• १३ चैत २०८२, शुक्रबार

सुशासन कायम गर्ने प्रतिबद्धता

blog

शेरबहादुर राई 

ओखलढुङ्गा, चैत १३ गते ।  ओखलढुङ्गाबाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित विश्वराज पोखरेलले जिल्लामा सुशासन कायम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । राष्ट्रिय स्वतन्त्र पार्टीबाट उम्मेदवार बनेका पोखरेलले अत्यन्तै झिनो मतान्तर पाँच मतले विजय हासिल गर्नुभएको हो । 

परम्परागत दलहरूको प्रभाव रहेको जिल्लामा नयाँ राजनीतिक दललाई उहाँले स्थापित गर्नुभयो । नवनिर्वाचित सांसद पोखरेलले चुनावका व्रmममा नागरिकसँग गरेका वाचा इमानदारीपूर्वक पूरा गर्ने बताउँदै सुशासन र विकासलाई प्राथमिकतामा राखेर काम गर्ने धारणा व्यक्त गर्नुभयो । मतदातालाई धन्यवाद दिँदै जनताले देख्ने र महसुस गर्ने गरी विकास र पारदर्शितामा आधारित काम गर्ने उहाँको प्रतिबद्धता छ । उहाँले भन्नुभयो, “गाउँ गाउँमा पुगेर जनताका आवश्यकता सम्बोधन गर्ने वाचा गरेको छु, त्यसलाई व्यवहारमा उतार्ने छु । 

सुशासन कायम गर्दै जिल्लाको समग्र विकासमा लाग्ने छु ।” उहाँले लामो समयदेखि मुलुकमा देखिएको बेथिति र दोहन अन्त्यका लागि जनताले अब सचेत निर्णय लिन थालेको उल्लेख गर्नुभयो । यसअघि ओखलढुङ्गामा माओवादी केन्द्र, नेपाली कांग्रेस र नेकपा (एमाले) ले पालैपालो जित्दै आएको इतिहासलाई यस पटक राष्ट्रिय स्वतन्त्र पार्टीले तोड्न सफल भएको छ । पोखरेल पहिलो पटक उम्मेदवार बन्नुभएको थियो । 

देशव्यापी रूपमा देखिएको नयाँ राजनीतिक लहर, परम्परागत दलप्रतिको असन्तुष्टि तथा उम्मेदवार छनोट प्रव्रिmयाले पनि उहाँको जितलाई सहयोग पुगेको विश्लेषण गरिएको छ । पोखरेल नेपाल प्रहरीका पूर्वअतिरिक्त महानिरीक्षक (एआइजी) हुनुहुन्छ । प्रहरी महानिरीक्षक (आइजिपी) बन्ने दौडमा रहँदा आफूभन्दा कनिष्ठ अधिकारी नियुक्त भएपछि उहाँले २०७९ सालमा राजीनामा दिनुभएको थियो । त्यसपछि राष्ट्रिय स्वतन्त्र पार्टीमार्फत राजनीतिमा प्रवेश गर्दै गृह जिल्लाबाट चुनाव लड्नुभएको हो । उहाँसँग ३६ वर्षभन्दा बढी सरकारी सेवा गरेको अनुभव छ, जसमध्ये २९ वर्ष नेपाल प्रहरीमा सेवा गर्नुभएको थियो । उहाँले काठमाडौँ उपत्यकाको अपराध अनुसन्धान, विभिन्न जिल्ला प्रहरी कार्यालयको नेतृत्व, ट्राफिक व्यवस्थापन, लागुऔषध नियन्त्रण तथा विमानस्थल सुरक्षा जस्ता महìवपूर्ण क्षेत्रमा काम गर्नुभएको छ ।

लाइबेरिया र हाइटीमा अन्तर्राष्ट्रिय शान्ति मिसनमा समेत सेवा गरेको अनुभव उहाँसँग छ । अन्तिम पोखरेलले १३ हजार ९५३ मत प्राप्त गर्नुभयो भने उहाँका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार कुमार लुइटेलले १३ हजार ९४८ मत प्राप्त गर्नुभएको छ । अन्य प्रतिस्पर्धीमध्ये नेकपा (माओवादी केन्द्र) का उम्मेदवारले ११ हजार २९६ तथा नेकपा (एमाले) का उम्मेदवारले १० हजार ७२० मत प्राप्त गरेका छन् । निर्वाचन खर्चतर्फ पोखरेलले तुलनात्मक रूपमा कम खर्चमा सफलता हासिल गर्नुभएको छ । पोखरेलले ओखलढुङ्गामा रहेका विविध समस्याको समाधानका लागि पहल गर्ने तथा सुशासनलाई केन्द्रमा राखेर विकासका काम अघि बढाउने योजना रहेको बताउनुभएको छ ।