• ७ मंसिर २०८१, शुक्रबार

नेपाल स्कटल्यान्डसँग पराजित

blog

खेलअघि टस गर्दै नेपाल र स्कटल्यान्डका कप्तान । तस्बिर : क्यान

काठमाडौं, मंसिर १८ गते । ब्याटिङ र बलिङ दुवैमा खराब प्रदर्शन गरेपछि नेपाल नामिबियामा जारी आईसीसी विश्वकप लिग–२ अन्तर्गत त्रिदेशीय सिरिजको दोस्रो खेलमा स्कटल्यान्डसँग पराजित भएको छ । 

युनाइटेड क्रिकेट क्लब ग्राउन्ड विन्ढोकमा आइतबार भएको खेलमा नेपाल स्कटल्यान्डसँग तीन विकेटले पराजित भयो । नेपालले दिएको एक सय ३८ रनको विजय लक्ष्य स्कटल्यान्डले ३२.१ ओभरमा सात विकेटको क्षतिमा एक सय ४३ रन जोड्दै पूरा गरेको हो । 

स्कटल्यान्डका लागि क्रिस्टोफर म्याकब्राइडले ४३ रन बनाउनुभयो । ब्राण्डन म्याकमुलेनले अविजित ३२, माइकल लेस्कले २२, जर्ज मुन्सेले १७ र म्याथ्यु क्रसले १३ रन बनाउनुभयो । बलिङमा नेपालका सागर ढकाल, गुल्सन झा र ललित राजवंशीले दुई दुई विकेट लिनुभयो । दीपेन्द्र सिंह ऐरीले एक विकेट झार्नुभयो ।  

यसअघि टस हारेर पहिलो ब्याटिङ गरेको नेपालले ४०.१ ओभरमा सबै विकेटको क्षतिमा एक सय ३७ रन बनाएको थियो । कमजोर ब्याटिङ गरेको नेपालले बलिङमा पनि खासै प्रभाव जमाउन सकेन । नेपालका लागि गुल्सन झाले २९ रन बनाउनुभयो ।

ज्ञानेन्द्र मल्लले २५, ओपनर अर्जुन साउदले १८, कप्तान रोहित पौडेलले १७ र आरिफ शेखले १० रन बनाउनुभयो । अन्य ब्याट्सम्यानले दोहोरो अङ्कको रन जोड्न सकेनन् । बलिङमा स्कटल्यान्डका चरिस सोलले तीन विकेट लिनुभयो । मार्क वाटले दुई तथा ब्रान्डन म्यामुलेन, सफायन सरिफ र मिचेल लिस्कले एक एक विकेट लिनुभयो । 

यसअघि शुक्रबार नेपाल र नामिबियाको खेल वर्षाका कारण बीचमै रोकिएको थियो । उक्त खेलमा दुवै टोलीले एक एक अङ्क बाँडेका थिए । स्कटल्यान्डले पहिलो खेलमा नामिबियालाई पराजित गरेको थियो । सात टोली सहभागी लिग–२ मा नेपाल अहिले २२ खेलबाट १८ अङ्क जोड्दै छैटौँ स्थानमा छ ।

जितसँगै ३० खेल सकेको स्कटल्यान्ड ४४ अङ्क सहित शीर्षस्थानमा उक्लिएको छ । लिग–२ मा सहभागी हरेक टोलीले एक आपसमा कूल ३६ खेलपछि सिरिजको शीर्षतीनमा रहने टोली सन् २०२३ मा आयोजना हुने एकदिवसीय विश्वकपमा छनोट हुनेछ ।