• ६ वैशाख २०८१, बिहिबार

काभ्रेमा तीन महिनापछि पुनः रेबिज भेटियो, सतर्क रहन आग्रह

blog

काभ्रेपलाञ्चोक,  मङ्सिर  १९ गते । काभ्रेमा तीन महिनापछि पुनः रेबिज रोग देखापरेको छ । जिल्लाको दक्षिणी क्षेत्र डाँडापारिस्थित महाभारत गाउँपालिकाको पशुमा रेबिज रोगको सङ्क्रमण देखिएको हो । यसअघि गत भदौमा भुम्लु गाउँपालिकामा रेबिज रोगका कारण एक महिनाको अवधिमा चार दर्जनभन्दा बढी पशुचौपायाको मृत्यु भएको थियो । 

महाभारत गाउँपालिकामा मरेका दुई गाईमा रेबिज रोग पुष्टि भएपछि स्थानीयलाई सतर्क रहन आग्रह गरिएको छ । केही दिनअघि महाभारत–१ गोकुले र ८ नं वडास्थित घर्तीछापमा कुकुरको टोकाइबाट दुई गाई मरेका थिए । वडा नं १ का अध्यक्ष कान्छामान जिम्बाका अनुसार कुकुरले टोकेका गाईको मृत्यु भएपछि परीक्षण गर्दा रेबिज रोगबाट मरेको पुष्टि भएको हो । 

वडाध्यक्ष जिम्बाले गाउँपालिकाको कुनै स्थानमा शङ्कास्पद कुकुर देखिएमा नियन्त्रण गर्न तथा वडा वा गाउँपालिकाको कार्यालयमा तत्काल जानकारी गराउन आग्रह गरिएको बताउनुभयो । उहाँले आवश्यकताअनुसार रेबिजविरुद्धको सुईको व्यवस्थापन गरी तत्काल शिविर सञ्चालन गरिने जानकारी दिनुभयो । गाउँपालिकाका देखिएको रेबिज रोगप्रति जिल्ला स्वास्थ्य कार्यालय र जिल्लास्थित भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रले आवश्यक अनुसन्धान तथा आवश्यक सामग्री सहयोगको व्यवस्थापन भइरहेको जनाएका छन् । 

कार्यालयका प्रमुख डा पुरुषोत्तम सेढाईंले महाभारतमा थप रेबिज फैलन नदिन केन्द्रसँगको समन्वयमा तत्काल ‘एक्सन’मा जाने बताउनुभएको छ । केन्द्रका पशु चिकित्सक राजकुमार हुमागाईँले पनि महाभारतमा देखिएको रेबिज रोग थप फैलन नदिन तथा रोकथामका उपाय अपनाइने बताउनुभयो । उहाँका अनुसार घटनाक्रमले जिल्लामा रेबिज रोगको सङ्क्रमण केही वर्ष नै रहिरहने देखिएको छ । 

यसअघि गत भदौमा भुम्लु गाउँपालिकाको १ नं वडास्थित सापिङ, कात्तिके, आरनगाउँ, भारतीगाउँ, गैराटोल, बोक्से र खोलमबारीका २८९ जनालाई स्वास्थ्य कार्यालयले रेबिजविरुद्ध खोप लगाइएको थियो । स्थानीय १९ परिवारका ५१ जनाले कुकुरले टोकेर मरेका भैँसी तथा खसी, बोका काटेर मासु खाएपछि तथा अन्य शङ्कास्पद व्यक्तिलाई खोप लगाउनुपरेको थियो । त्यतिबेला एक महिनाको अवधिमा करिब चार दर्जनभन्दा बढी पशुचौपाया मरेको तर कुनै मानवीय क्षेति नभएको केन्द्रले जनायो । 

शतप्रतिशत प्राणघातक मानिएको उक्त रोगबाट छिमेकी गाउँपालिका चौँरीदेउराली–६ मा गत वर्ष एक महिनाको अवधिमा एक आठ वर्षीय बालक र दुई पुरुषको मृत्यु भएको थियो । त्यसयता काभ्रेमा रेबिजका कारण मृत्यु हुनेको सङ्ख्या पाँच पुगेको छ । एक वर्षअघि चौँरीदेउरालीमा रेबिजबाट मानिसको मृत्यु भएपछि केन्द्रले सामुदायिक तथा छाडा कुकुरसँग सावधानी अपनाउन आग्रह गर्दै आएको छ ।

रेबिज लागेको कुकुर तथा अन्य जनावरले मानिसलाई टोकेमा मृत्यु निश्चित हुन्छ । चिकित्सकका अनुसार राम्रोसँग पकाएर खाएको मासु, उमालेर खाएको दूधबाट रेबिज सर्दैन । काँचो दूध, मासु खाँदा रेबिज रोग सर्छ । उनान्सय प्रतिशत सङ्क्रमण कुकुरबाट सर्ने गर्छ । कुकुरलाई रेबिजविरुद्धको खोप लगाउँदा रेबिज फैलन पाउँदैन । रेबिज लागेको कुकुरले मान्छे, पशुपन्छीलाई टोकेको अवस्थामा रेबिज सर्न सक्छ । 

सम्भावित जोखिम न्यूनीकरण गर्न केन्द्रमा पर्याप्त सुई राखिएको छ । चिकित्सकका अनुसार सुरुमा घरपालुवा वा अन्य जनावरको ¥यालमा रहेका रेबिज भाइरस टोकाइबाट शरीरमा प्रवेश गर्दछ । भाइरस रगतबाट नभई छालामुनिको भित्री तन्तु र मांसपेशी हुँदै परिधेय स्नायु, मेरुदण्ड र अन्त्यमा गिदीसम्म पुग्ने र गिदी सङ्क्रमित भएपछि मात्रै लक्षण देखिन थाल्ने गर्दछ । 

नेपालमा बर्सेनि दुई सय बिरामीको रेबिजका कारण मृत्यु हुने गरेको स्वास्थ्य तत्त्व रोगबाट ५९ हजार मानिसले ज्यान गुमाउने गरेको तथ्याङ्क पनि छ । आगामी सन् २०३० सम्ममा विश्वमै रेबिज रोग उन्मूलन गर्ने लक्ष्यसमेत लिइएको छ । प्राणघातक रेबिज रोग नियन्त्रणको लागि अन्तर्राष्ट्रियता जनचेतना जगाउन तथा सरोकारवालाबीच एक्येबद्धता प्रकट गर्न प्रत्येक अङ्ग्रेजी वर्षको सेप्टेम्बर २८ को दिनलाई ‘अन्तर्राष्ट्रिय रेबिज दिवस’को रूपमा मनाउने गरिएको छ ।