• १९ असार २०८१, बुधबार

ओखलढुङ्गामा १३ हजार २५३ मेट्रिक टन धान उत्पादन

blog

शेरबहादुर राई

ओखलढुङ्गा, मङ्सिर १९ गते । ओखलढुङ्गामा १३ हजार २५३ मेट्रिक टन धान उत्पादन भएको छ । कृषि ज्ञान केन्द्र, ओखलढुङ्गाको तथ्याङ्कअनुसार यस वर्ष जिल्लामा १३ हजार २५३ मेट्रिकटन धान उत्पादन भएको हो । गत वर्ष भन्दा ४४० मेट्रिक टन बढी धान उत्पादन भएको ज्ञान केन्द्रका कृषि अर्थविज्ञ गणेश अधिकारीले बताउनुभयो । 

अघिल्लो वर्ष १२ हजार ८१३ मेट्रिक टन धान उत्पादन भएको थियो । समयमै वर्षा भएका कारण रोपाइँ समयमै भएको र रोग कीराको प्रकोप यस वर्ष कम भएकाले धान उत्पादनमा वृद्धि भएको कृषि अर्थ विज्ञ अधिकारीले जानकारी दिनुभयो । 

गत वर्ष भित्र्याउने समयमा बेमौसमी असिना पानी परेर धान बालीमा क्षति पुगेको थियो । जिल्लामा चार हजार ४०३ हेक्टर क्षेत्रफलमा धान खेती गरिन्छ । जिल्लाको रामपुरटार, सिल्खुवेँसी, कुईभिरटार, बलखुवेँसीलगायत सुनकोसी, धकोशी, लिखु नदी र मोलुङ खोला आसपासको क्षेत्रमा मुख्य गरी धान खती गरिन्छ । 

यसका साथै ओखलढुङ्गामा यस वर्ष १९ हजार ३७७ मेट्रिक टन कोदो उत्पादन भएको छ । गत वर्ष  भन्दा यस वर्ष कोदोको पनि उत्पादन बढेको अधिकारीले बताउनुभयो । जिल्लामा सात हजार ७५१ हेक्टर क्षेत्रफलमा कोदो खेती गरिएको कृषि ज्ञान केन्द्र ओखलढुङ्गाले जनाएको छ ।