारण र सङ्कलनसम्बन्धी तालिमसमेत नपाएको किसानको गुनासो छ ।

आधुनिक चिस्यान केन्द्र नहुँदा किसानले परम्परागत रूपमा उत्पादन संरक्षण गर्ने प्रयास गर्छन् तर यो प्रविधि भरपर्दो हुँदैन । धेरै क्षेत्रमा स्याउ लगाइएको डोल्पाको रङगाउँकी कमला बुढाले  जमिनमा खाडल बनाएर राखिएको स्याउ पनि कुहिन लागेको बताउनुभयो । 

आधुुनिक प्रविधिको भण्डारको समस्या भएका कारण हुम्लाकै सर्केगार्ड गाउँपालिका–३, उनापानी गाउँका दीपक फडेराले स्थानीय प्रविधिबाट बाँकी स्याउ भण्डारण गरिरहनुभएको छ तर १५ क्विन्टल स्याउ कुहिएर खेर गएको गुनासो गर्नुभयो ।

मुगुको कृषि विकास कार्यालयसँग स्याउ जोगाउने उपाय त के तथ्याङ्कसमेत छैन । कार्यालयका नायब सुब्बा जयप्रसाद कुमाईले कार्यालयमा प्राविधिक र जनशक्तिको अभाव रहेको बताउनुभयो । 

यातायात सुविधाको अभाव

कर्णालीमा उत्पादन हुने स्याउको मुख्य बजार भनेकै सुर्खेत, नेपालगञ्जलगायतका तराई क्षेत्र र काठमाडौँ हो तर यहाँसम्म स्याउ लैजान यातायात सुविधा छैन, भरपर्दो छैन र महँगो छ । 

मुगुको छायानाथ रारा नगरपालिका–१४, बाम गाउँकी सुनकला बढुवाल डोकोमा स्याउ बोकेर दैनिक चार घण्टा हिँडेर सदरमुकाम गमगढी बजारमा स्याउ बिक्री गर्न ल्याउनुहुन्छ । उहाँले प्रतिदाना १० रुपियाँका दरले बिक्री गर्नु परेको बताउँदै एक डोकाबाट तीन हजारसम्म आम्दानी हुने गरेको बताउनुभयो । 

चिस्यान केन्द्रको अभावले पनि तत्काल बेच्न नसक्दा स्याउ कुहिने गरेको छ । चिस्यान केन्द्र नहुँदा सस्तोमै बेच्नुपर्ने बाध्यता किसानमा हुन्छ । स्याउ भण्डारण र सङ्कलनसम्बन्धी तालिम नपाएको किसानको गुनासो छ ।

हुम्लाको सिमकोट गाउँपालिका–४, बुराउसे गाउँका किसान यामबहादुर लामाले आफ्नो फार्ममा यस वर्ष स्याउ उत्पादन राम्रो भएको बताउनुभयो । उहाँले तीन सय बोट लगाएकामा एक सय बोटमा फलेको स्याउ १५० क्विन्टल उत्पादन भए पनि बिक्रीमा समस्या देखिएको बताउनुभयो । 

हुम्लाकै सर्केगार्ड गाउँपालिका–३, उनापानी गाउँका दीपक फडेराको समस्या पनि यस्तै छ । दुई सय क्विन्टल स्याउ उत्पादन गर्नुभएका फडेराले गाउँ आइपुगेका मानिसले फाट्टफुुट्ट किन्ने गरे पनि धेरै स्याउ बाँकी नै रहेको बताउनुभयो । 

हुम्लामा हवाई उडान कम हुनु र भए पनि ढुवानी महँगो हुने भएका कारण किसानहरू हवाई मार्गबाट ढुवानी गर्ने आँट गर्न सक्ने अवस्थामा छैनन् ।

छैन ढुवानी अनुदान

कर्णालीका दुर्गम क्षेत्रमा सरकारले ढुवानी अनुदानमा चामल वितरण गर्छ तर कर्णालीमा उत्पादन हुने स्याउलाई बजार पु-याउन अनुदान भने दिएको छैन ।

सरकारले विगतमा कर्णाली विशेष कृषि विकास कार्यक्रमअन्तर्गत सडकको पहुँच नपुगेको डोल्पाका जुफाल, तिप्ला, लोचा र रङ, सुउँ, जिउमा कृषकलाई स्याउमा ढुवानी अनुदानको व्यवस्था गरेको थियो तर यो हटाइएको छ । जिल्ला कृषि विकास कार्यालय, डोल्पामा स्याउ ढुवानी अनुदानको शीर्षकमा सरकारले तीन लाख रुपियाँ मात्र पठाएकाले सबै कृषकलाई दिन पर्याप्त नभएकाले केही कृषकलाई लिन सूचना आह्वान गरिएको कार्यालयले जनाएको छ ।

डोल्पामा उत्पादन भएको स्याउलाई नेपालगञ्ज, सुर्खेत, भैरहवा र काठमाडौँलगायतका बजारमा पु-याउन हवाई ढुवानीमा अनुदानसहित स्याउ प्याकेजिङका लागि कार्टोनको समेत व्यवस्था गरिँदै आएकामा स्थानीय तहले उक्त व्यवस्था हटाएपछि रङ्गेली र जुफाली स्याउले बजार नपाएको हो । 

राजमार्ग बिगिँरदा ढुवानी समस्या

यस वर्ष जुम्लामा २१ हजार मेट्रिक टन स्याउ उत्पादन भएको छ । जुम्लाको जिल्ला कृषि विकास कार्यालयका प्रमुख गणेश अधिकारीका अनुसार यस वर्ष २१ हजार मेट्रिक टन स्याउ उत्पादन भएको हो । 

कर्णालीका दुर्गम क्षेत्रमा सरकारले ढुवानी अनुदानमा चामल वितरण गर्छ तर कर्णालीमा उत्पादन हुने स्याउलाई बजार पु-याउन अनुदान भने दिएको छैन ।

स्याउ उत्पादन राम्रो भए पनि बजारीकरणमा भने समस्या भएको किसानले जनाएका छन् । जुम्लामा स्याउ भदौ महिनाको पहिलो हप्ता पाकिसक्छ । अधिकांश किसानको स्याउ धेरैजसो भदौ, असोजमा बिक्री भइसक्छ । केही किसानले राम्रो मूल्यमा पाइने आशामा मङ्सिर र पुस महिनासम्म पनि स्याउ भण्डारण गरी राखिरहेका हुन्छन् ।  जुम्लाका किसानले स्याउ नेपालगञ्ज लैजाने तयारी गरिरहँदा राजमार्ग अवरुद्ध हुँदा धेरै ठूलो नोक्सानी सहनुप-यो । मीनबहादुर भण्डारीले ७० टन स्याउ फलाए पनि २० टन अझै बिक्री हुन नसकेको बताउनुभयो । 

जुम्लाको जिल्ला कृषि विकास कार्यालयका प्रमुख गणेश अधिकारीका अनुसार २१ हजार मेट्रिक टन स्याउमा नौ हजार निर्यात भएको तथ्याङ्क छ । यस वर्ष बाढीपहिरोले निकै ठूलो समस्या ल्याएको छ । 

(विष्णुप्रसाद देवकोटा/डोल्पा, हरिकृष्ण ऐडी/मुगु, राजन रावत/हुम्ला र नेत्र शाही/जुम्लाको सहयोगमा)