• १२ साउन २०८१, शनिबार

ब्राजिलसँगको भिडन्त टार्ने मनसायमा पोर्चुगल

blog

दोहा, मङ्सिर १६ गते । सुरुका दुई खेलमा जितपछि एक खेल अगाडि नै नकआउट चरणमा प्रवेश र क्रिस्टियानो रोनाल्डोको नाम गोल स्कोररमा दर्ता भयो। यी कारणले विश्वकप फुटबलमा यस पटक पोर्चुगलका लागि समूह चरण निकै फलिफाप सिद्ध भयो। समूह एचअन्तर्गत शुक्रबार अन्तिम खेलमा दक्षिण कोरियाविरुद्ध खेल्दा पोर्चुगलसँग अर्को एउटा लक्ष्य रहनेछ। अन्तिम १६ मा ब्राजिलसँगको भिडन्तलाई टार्ने। पोर्चुगलका प्रशिक्षक फर्नान्डो सान्तोषले पनि पोर्चुगल र ब्राजिलबीच खेल भयो भने त्यो दुई महान् टिमबीचको खेल हुनेछ तर हाम्रो र ब्राजिलको चाहना हामी पछि नै भिडौँ भन्ने हो।

उरुग्वेलाई २–० ले हराएपछि प्रशिक्षक सान्तोषले दक्षिण कोरियासँगको खेलमा आफ्ना केही प्रमुख खेलाडीलाई आराम दिने बताउनुभएको थियो। यद्यपि रोनाल्डो सो सूचीमा सामेल हुने सम्भावना रहेको छ। नौ दिनमा तीन खेल ३७ वर्षीय रोनाल्डोका लागि धेरै हुन सक्छ। अझ उहाँले यस सत्रमा म्यान्चेस्टर युनाइटेडका लागि खासै मैदानमा धेरै समय व्यतीत गर्नुभएको छैन।

दक्षिण कोरियाले सुरुका दुई खेलमा जित हात पार्न सकेन। यद्यपि दक्षिण कोरियाको नकआउट चरणमा पुग्ने सम्भावना सकिएको छैन। पोर्चुगललाई हराएपछि घाना र उरुग्वेबीचका खेलमा अनुकूल नतिजा आएमा दक्षिण कोरियाको पनि अगाडि बढ्ने सम्भावना रहेको छ। दक्षिण कोरियाका प्रमुख खेलाडी सन हिउङ मिन यस विश्वकपमा गोलविहीन हुनुहुन्छ। पोर्चुगलविरुद्धको खेलमा दक्षिण कोरियाको प्रमुख आशा टोटनहामका स्ट्राइकर सनमा नै रहनेछ। दक्षिण कोरिया र पोर्चुगलबीच विश्वकपमा यसअघि एक पटक मात्र भिडन्त भएको छ। सन् २००२ मा घरेलु मैदानमा भएको सो खेलमा दक्षिण कोरियाले पोर्चुगललाई १–० ले हराएको थियो। 

घाना–उरुग्वे

कतार विश्वकपमा घानाका मोहम्मद कुडुजलाई युवा स्टारमध्ये एक मानिएको छ। घानाका कप्तान एन्ड्र एयुले कुडुजले उरुग्वेविरुद्धको खेलमा आफ्नो नाम अझ चम्काउने आशा लिनुभएको छ। पार्चुगलविरुद्ध ३–२ ले हारेको खेलमा कुडुजले शानदार प्रदर्शन गर्नुभएको थियो। त्यसपछि उहाँकै दुई गोलको सहयोगमा घानाले दोस्रो खेलमा दक्षिण कोरियालाई २–० ले हरायो। उरुग्वेलाई हराएमा घानाको अन्तिम १६ मा स्थान पक्का हुनेछ। अझ बराबरीले पनि घानालाई नकआउटमा पु-याउन सक्छ। घाना र उरुग्वेबीच विश्वकपमा यसअघि, एक खेल मात्र भएको छ। दुई वर्षअघि दक्षिण अफ्रिकामा भएको विश्वकपको क्वार्टरफाइनलमा उरुग्वेले घानालाई पेनाल्टी सुटआउटमा हराएको थियो। एपी