• १२ वैशाख २०८१, बुधबार

छात्रा साउँदको मृत्यु प्रकरण

विद्यार्थीमाथि ज्यादती नगर्न एमाले कैलालीको माग

blog

फाइल तस्बिर

प्रकाशविक्रम शाह 

धनगढी, मङ्सिर १६ गते । नेकपा (एमाले) कैलालीले धनगढीमा हिजो बिहीबार ग्रेडरमा च्यापिएर  एक छात्राको मृत्यु भएपछि आन्दोलनरत विद्यार्थीमाथि प्रहरीले गरेको व्यवहारप्रति एमालेले आफ्नो ध्यानाकर्षण भएको जनाएको छ ।

सो पार्टीका कार्यवाहक अध्यक्ष दुर्गाप्रसाद जोशीले शुक्रबार विज्ञप्ति जारी गर्दै ध्यानाकर्षण भएको बताउनुभएको हो । मृतक १५ वर्षीया छात्रा चेतना साउँदप्रति श्रद्धाञ्जलि अर्पण गर्दे शोकाकुल परिवारमा सो दलले समवेदना व्यक्त गरेको छ । 

ग्रेडर चलाउने चालकलाई कडा कारबाही गर्न र पीडित परिवारलाई उचित क्षतिपूर्ति उपलब्ध गराउन एमाले कैलालीले विज्ञप्ति मार्फत माग गरेको छ । एमालेले आन्दोलनरत विद्यार्थीमाथि प्रहरीद्वारा गरिएको अनावश्यक बल प्रयोग निन्दनीय भएको जनाएको छ ।

घाइते विद्यार्थीको निःशुल्क उपचार गर्न र पक्राउ परेका विद्यार्थीको तुरुन्त रिहाइ गरी समस्याको ठोस समाधानको एमालेले माग गरेको छ ।  

धनगढी उपमहानगरपालिका ‐५ स्थित पञ्चोदय उच्च माविमा कक्षा ८ मा अध्ययनरत छात्रा साउँदको हत्या गरिएको आरोप विद्यार्थीले लगाएका छन् । पीडकलाई कडा कारबाही गरिनुपर्ने र पीडितलाई उचित क्षतिपूर्तिको माग गर्दै विद्यार्थी आन्दोलित छन् । 

गे्रडर चालक र ग्रेडरलाई भने प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ । कैलाली जिल्ला प्रशासनले विद्यार्थी आन्दोलित भएपछि शान्ति सुरक्षा कायम गर्न भन्दै बिहीबार रातिदेखि अनिश्चितकालका लागि निषेधाज्ञा जारी गरेको छ । निषेधाज्ञाकाबीच विद्यार्थीहरू आन्दोलनमा उत्रेपछि निषेधाज्ञा लम्ब्याउनुपरेको प्रशासन कार्यालयको भनाइ छ ।