• ८ वैशाख २०८१, शनिबार

साबिक विजेता फ्रान्स क्वार्टरफाइनलमा

blog

गोल गरेपछि खुशी मनाउँदै फ्रान्सका ओलिभर गिरोड र केलिएन एमबाप्पे । तस्बिर : गेट्टी इमेज

काठमाडौं, मंसिर १८ गते । केलिएन एमबाप्पे र ओलिभर गिरोड चम्किएपछि साविक विजेता फ्रान्स कतारमा जारी फिफा विश्वकप फुटबलको क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।

अल थुमामा स्टेडियममा आइतबार राति भएको प्रिक्वार्टरफाइनल खेलमा फ्रान्सले पोल्यान्डलाई ३-१ गोलले हरायो । फ्रान्सको सानदार जितमा केलिएन एम्बाप्पेले दुई गोल गर्नुभयो । ओलिभर गिरोडले एक गोल गर्नुभयो । पोल्यान्डमा रोबर्ट लेवान्डोस्कीले सान्त्वना गोल गर्नुभएको थियो ।


गिरोडले ४४औँ मिनेटमा गोल गर्दै फ्रान्सको उत्साह जगाउनुभयो । उहाँले एमबाप्पेको पासमा गोल गर्नुभएको हो । यससँगै गिरोडले फ्रान्सका लागि सर्वाधिक ५२ गोल गर्ने खेलाडीको कीर्तिमान समेत बनाउनुभयो । यसअघि थिएरी हेनरीको नाममा ५१ गोलको कीर्तिमान रहेको थियो ।

पहिलो हाफमा १-० को अग्रता बनाएको फ्रान्सले दोस्रो हाफमा दुई गोल थपेको हो । ७४औँ मिनेटमा एमबाप्पेले उत्कृष्ट गोल गर्दै टोलीको अग्रता दोब्बर बनाउनुभयो । औसमाने डेम्बेलेले मिलाई दिएको पासमा एमबाप्पेको सशक्त प्रहार सोझै जाली चुमेको थियो ।

इन्जुरी समयमा एमबाप्पेले उस्तै प्रकारले व्यक्तिगत दोस्रो गोल गर्दै टोलीलाई जिताउनुभयो । एमबाप्पेले जारी विश्वकपमा व्यक्तिगत पाँच गोल गरिसक्नुभएको छ । उहाँले विश्वकपमा २४ वर्षमुनि सर्वाधिक गोल गर्ने खेलाडीको कीर्तिमान समेत बनाउनुभयो ।


खेलभर फ्रान्सको दबाब झेलेको पोल्यान्डले दोस्रो हाफको इन्जुरी समयमा पेनाल्टीमार्फत सान्त्वना गोल फर्कायो । लेवान्डोस्कीले पेनाल्टीको सदुपयोग गर्नुभयो ।

डिबक्सभित्र फ्रान्सका डेयोटले ह्यान्ड गरेपछि पोल्यान्डले पेनाल्टी पाएको थियो । क्वार्टरफाइनलमा फ्रान्सले अब  इङ्ग्ल्यान्ड र सेनेगलबीचको विजेतासँग खेल्नेछ । इङ्ग्ल्यान्ड र सेनेगलको खेल आजै राति १२:४५ बजे हुनेछ । एजेन्सी