• ७ वैशाख २०८१, शुक्रबार

स्वीट्जरल्यान्ड प्रिक्वार्टरफाइनलमा प्रवेश

blog

सर्बियालाई हराएपछि खुशी मनाउँदै स्वीट्जरल्यान्डका खेलाडी । तस्बिर : एएफपी

काठमाडौं, मंसिर १७ गते । सर्बियामाथि रोमाञ्चक जित निकाल्दै स्वीट्जरल्यान्ड कतारमा जारी फिफा विश्वकप फुटबलका प्रिक्वार्टरफाइनलमा प्रवेश गरेको छ ।

समूह ‘जी’ अन्तर्गत स्टेडियम ९७४ मा शुक्रबार राति भएको खेलमा स्वीट्जरल्यान्डले सर्बियालाई ३-२ गोलले हरायो ।स्वीट्जरल्यान्ड समूह उपविजेता बन्दै नकआउट चरणमा प्रवेश गरेको हो । यस समूहबाट यसअघिनै अन्तिम १६ मा स्थान बनाएको ब्राजिल समूह विजेता बनेको छ ।

शुक्रबार राति नै भएको खेलमा क्यामरुनसँग १-० गोलले पराजित भएपनि ब्राजिललाई कुनै असर परेन । ब्राजिललाई हराएको क्यामरुन र स्वीट्जरल्यान्डसँग हारेको सर्बिया समूह चरणबाट बाहिरिएका छन् । 

स्वीट्जरल्यान्डको जितमा जेर्डान शाकिरीले २०औँ, ब्रील इम्बोलोले ४४औँ र रिमो फ्रुएलरले ४८औँ मिनेटमा गोल गर्नुभयो । सर्बियाका एलेक्सजेन्डर मित्रोभिचले २६औँ र डुसन भ्लाहोभिचले ३५औँ मिनेटमा गोल गरेपनि टोलीको हार टरेन । 


यसैगरी लुसेल आइकोनिक स्टेडियममा भएको अर्को खेलमा बलियो ब्राजिललाई हराउन क्यामरुनका भिन्सेन्ट अबुबाकरले निर्णायक गोल गर्नुभयो । क्यामरुन विश्वकपमा ब्राजिललाई हराउने पहिलो अफ्रिकन टोली समेत बनेको छ । 

भिसेन्टले दोस्रो हाफको इन्जुरी समयमा गोल गर्दै टोलीलाई जिताउनु भएको हो । लगत्यै अबुबाकरले दोहोरो पहेँलो (रातो) कार्ड पाएपछि क्यामरुनले अन्तिममा १० खेलाडीमा खेल सकेको थियो । 


अन्तिम खेलमा अहारेपनि तीन खेलबाट ६ अंक बनाएको ब्राजिल समूहको शीर्षस्थानमा रह्यो । समान ६ अंक बनाएको स्वीट्जरल्यान्ड दोस्रो भयो ।

चार अंक बनाएको क्यामरुन तेस्रो र एक अंक बनाएको सर्बिया अन्तिममा रह्यो । यससँगै विश्वकपको नकआउट समिकरण समेत पूरा भएको छ । एजेन्सी