• २२ माघ २०७९, आइतबार

अविवाहित तुलसी दिवस भन्नुहुन्छ :

‘प्रेमको बाटो सर्तकताका साथ पार गर्नुपर्छ’

blog

काठमाडौं, मंसिर १९ गते । 

‘‘जिन्दगी आफूले सोचेजस्तो हुँदैन, चाहेजस्तो हुँदैन । जिन्दगीको कुनै अर्थ हुँदैन, यसलाई आफैँले अर्थपूर्ण बनाउनुपर्छ ।’’ जिन्दगीको बारेमा यही बुझाइ छ वरिष्ठ कवि एवम् लोकसंस्कृतिविद् तथा साहित्यकार तुलसी दिवसको । 

वरिष्ठ कवि एवम् लोकसंस्कृतिविद् तुलसी दिवससँग उहाँको प्रेम र जीवनका बारेमा गरिएको कुराकानी ।

विवाह किन गर्नुभएन ? वरिष्ठ कवि एवम् लोकसंस्कृतिविद् तुलसी दिवसलाई आजसम्म पनि सबैभन्दा बढी सोधिने प्रश्न यही हो । ८१ वर्षको उमेरसम्म आइपुग्दा पनि उहाँलाई यसको उत्तर के हो थाहा छैन । त्यसैले विवाह नगरेकोमा उहाँलाई न पछुतो छ न त गर्व नै । 

विवाह पो भएन, प्रेम त धेरै भए ...‍‍‍...

जवानीमा एक जनालाई रोज्न नसक्दा आफू अहिलेसम्म पनि एक्लो भएको दिवस बताउनुहुन्छ । लोकसंस्कृतिविद् तुलसी आफ्नो प्रेम र जीवनबारे यसो भन्नुहुन्छ, “म माया गर्ने व्यक्ति नभएर एक्लो भएको होइन । धेरै भएर चाहिँ आजसम्म एक्लो छु ।” 

विवाह नगरे पनि उहाँलाई माया गर्नेहरुले अहिले पनि धेरै छन् । आफू एक्लो भए पनि मायाको अभाव छैन उहाँलाई । दिवस पुराना दिन सम्झिँदै भन्नुहुन्छ, “मेरा लागि कति महिलाहरुले आज पनि बिहे नै नगरी जीवन बिताइरहेका छन् रे ।” 

उहाँका अनुसार एक जनासँग प्रेम भयो तर विवाह हुन सकेन भने जीवनभरि अरु कसैलाई प्रेम नगरी बस्नु राम्रो हैन । जीवन खाली बनाउनुमा आफ्नो सहमती नभएको उहाँको अनुभव छ । 

“मसँग बिहे गर्न चाहने धेरै विद्यार्थी थिए जो आजसम्म पनि अविवाहित छन् । यो प्रेम वा घनिष्ठताको विभिन्न आयाम हुन् । प्रेममा शारीरिक हुनुदेखि छुट्टिने क्रमसम्म विभिन्न असन्तुष्टि आउने गर्छ । सबै खुबी एक व्यक्तिमा पाइदैन,” उहाँ भन्नुहुन्छ, “बिहे गरेर मात्र जीवन अर्थपूर्ण हुन्छ भन्ने भ्रम ममा छैन ।”

एकजनालाई रोज्न नसक्दा म एक्लो भँए.....

धेरैजना उहाँको प्रेममा थिए । उहाँलाई प्रेम गर्ने कति महिलाहरुले आज पनि आफ्नो छोराको बिहेमा निम्तो दिन्छन् । उहाँ जानुहुन्छ तर कवि तुलसी भने एक जनालाई रोज्न नसक्दा अहिलेसम्म एक्लै छन् । 

“मेरो विवाह नगर्ने सोच नै थिएन । विवाह गर्छु भनेर मरिहत्ते गरेको पनि थिएन । आजको उमेरसम्म आइपुग्दा विवाहका सम्बन्धमा आफैं बढी गम्भीर नभएको हो कि जस्तो लाग्छ ।” उहाँ भन्नुहुन्छ, “धेरै महिला विद्यार्थी तथा मित्रहरुले विवाहको प्रस्ताव राखेको कारण मैलै कोही एकलाई रोज्नै सकिनँ ।” 

“प्रेम र विवाह गर्न चाहने असंख्य भए त्यही समस्या भयो । मैले कसैको मन दुखाउन चाहिनँ र सबैसँग बिहे गर्न पनि मिलेन”, उहाँले भन्नुभयो । 

जीवन चौबाटो हो, जहाँ कुरा मिल्दैन त्यही बाटो छुटिन्छ....

