• १३ वैशाख २०८१, बिहिबार

प्रहरीद्वारा घरेलु मदिरामा कडाइ

blog

घर तथा होटलबाट जफत गरिएको घरेलु मदिरा नष्ट गर्न लिँदै प्रहरी । तस्बिर – प्रेमराज सिम्खडा ।

प्रेमराज सिम्खडा

कालीकोट, मङ्सिर १९ गते । कालीकोट जिल्लाको सदरमुकाम मान्म बजारको दुई तर्फिबाट आइतबार दिउँसो प्रहरीको अप्रेस सुरु भयो । सुरुमा देख्नेले कुनै ठूलै घटना भएको र त्यसको तयारीमा प्रहरी तैनाथ भएको अनुमान गरे । तर केही छिनमा स्थानीयको अनुमान गलत भयो । प्रहरीले होटल तथा कोठाबाट ड्रमहरू सडकमा जम्मा गरे । 

गएको वर्ष फागुन महिना यता मदिरा नियन्त्रणमा प्रहरीले खासै चासो दिएको थिएन । सदरमुकाम मान्म तथा आसपासका क्षेत्रमा अवैध मदिराका कारण १४ वर्षदेखि माथिका बालबालिका तथा अन्य नागरिक अपराधजन्य घटनामा सहभागी हुन थालेका र मदिराकै कारणले घरेलुहिंसा बढ्दै गएपछि प्रहरीले घरेलु मदिरा नियन्त्रणको अभियान चलाएको हो । 

जिल्ला प्रहरी कार्यालय कालीकोटका सूचना अधिकारी प्रहरी निरीक्षक सुवराज बमले जिल्ला सदरमुकामसँगै जिल्लाका नौ वटै स्थानीय तहमा घरेलु मदिरा जफत गर्ने बताउनुभयो । गाउँमा यसकै कारणले विवाद हुने र घटना हुने, बाटोमा हिँड्ने बटुवाले समेत घरेलु मदिरामा सस्तोमा पाउने भएकाले सेवन गरेर अकालमै ज्यान जाने हुँदा नियन्त्रणका लागि जिल्लाबाटै सुरु गरेको सुनाउनुभयो । 

एकै दिनमा प्रहरीले अवैध घरेलु मदिरा ३५ लिटर, मदिरा बनाउन प्रयोग हुने कच्चा पदार्थ पाँच सय ४० लिटर, मदिरा बनाउन प्रयोग हुने भाँडाकुँडा ४ थान नियन्त्रण गरी नष्ट गरेको छ ।  जिल्ला प्रहरी कार्यालयमा कार्यरत प्रहरी निरीक्षक यज्ञराज जोशीले आफ्नो कमाण्डमा गएको टोलीले शङ्कास्पद होटलबाट मात्र यतिको परिणाममा मदिरा र मदिरा बनाउन प्रयोग हुने वस्तुलाई ल्याएर नष्ट गरेको सुनाउनुभयो ।