• १५ वैशाख २०८१, शनिबार

म्याराथनमा प्रथम शेर्पालाई नगदसहित सम्मान

blog

म्याराथन विजेता शेर्पालाई नगदद्वारा सम्मान गर्दै गाउँपालिका अध्यक्ष विजयप्रकाश वनेम। तस्बिर : चन्द्र

चन्द्र पन्दाक

ताप्लेजुङ, मङ्सिर १६ गते । ताप्लेजुङको मैवाखोला गाउँपालिकाले महिला हाफ म्याराथनमा प्रथम  समपाल्मु शेर्पालाई नगदसहित सम्मान गरेको छ।

ताप्लेजुङ म्याराथन तथा पर्यटन महोत्सव–२०७९ को अवसरमा आयोजित महिला हाफ म्याराथनमा प्रथम हुनुभएकी शेर्पालाई नगद ५१ हजार रुपियाँसहित गाउँपालिकाले सम्मान गरेको हो।

मैवाखोला गाउँपालिका–५ फाकुम्बा निवासी धाविका शेर्पालाई पालिका अध्यक्ष विजयप्रकाश वनेमले नगद पुरस्कार प्रदान गर्दै सम्मान गर्नुभएको हो।प्रतियोगिता सम्पन्न भएको दिन गाउँपालिका अध्यक्ष वनेमले म्याराथनमा प्रथम हुन सफल शेर्पालाई प्रोत्साहन स्वरुप नगद ५१ हजार रुपियाँसहित सम्मान गर्ने घोषणा गर्नुभएको थियो।

गत असोज ११ देखि १३ गतेसम्म आयोजना गरिएको तीनदिने पर्यटन महोत्सवका बेला सञ्चालन गरिएको महिला हाफ म्याराथनमा शेर्पा प्रथम हुनुभएको थियो भने भोजपुरकी छेम्वीमाया राई र ताप्लेजुङकै मिक्वाखोला गाउँपालिका–३ लिबाङकी पेम्बाल्हामु शेर्पा क्रमशः द्वितीय र तृतीय हुनुभएको थियो।