जीवनमा एउटैसँग मात्रै प्रेम हुने र एउटैसँग जिन्दगी बिताउनुपर्छ भन्ने उहाँको अनुभव छैन । अर्को अवस्था भनेको प्रेम भएर पनि विवाह हुन नसकेकाहरु छन् । जिन्दगी सबैसँगै बाँच्न नसकिने उहाँको अनुभव छ । 

दिवसका अनुसार प्रेममा बसेका मानिसहरु पूर्वाग्राही हुन्छन् । आफूले मन पराएको मान्छेले जे गर्दा पनि राम्रो भन्ने सोच हुन्छ । तर जीवनको अर्को पाटो प्रेममा छुट्टिनु पनि हो । फेरि छुटिँदैमा सम्बन्ध विच्छेड नै गर्नुपर्छ भन्ने छैन । छुट्टिएपछि शत्रुता जन्मिन्छ भन्ने कुरा गलत हो । किनभने जीवनमा राम्रो भयो भएन मात्रै सोचेर बस्ने हो भने घृणा पैदा हुने उहाँ बताउनुहुन्छ । 

प्रेम र उमेरको सम्बन्ध... 

प्रेमका विभिन्न रंग र स्वरुप हुन्छन् । प्रेम सबैभन्दा सुन्दर प्राप्ति हो तर यसलाई सन्तुलित गर्नसक्नुपर्छ, प्रेमको बाटो सर्तकताका साथ पार गर्नुपर्छ । नत्र प्रेमबाट दुःख र पीडा नै हुन्छ ।

जे प्राप्त हुँदैन त्यसैको पछि लाग्दा दुःख भोग्नुपर्ने हुन्छ । जसरी नदी बग्छ जिन्दगी पनि त्यसरी नै बगिरहन्छ, कहिले कहाँ कोसँग भेट हुन्छ, थाहा हुँदैन । जीन्दगीसँग उमेरप्रति उहाँको बुझाई यही छ । 

विवाहप्रति मेरो आफ्नै दृष्टिकोण छ तर विवाहले मलाई सताउने काम गर्दैन...

दिवस भन्नुहुन्छ, “जोसँग जहाँ भेट हुन्छ उसँग बिहे गरेर हिँड्नै पर्छ भन्ने छैन । उमेरअनुसार विवाह आवश्यकता बन्दै जान्छ तर विवाह नै नगरेर पनि मान्छे सम्बन्धमा हुनसक्छ । कतिपय मान्छेले सम्बन्धमा भएर पनि विवाह नभएको जस्तो महसुस गर्नसक्छ ।” 

“यसबाहेक बिहे गर्ने र नगर्नेमा सबैजनाको आ–आफ्नो बाध्यता हुनसक्छ । समाजमा पहिले पहिले धेरै विवाह बाध्यतामा नै हुने ग¥थ्यो । बुवाआमाले रोजेको मान्छेसँगै विवाह गर्नुपर्ने बाध्यता हुन्थ्यो । तर अहिले त्यस्तो हुँदैन । आफ्नो रोजाइ हुन्छ,” उहाँले भन्नुभयो । 

“मलाई पनि जिन्दगीको कुनै मोडमा बिहे गरेको भए राम्रै हुन्थ्यो, बिहे गर्नुप¥थ्यो जस्तो लाग्छ । तर यसले मलाई सताउने काम चै गदैन । एक समय हुन्छ जहाँ यो विचारले धेरै सताउने गर्छ ।” 

उहाँ सम्झिनुहुन्छ, “कहिलेकाहीँ मैले पनि बैलैमा बिहे गरेर सन्तानहरु भएको भए म भावनात्मक रुपले बढी सुरक्षित हुन्थे तर म उनीहरुमा भर भने पर्दिनँ ।” 

विवाहका कुराले उहाँको मनमा अनेकौं कुरा खेल्छ, यसमा उहाँ आफूले आफूलाई ढाट्न सक्नुहुन्न । 

“बिहेलाई राम्रो नराम्रो ढंगले सोचेको छैन र मैले पश्चात्ताप पनि गरिरहेको छैन । मनबाट गौरव पनि गर्दिनँ”, उहाँले भन्नुभयो ।  

“मैलै जीवनलाई जसरी आयो त्यसरी स्वीकारेको छु । त्यसरी स्वीकार्दा मैले अरुलाई दोष दिने ठाउँ छैन । मेरो जिन्दगीमा म जहाँ छु आफ्नै कारणले छु,” उहाँ भन्नुहुन्छ, “अरुलाई दोष दिएर म उम्किन चाहन्नँ । अरुभन्दा म प्रेम, सम्बन्ध, हार्दिकता सबैमा फरक छु ।” 

विवाहका प्रश्न गर्दा रिस पनि उठ्छ कहिलेकाहिँ....

विवाहका प्रश्न गर्दा उहाँलाई रिस पनि उठ्छ । उहाँ भन्नुहुन्छ, “कसैले किन पटक पटक यो कुरा जान्न खोजेको भन्ने बुझ्छु अनि म रिसाउँदिनँ र उसको कमजोरीप्रति सहानुभूति राखेर जवाफ  दिनेगर्छु ।” 

“रिस, प्रेम, माया, सद्भाव, सत्कार सबै छ तर म कसैलाई रिसमा सराप्दिनँ । रिसाउनु बेग्लै कुरा हो र सराप्नु मेरा लागि अनावश्यक हो”, उहाँले भन्नुभयो । 

कसैलाई भन्न नसकेका मनका कुरा साहित्यमार्फत उतार्छु...

उहाँ भन्नुहुन्छ, “कथा कवितामा म आफ्ना भाव उतार्ने गर्छु । अर्काको प्रेमको माध्यमबाट आफ्नो कुरा प्रस्तुत गर्ने गर्छु । कविता आफूले महसुस नगरिकन, नभोगिकन लेख्न आउँदैन । आफूले महसुस गरेका कुरा उतार्न सकियो भने फरकपन आउँछ ।” 

“मैले आफूले रोजेको आफ्नो हुन सकेन । यसको पनि छुट्टै कथा छ । मैले प्रेम प्रस्ताव राख्न सकिनँ । आफूले चाहेर पनि मनको कुरा समयमै नभन्दा जीन्दगीले नै नयाँ मोड लियो । यी घटनाको सम्झना छ ममा । म आजसम्म एक्लो छु । मनपरेको व्यक्तिले बिहे ग¥यो । उसको बिहेमा मैले निम्तो पाएँ । मनको कुरा भन्न नसक्दा यस्तो भयो,” उहाँ सम्झिनुहुन्छ ।  

जिन्दगी बितिसकेपछि एक सेकेण्डजस्तो लाग्छ...

जिन्दगी बितिसकेपछि दुई मिनेट, दुई सेकेण्डजस्तो लाग्ने रहेछ । नबित्दा मात्रै समय लामो हो । बितिसकेपछि एक सेकेण्डजस्तो हो ।

उहाँ भन्नुहुन्छ, “जिन्दगीलाई सुर्धानतर्फ हैन प्रगतितर्फ मोड्नुपर्छ । म धनसम्पत्ति भनेर मर्ने व्यक्ति हैन, मन ठूलो उपलब्धि हो । मेरो ज्ञान मेलै साथमा लैजाने हैन, हस्तान्तरण गरेर जाने हो ।” 

“मैले जीवनमा धेरै नमिठा पल भोगेको छु । दुर्घटनामा परिवारका पाँच व्यक्ति गुमाएको छु । जीन्दगीमा जे भयो त्यो भयो, जीन्दगी जे भएन, त्यो भएन । यही हो जिन्दगी सोचेजस्तो चाहेजस्तो सबै हुँदैन ।”

Author
सनम महर्जन

उहाँ कला, संस्कृति र मनोरञ्जन विषयमा रिपोर्टिङ गर्नुहुन्छ ।